रत्ननगर । लेखक कमल अर्यालको नयाँ कृति ‘सिलायात्रा’ सार्वजनिक भएको छ । चितवनका ऐतिहासिक तथा धार्मिक क्षेत्रबारे अनुसन्धान गरेर तयार पारिएका ११ वटा लेख समावेश गरिएको सो कृतिमा तथ्य, इतिहास र भावनाको सिला खोज गरिएको लेखक अर्यालले बताए ।
लेखक अर्यालले चितवनको पूर्वी क्षेत्रका ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेका स्थलहरूको अध्ययन सामग्री ‘सिलायात्रा’मा समेटिएको बताए ।
रत्ननगर वाङ्मय प्रतिष्ठान एवम् वाल्मीकि साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरे, प्रमुखअतिथि वरिष्ठ साहित्यकार केदारनाथ खनाल, चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, समीक्षक कपिल अज्ञात र उदय अधिकारीले पुस्तकको एकैसाथ विमोचन गरेका हुन् ।
समीक्षक कपिल अज्ञातले ‘सिलायात्रा’लाई खोजमूलक कृति भन्दै अर्यालको गद्य लेखन सशक्त देखिएको टिप्पणी गरे । उनले भने, “अर्यालले अनुसन्धानमार्फत चितवनका ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक सामग्री संकलन गर्नुभएको छ । यसले उहाँको साहित्यिक यात्रालाई सहज बनाएको छ ।”
कार्यक्रममा साहित्यकार तिलकराज शर्माले स्वागत मन्तव्य राखेका थिए भने उदय अधिकारी, डा. चेतराज रेग्मी लगायतले समीक्षात्मक टिप्पणी गरेका थिए । सो अवसरमा जगन्नाथ पण्डित, रामेश्वर रिजाल, टिएन अर्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा कवि तथा गजलकार राजेन्द्र घायल, यमुना अधिकारी न्यौपाने, समिता पौडेल न्यौपाने, प्रेम कँडेल, अशोक भुसाललगायतले रचना वाचन गरेका थिए ।






