रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबार हात्तीलाई वनभोज खुवाइएको छ । १४औँ विश्व हात्ती दिवसको अवसर पारेर यहाँका ६० वटा हात्तीलाई मिष्ठान्न भोजनको रुपमा वनभोज खुवाइएको हो ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले आयोजना गरेको सो कार्यक्रममा हात्तीलाई लामबद्धरुपमा राखेर उखु, गाँजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । हात्तीको पर्वको रुपमा लिएर सौराहाका व्यवसायीहरुले हात्ती दिवस मनाएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले हात्तीलाई केक खुवाएर हात्ती वनभोजको उद्घाटन गरेका थिए ।
एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको संस्थाका अध्यक्ष खतिवडाले बताए । ‘जसरी हामी वनभोज खान जाँदा रमाउँछौँ’, त्यसरी नै हात्तीलाई मनपर्ने खानेकुरा खुवाउँदा हात्ती पनि खुसी हुन्छन्’, उनले भने, ‘राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो ।’
उनले हात्तीलाई काम मात्र लगाउने होइन पालनपोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताए । धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा रौनकता बढेको र पर्यटकले रमाउँदै दृश्यावलोकन गरेको उनले बताए । मानिस र जनावरबीचको सम्बन्ध राम्रो बनाउन वनभोज महत्त्वपूर्ण रहेको अध्यक्ष खतिवडाले बताए ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले जंगली हात्ती र निजी हात्तीको अन्तरसम्बधले हात्ती संरक्षणमा भूमिका खेलिरहेको भन्दै उनले पर्यटनमा प्रयोग भएका निजी हात्ती संरक्षणमा निकुञ्ज जिम्मेवार रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा. विजयकुमार श्रेष्ठ, रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, रत्ननगर–७ का वडाध्यक्ष सजना महतोलगायतले मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष खतिवडाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक शम्भुप्रसाद मालीले स्वागत मन्तव्य राखेका थिए । नेपालमा करिब ४०० को हाराहारीमा हात्ती रहेको अनुमान छ ।
चितवनमा सरकारी ६० वटा र निजी स्तरमा ४५ वटा हात्तीहरु छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, बाघमारा, चित्रसेन, कुमरोज सामुदायिक वन, क्षेत्रीय होटल संघ चितवन सौराहा, रेवान सौराहा, ग्रीन सोसाइटी नेपाल र रत्ननगर वडा नं–४, ५, ६, ७ र ८ वडा कार्यालयको सहयोगमा हात्ती दिवस मनाइएको हो ।
कार्यक्रममा बाघमारा, कुमरोज र चित्रसेन मध्यवर्ती सामुदायिक वनका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको थियो ।












