रत्ननगर । रत्ननगर-१२ मा रहेको पञ्चकन्या हाइट चिसापानी टोल विकास संस्थाले २४ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै धार्मिक जिप सफारी आयोजना गरेर उदाहरणीय कार्य गरेको छ । संस्थाले टोलका ज्येष्ठ नागरिकलाई मायाको चिनो, सहज हिँडडुलका लागि लौरोलगायत सामग्री प्रदान गरी सम्मान गरेको हो ।
कार्यक्रममा ज्येष्ठ नागरिकलाई रत्ननगरका प्रमुख धार्मिकस्थलहरूको भ्रमण गराउँदै जिप सफारी आयोजना गरिएको संयोजक सुवास घिमिरेले बताए । सोही अवसरमा संस्थाले वडा नं १२ का दुई उत्कृष्ट विद्यार्थी विवेक शर्मा (कक्षा १२) र अञ्जली घिमिरे (स्नातक तह)लाई पनि सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुखअतिथि वडा नं-१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले टोलले सामाजिक सन्देशमूलक कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे । उनले भने, “जबसम्म हामीले अग्रज आमाबुबालाई सम्मान गर्न सक्दैनौँ, तबसम्म हामीले चाहेजस्तो समाज निर्माण गर्न सकिँदैन।” वडा कार्यालय ज्येष्ठ नागरिकको सहयोगका लागि सधैँ तयार रहेको उनले प्रतिबद्धता जनाए ।
टोल विकास संस्थाका अध्यक्ष विकासनाथ घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा भागवत वाचिका विदूषी विमला वली, मेलमिलाप संयोजक भरत पाण्डे, विभिन्न टोलका अध्यक्षहरूलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन प्रशान्त गुरूङले गरेका थिए ।






