रत्ननगर । सम्पूर्ण किताब नारायणगढको आयोजनामा ‘पठन संस्कृति अभियान’ कार्यक्रमअन्तर्गत रत्ननगरको स्काइराइडर आमाविमा पुस्तकहरुको समीक्षा गरिएको छ ।
कार्यक्रममा कक्षा ८, ९ र १० का २५ जना विद्यार्थीले २५ वटा विभिन्न पुस्तकको समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । कार्यक्रममा निर्जला मैनालीले ‘आमाको मुटु’ पुस्तकको समीक्षा प्रस्तुत गरिन् । यस्तै, आरोही बगालेले ‘ड्रिमी आइज’, आज्ञा पण्डितले ‘आनन्दको भण्डार’, दृष्टि आलेले ‘उल्लू राजा’, एलेस आचार्यले ‘मार्क जुकरबर्ग’, क्रिस्टिना सापकोटाले ‘डेमोन आइ’, निधि लामिछानेले ‘बास्ना आउने बाँसुरी’, मञ्जिल देवकोटाले ‘कुमाता’ र निर्भीक श्रेष्ठले ‘नमोनमः’ पुस्तकको समीक्षा प्रस्तुत गरेका थिए ।
यसैगरी, विपना धमलाले ‘निर्णय’, युक्ता ढकालले ‘सनेस’, सन्दर्भ बरालले ‘दासता मुक्ति’, कृति गिरीले ‘खलंगामा हमला’, प्रमिशा पौडेलले ‘अमेरिकाको इतिहास’, सुयसा बोगटीले ‘मारी खोलाको ढुङ्गा’, रेश्मा श्रेष्ठले ‘नोर’, आकाश पौडेलले ‘शरणार्थी’, प्रियंशा तिवारीले ‘दशगजामा उभिएर’, प्रशंसा पुरीले ‘बेपत्ता सिपाही’ र नम्रता लामिछानेले ‘छुई’ पुस्तकको टिप्पणी प्रस्तुत गरेका थिए ।
यस्तै, अनुगमन शर्मा पोखरेलले ‘बेस क्याम्प’, क्षितिज रानाभाटले ‘ग्रहण’, प्रज्ञा पनेरुले ‘लकडाउन’, सूर्यांशी खनालले ‘स्पोउट अन रक’ र स्नेहा आचार्यले ‘द अदर क्विन’को समीक्षा सुनाएका थिए । आज्ञा पण्डितले स्लाइडमार्फत ‘आनन्दको भण्डार’ पुस्तकको आकर्षक प्रस्तुति दिएकी थिइन् भने क्रिस्टिना सापकोटाले ठूलो चार्टमा उपशीर्षकसहित ‘डेमोन आइ’को समीक्षा प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा कवि तथा निबन्धकार भूपिन प्रमुखअतिथिका रूपमा सहभागी भएका थिए । उनले विद्यार्थीको समीक्षात्मक प्रस्तुति विशेष र प्रशंसनीय रहेको बताउँदै विद्यार्थीले विभिन्न पुस्तक पढेर सिकेको ज्ञान उत्कृष्टरूपमा प्रस्तुत गरेको देखेर आफू दङ्ग परेको प्रतिक्रिया दिए । निरन्तर पढ्ने यात्रा कायम राख्न उनले विद्यार्थीहरुलाई हौसला प्रदान गरे ।
कार्यक्रममा अतिथिका रूपमा सहभागी विनोदबाबु रिजालले विद्यार्थीको प्रस्तुति उत्कृष्ट रहेको बताउँदै अतिरिक्त पुस्तक पढ्ने बानीले चेतनाको विकाससँगै जीवन सहज हुने विचार व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक मदन पुरीले विद्यालयले पहिलेदेखि नै पठन संस्कारलाई प्राथमिकता दिएको उल्लेख गर्दै विद्यार्थीलाई निरन्तर पढ्न र पछिल्लो कक्षाका विद्यार्थीलाई पठन संस्कृतिको अभियानमा सहभागी गराउन आग्रह गरे । उनले रत्ननगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा नगरपालिकासँगको समन्वयमा पुस्तक उपलब्ध गराएर पठन संस्कृति कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
सम्पूर्ण किताबका सञ्चालक तथा पठन संस्कृतिका अभियन्ता लेखराम सापकोटाले विद्यार्थीमा पढ्ने बानीको विकास गरी उनीहरूलाई हरेक क्षेत्रमा सक्षम बनाउनु अभियानको उद्देश्य रहेको बताए । कार्यक्रमको सहजीकरण शिक्षक नवराज तिमिल्सिनाले गरेका थिए भने संयोजन रमेश पुरीले गरेका थिए ।






