कालिका । सपना भिलेज सोसल इम्प्याक्ट र कालिका नगरपालिकाको लागत साझोदारीमा कालिका–१ का २०० घरधुरीमा बायोमास चुलो वितरण गरिएको छ ।
कालिका–१ का वडाध्यक्ष सन्तवीर स्याङ्दानको अध्यक्षतामा भएको कार्यक्रममा सपना भिलेज सोसल इम्प्याक्टका बोर्ड अफ डाइरेक्टर वर्षा पुरीको प्रमुख आतिथ्यता तथा इम्प्याक्टका प्रोग्राम डाइरेक्टर सुजन बस्नेतको विशिष्ट आतिथ्यता रहेको थियो ।
वडा सदस्य सरस्वती खत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सिर्जनशील टोल विकास संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।
सपना भिलेज, स्थानीय उपभोक्ता तथा नगरपालिकाको साझेदारीमा वडा नं–१ मा २०० घरधुरीलाई चुलो वितरण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । उनका अनुसार यसअघि सो वडामा ७९ घरधुरीमा बायोमास चुलो वितरण गरिएको थियो ।
धुवाँ कम गर्ने चुलो स्थानीयवासीले राम्रोसँग प्रयोग गर्दै आएको र स्वास्थ्यमा समेत सुधार आउनुका साथै दाउराको बचत हुने उनले बताए । उनले धुवाँ कम गर्ने चुलोले करिब ८० प्रतिशतसम्म धुवाँ घटाउने र थोरै दाउराबाट पनि खाना पकाउन सकिने भएकाले यसको माग बढ्दो रहेको बताए ।
वडाका कर्मचारी रेखा अम्गाईंले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्यहरु जीवन लामा, ओमकार खड्का, वडा सचिव रामबहादुर लुवार, समाजसेवी भरत पोखरेल, तिलक थापा मगरलगायतको सहभागिता रहेको थियो ।








