भरतपुर । महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौँमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो ।
कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । गीतको दृश्य सम्पादन कक्ष कलिउड हब रहेको छ । गीतको भिडियो संगीतकार एवं गायक सन्तोषको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






