२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

भरतपुर महानगरको सार्वजनिक सुनुवाइ : नगरवासीले दिए प्रशंसासँगै ध्यानाकर्षण र सुझाव

चितवन । भरतपुरको विकासमा आम नगरवासीले प्रशंसासँगै ध्यानाकर्षण र सुझाव दिएका छन् । महानगरको आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइमा सहभागी अधिकांश महानगरवासीले विकासको मोडलमा भरतपुरले देखाएको फड्कोको प्रशंसासँगै ध्यानाकर्षण र सुझावमा जोड दिएका हुन् ।

सार्वजनिक सुनुवाइका क्रममा वडाबासीले महानगरबाट प्राप्त गर्ने सेवाको अझै जनमुखी बनाउन सुझाव दिएका छन् । उनीहरुले महानगरको विकास निर्माण र सेवाप्रवाहबाट सन्तुष्ट रहेको बताएका छन् । कार्यक्रमको सहजीकरण गरेको अग्रीम मिडिया नेटवर्क चितवनले सार्वजनिक गरेको प्रतिवेदनमा महानगरका वडा र महानगर कार्यालयमा आउने सेवाग्राहीसँग सर्वेक्षणमा सो कुरा बताइएको छ ।

२९ वटाका ५ सय जना बढीमा गरिएको सेवा सर्वेक्षणमा ६० प्रतिशत नगरवासी सन्तुष्ट, ३५ प्रतिशतले ठीकै र ५ प्रतिशत नगरवासीले असन्तुष्टि व्यक्त गरेको उल्लेख गरेका छन् ।

सो अवसरमा गौतमबुद्ध क्रिकेट रङ्गशाला, नारायणी तटबन्ध, सिटीहल, खानेपानी, हरियाली सडक, पुङ्गी तथा केरुङ्गा ड्रेन, महानगरीय प्रशासकीय भवन, शवदाह गृह, महानगरीय चक्रपथ, ओपन जु, फोहरमैला व्यवस्थापन लगायतका गौरवका आयोजनामा भरतपुर महानगरपालिकाले काम गरेको जानकारी दिएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकले सडक, बत्ती, विद्युत्, ढल निर्माण, कृषि उपजको बजारीकरण, शिक्षा, स्वास्थ्यलगायतका सुशासनका विषयमा महानगर प्रमुख रेनु दाहालप्रति प्रश्न राखेका थिए । उनीहरुले सबै वडामा वैज्ञानिक तबरबाट बजेट विनियोजन गर्न माग गर्दै असार मसान्तभन्दा अगाडि नै विकास निर्माणका काम गर्न सुझाव दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तर लगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिएकी छन् ।

उनले महानगर अब विकास र समृद्धिका बाटाहरुसँगै आर्थिक विकासका लागि जनमुखी काममा थप सक्रिय बनेको स्पष्ट पारिन् । यस चौमासिक प्रगति समीक्षामा नगरबासीको रचनात्मक सुझाव र विकासमा तीव्र चासो रहेको बताउँदै उनले यसलाई मनन गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगर योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउँदै उनले यसलाई कायम गर्न महानगरबासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनुपर्ने बताए ।

कार्यक्रममा चौमासिक प्रगति प्रतिवेदन पेस गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले आर्थिक वर्ष २०८१÷८२ को विनियोजित ५ अर्ब ४९ करोड २ लाख ६३ हजार रहेकोमा रु ४ अर्ब ३ करोड ५४ लाख खर्च भएको उल्लेख गरे । यो बजेटको ७३ दशमलव ५ प्रतिशत हो । जसमध्ये चालुतर्फ ८५ प्रतिशत र पुँजीगततर्फ ६२ प्रतिशत खर्च भएको छ ।

यसैगरी महानगरले आर्थिक वर्ष २०८१/०८२ मा एक अर्ब ३६ करोड ९१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।