चितवन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनको आयोजनामा पहिलो जेएलसिटी जापानी भाषा स्पीच कन्टेस्ट–२०८२ आइतबार भरतपुरस्थित होटल नारायणी ल्यान्डमार्कमा सम्पन्न भएको छ ।
प्रतियोगितामा विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूले जापानी भाषामा आफ्नो वक्तृत्वकला प्रस्तुत गरेका थिए । प्रतियोगितामा बान्जाई एजुकेसनल कन्सल्टेन्सीका विद्यार्थी समीर श्रेष्ठ प्रथम, हेल्पफुल एजुकेसनल इन्स्टिच्युटका विद्यार्थी दीपसन पाण्डे द्वितीय र इमेज इन्स्टिच्युटका विद्यार्थी प्रदीप कँडेल तृतीय भएका छन् । यस्तै, सान्त्वना पुरस्कार सेन्ट्रल कलेज अफ भोकेसनलका विद्यार्थी संकृति क्षेत्रीले प्राप्त गरेकी छन् ।
कार्यक्रमको सभापतित्व नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनका अध्यक्ष दीपकचन्द्र भट्टराईले गरेका थिए । प्रमुखअतिथिका रूपमा नेपाल शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई उपस्थित भएका थिए भने विशिष्टअतिथिमा नेपाल शैक्षिक परामर्श संघका केन्द्रीय महासचिव दीपकराज भुसाल तथा केन्द्रीय प्रथम सचिव भवनाथ हुमागाईं सहभागी भएका थिए ।
कार्यक्रमको सञ्चालन विशाल थापा र ऋषि कँडेलले संयुक्तरूपमा गरेका थिए भने कार्यक्रमको प्रतियोगीहरुको व्यवस्थापन उज्ज्वल आचार्यले गरेका थिए । कार्यक्रमको संयोजन प्रज्ज्वल पौडेलले गरेका थिए ।
नेपाल शैक्षिक परामर्श संघ चितवनका अनुसार यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूलाई जापानी भाषा सिक्न थप प्रेरणा दिने, सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहित गर्ने र युवा प्रतिभा उजागर गर्ने उद्देश्य लिएको छ ।









