रत्ननगर । रत्ननगर–१६ लाई वातावरणमैत्री वडा घोषणा गर्ने अभियानअन्तर्गत वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समिति गठन गरिएको छ ।
वडाध्यक्ष हेमराज थापाको अध्यक्षतामा गठित समितिका सदस्यहरुमा सरिता गुरूङ, रीता विक, चीचकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, चिरन्जीवी खनाल, विजय पुरी, रामहरि पनेरु, डिल्लीप्रसाद गौतम र सदस्य सचिवमा वडा सचिव मञ्जु पौडेल रहेका छन् । यस्तै, आमन्त्रित सदस्यहरुमा पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्मा, पिठुवा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष नेत्रप्रसाद घिमिरे र अस्थायी पिठुवा चौकीका इन्चार्ज ताकेश्वर राई रहेका छन् ।
कार्यक्रमको सहजीकरण रत्ननगर नगरपालिकाका रेन्जर राजेश शर्माले गरेका थिए । उनले वातावरणमैत्री वडा घोषणा गर्नुको उद्देश्य तथा अपेक्षित उपलब्धिको बारेमा जानकारी गराएका थिए । रेन्जर शर्माले घरपरिवारदेखि टोल, वडा तथा नगरमा वातावरणमैत्री शासनलाई स्थापित गरी स्वच्छ सुन्दर र वातावरणमैत्री समाजको सृजना गर्न सहयोग गर्ने उद्देश्यले अभियान सुरू गरिएको बताए ।
नगरपालिकाको योजना प्रक्रियामा वातावरण, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषयहरूलाई मूलप्रवाहीकरण गर्न सहयोग गर्नुका साथै सेवा प्रवाह र विकास निर्माण पद्धतिलाई वातावरणमैत्री बनाउन सहयोग पुग्ने उनले बताए ।
अभियानबाट वातावरणमैत्री दिगो विकासका लागि समुदायको माध्यमबाट घरपरिवार तहलाई जिम्मेवार बनाउन प्रोत्साहित गरी वातावरण संरक्षण, आधारभूत स्वास्थ्य तथा सरसफाइ, फोहोरमैला व्यवस्थापन, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तन अनुकुलन र विपद् व्यवस्थापनसम्बन्धी विषयहरुलाई स्थानीयकरण गर्न सहज हुनेछ ।
यस्तै, जलवायु अनुकुलन तथा न्यूनीकरण, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा फोहोर मैला व्यवस्थापनका सन्दर्भमा घरपरिवार तहसम्मको काम, कर्तव्य, र जिम्मेवारी तथा हासिल गर्नुपर्ने नतिजाको सम्बन्धमा स्पष्ट पार्नका लागि सो अभियान मह¤वपूर्ण हुने उनले बताए ।
वडाध्यक्ष हेमराज थापाले वडालाई वातावरणमैत्री बनाई भविष्यमा चितवनकै नमुना वडा बनाउने प्रतिबद्धता व्यक्त गरे ।






