२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

रत्ननगरमा अनेमसंघको तीज : पार्टी निर्माणमा जुट्न आह्वान

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा अखिल नेपाल महिला संघ (अनेमसंघ) रत्ननगर नगर कमिटीको आयोजनामा तीज तथा जितिया पर्वको अवसरमा दर खाने र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

रत्ननगर-१ स्थित हरिहर ब्याङ्केटमा आयोजित कार्यक्रम नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले महिला दिदीबहिनीहरूको सक्रियताले मात्र एमालेलाई पुरानो सशक्त अवस्थामा फर्काउन सकिने बताउँदै पार्टी निर्माणमा जुट्न आग्रह गरे । एमाले कमजोर भए देश कमजोर हुने भन्दै उनीहरूले ‘सुखी नेपाली, समृद्ध नेपाल’को परिकल्पना साकार पार्न आगामी निर्वाचनमा एमालेको जित अपरिहार्य रहेकोमा जोड दिए ।

कार्यक्रमका प्रमुखअतिथि थपलियाले रत्ननगरमा महिला दिदीबहिनीहरूको उत्साहजनक सहभागिताले एमालेको प्रभाव थप बलियो बन्दै गएको अनुभव भएको बताए । उनले नयाँ भनिएका राजनीतिक दलहरूले जनतालाई झुटा आश्वासन दिइरहेको आरोप लगाउँदै आगामी २०८४ को निर्वाचनमा एमालेले सबै तहमा जित हासिल गर्ने दाबी गरे ।

“तीजमा महिलाहरूले निराहार व्रत बसेर कठिन परिस्थितिको सामना गरेजस्तै, हरेक तहमा मेहनत र लगनशीलताका साथ पार्टी निर्माणमा जुटेमा एमालेलाई कसैले घेराबन्दी गर्न सक्दैन”, उनले भने ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य प्रभा बरालले देशका हरेक परिवर्तनमा महिलाहरूको प्रमुख योगदान रहेको उल्लेख गर्दै महिलाहरूको सहभागिता बिना कुनै पनि परिवर्तन सम्भव नभएको बताइन् । उनले पूर्वराष्ट्रपति विद्या भण्डारीले देशहितमा जारी अध्यादेशहरूमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाको स्मरण गराउँदै महिलाहरूलाई थप सक्रिय हुन प्रेरित गरिन् ।

यस्तै, एमाले चितवन जिल्ला अध्यक्ष कमल पाठकले चौतर्फी घेराबन्दीका बीच पनि एमाले आफ्नै गतिमा अगाडि बढिरहेको बताउँदै कुनै पनि शक्तिले एमालेलाई कमजोर बनाउन नसक्ने दाबी गरे ।

पार्टी जिल्ला उपसचिव ज्वाला पुरी वनले निर्वाचनमा महिलाहरू निर्णायक शक्ति रहेको भन्दै एमालेलाई संरक्षण र सशक्तीकरण गर्न आग्रह गरिन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।