रत्ननगर । रत्ननगर नगरपालिकाले ‘उज्यालो रत्ननगर अभियान’अन्तर्गत मुख्य राजमार्ग र बजार क्षेत्रलाई आकर्षक तथा सुरक्षित बनाउन जडान गरिएका आधुनिक सडक बत्तीहरूको सोमबार सफल परीक्षण गरिएको छ।
नगरप्रमुख प्रलाद सापकोटा, उपमेयर यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र वडाध्यक्षहरूको उपस्थितिमा निपनी चोकदेखि टाँडी चोकसम्मको डिभाइडरमा जडान गरिएका ७२ वटा पोलमा १४४ वटा सडक बत्तीको परीक्षण गरिएको हो । यी बत्तीहरूले चोक र आसपासका क्षेत्रलाई उज्यालो र झलमल्ल बनाएको छ ।
नगरप्रमुख सापकोटाले यो अभियानमार्फत नगरवासीलाई सुरक्षित र उज्यालो वातावरण प्रदान गर्ने प्रतिबद्धता पूरा गर्न लागिएको बताए । “हामीले रत्ननगरलाई सुरक्षित र सुन्दर बनाउने वाचा गरेका थियौँ । डिभाइडरमा जडान गरिएका बत्तीहरूको सफल परीक्षण भएको छ र मुख्य चोकहरूमा हाइ(मास्ट लाइट जडानको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ । केही दिनभित्रै यी सबै काम सम्पन्न हुनेछन्”, उनले भने । यो परियोजना रत्ननगरको विकास र समृद्धिका लागि कोसेढुङ्गा साबित हुने उनको विश्वास छ ।
उपप्रमुख यादवप्रसाद पाठकका अनुसार, निपनी चोक, बकुलहर चोक, सौराहा चोक र टाँडी चोकमा १६ मिटर उचाइका चारवटा हाइ(मास्ट लाइट जडान गरिनेछ। त्यस्तै, शान्ति चोक, जयमङ्गला चोक, दोबाटो चोक र गैँडाचोकमा १० मिटर उचाइका मिनी(मास्ट लाइट जडान हुनेछन् । “यी बत्तीहरूले चोक र आसपासका क्षेत्रलाई उज्यालो बनाउनुका साथै रातको समयमा आवतजावतलाई सुरक्षित र सहज बनाउनेछ”, पाठकले भने ।
नगरपालिकाका इन्जिनियर पंकज गिरीका अनुसार, यो परियोजनाको कुल लागत दुई करोड ८६ लाख १८ हजार १७५ रुपैयाँ रहेको छ। निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न गरी अबको केही दिनमा सबै बत्ती सञ्चालनमा ल्याउने लक्ष्य रहेको उनको भनाइ छ । “हामी रत्ननगरका सडकलाई उज्यालो बनाउने कार्य समयमै सम्पन्न गर्न प्रतिबद्ध छौँ”, उनले थपे ।
‘उज्यालो रत्ननगर अभियान’ले नगरको सौन्दर्य वृद्धि गर्नुका साथै रातको समयमा सडक दुर्घटना र आपराधिक गतिविधिहरू न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।








