चितवन । ब्लक ब्लस्टर चलचित्र ‘एन्जिला’ का दुई बालकलाकार इनोभ गुरुङ र नमीक्षा मगरको ‘रोधीघर’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चलचित्र एन्जिलामा यी बालकलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ । चलचित्र क्षेत्रमा निकै नै सम्भावना बोकेका यी दुई बाल कलाकारले आफ्नो गुरुङ र मगर समुदायको भेषभूषामा सजिएर कौडा नृत्य प्रस्तुत गरेका छन् ।
बाल कलाकार इनोभ गुरुङले कार्टुन क्रुजबाट नृत्य प्रशिक्षण लिएका हुन् भने एक्टिङमा गिरिराज घिमिरेलाई आफ्नो गुरुको रुपमा लिन्छन् उनी । पढाइमा पनि उनी जेहेनदार विद्यार्थीको रूपमा चिनिन्छन् । उनी भन्छन् – ‘पढाई सँगसँगै नाटक गर्न र हेर्न, भ्रमण गर्न, किताब पढ्न र नृत्य गर्न मनपर्छ । मलाई भविष्यमा एउटा कुशल कलाकार बन्न मन छ ।’
इनोभ गुरुङले हालसम्म थुप्रै टिभी सिरियल, लघु चलचित्र, स्टेज कार्यक्रम र चलचित्रहरूमा आफ्नो कला प्रदर्शन गरिसकेका छन् । पदम साधना कुलुङ र विजय मगरको शब्द रहेको यस गीतमा साहिल स्वयंले सङ्गीत दिएका छन् ।
साहिल लिम्बू र रोजिना बस्नेतको स्वरमा सजिएको यस गीतको भिडियो विजय मगरले निर्देशन गरेका छन् । म्युजिक भिडियो सनम तामाङ र उनको टिमले खिचेको हो भने सनमले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा सुमिन गुरुङ, सिबु पाण्डे र चाहना मगरले पनि अभिनय गरेका छन् ।
भिडियोमा निर्देशक विजय मगरले बाल्यकालको प्रेम कथालाई जीवन्त बनाएका छन् । जसमा सुमिन गुरुङ र चाहना मगरलाई रोमान्टिक प्रेमी जोडीको रूपमा प्रस्तुत गरिएको छ िभिडियोमा सन्जिला सुमित्राको कोरियोग्राफी रहेको छ ।








