भरतपुर । मेरो किसान लिमिटेडले भरतपुर–२२, पटिहानीमा करिब ४० करोड रुपैयाँको लागतमा अत्याधुनिक कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण सुरू गरेको छ । सोमबार शिलान्यास गरिएको सो परियोजना आगामी पुस १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
कम्पनीका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर अविनाश सिलवालका अनुसार उद्योगमा तोरीको तेल, टमाटर केचप, बेसार, अदुवाको सुठो, अलैँची, कोदो, फापर, मह, कफीलगायत २५ भन्दा बढी कृषि उपजको प्रशोधन गरिने छ ।
कच्चा पदार्थ चितवनका किसानसहित देशका स्थानीय उत्पादकबाट सङ्कलन गरिने र प्रशोधित वस्तु देशव्यापी वितरणसँगै अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने योजना रहेको उनको भनाइ थियो ।
अत्याधुनिक कोल्ड स्टोरमार्फत तरकारी तथा फलफूल दीर्घकालसम्म संरक्षण गरी काठमाडौँ, पोखरालगायत ठूला सहर र विदेशमा आपूर्ति गर्ने सुविधा पनि रहनेछ ।
कोभिड–१९ महामारीको समयमा स्थापना भएको मेरो किसान लिमिटेडले छोटो अवधिमा मोबाइल एपमार्फत ४० हजारभन्दा बढी उपभोक्ता र तीन सयभन्दा बढी व्यावसायिक घरानासँग प्रत्यक्ष व्यापारिक सम्बन्ध स्थापित गरेको छ ।
साथै, देशभरका पाँच सयभन्दा बढी व्यावसायिक कृषकसँग दीर्घकालीन सम्झौता गरेर उत्पादन, सङ्कलन, प्रशोधन र वितरणको सम्पूर्ण चक्रमा सक्रिय रहँदै आएको छ ।
बीउदेखि बजारसम्मको प्रतिबद्धतासहित कम्पनीले यस परियोजनामार्फत किसानको आम्दानी वृद्धि, कृषि उत्पादनको मूल्य अभिवृद्धि, खाद्य सुरक्षा मजबुत बनाउन र नेपालको कृषि निर्यात क्षमतामा योगदान दिने लक्ष्य राखेको छ ।






