२०८३ बैशाख २९ मंगलवार
२०८३ बैशाख २९ मंगलवार

चेपाङको जमिनमा विचौलिया हावी

भरतपुर । चितवनको पहाडी क्षेत्रमा जमिनको मूल्य बढ्दै गएपछि चेपाङ समुदायको बाहुल्यता भएका सो क्षेत्रमा विचौलियाहरुले प्रलोभनमा पारी जमिन खरिद गर्न थालेका छन् । खानी, प्राकृतिक सुन्दरतालगायत कारणले जमिनको महत्त्व बढ्दै गएका कारण विचौलियाहरुले जमिन खरिदबिक्री गर्न थालेका हुन् ।

चेपाङ समुदायसँग आफ्नो नाममा थोरै जमिनमात्रै हुने नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्षसमेत रहेका संविधानसभा सदस्य गोविन्दराम चेपाङले बताए । उनले २० प्रतिशत चेपाङसँग मात्रै आफ्नो नाममा जमिन भएको जनाउँदै बाँकी ८० प्रतिशत ऐलानी र अरुको जमिनमा खेती गरी जीविकोपार्जन गर्ने गरिएको उल्लेख गरे ।

पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रमा घडेरी किन्ने लहर चलेको छ । खानी, प्राकृतिक सुन्दरता, अनुकूल मौसमलगायत कारणले ग्रामीण क्षेत्रका जमिनको मूल्य बढ्दै गएको सङ्घका केन्द्रीय अध्यक्ष चेपाङले बताए । तराईमा बढ्दो गर्मी र नजिकै पहाडमा शीतलताले पाइने भएकाले पनि पहाडी क्षेत्रमा जमिनको मूल्य बढेको उनको भनाइ छ ।

उनका अनुसार पछिल्लो समय दुई जनाको जमिन प्रलोभनमा पारेर ठगी गरिएको भन्दै सङ्घमा निवेदन परेको छ । यसका अतिरिक्त ‘तिम्रो जमिनमा आफैँ बस्न र खेती गर्न पाउँछौँ’ भन्दै प्रलोभनमा पारेर जग्गा पास गर्ने प्रचलन बढ्दो रहेको उनले बताए ।

“चेपाङ समुदायको बाहुल्यता रहेको चितवन, मकवानपुर र धादिङमा मात्रै ४४ ठाउँमा खानी दर्ता भएको तथ्याङ्क छ । कालिका नगरपालिका–९ मा मात्रै नौ वटा चुनढुङ्गा खानी दर्ता भएका छन्”, सङ्घका अध्यक्ष चेपाङले भने ।

सङ्घका महासचिव शन्तबहादुर चेपाङले विचौलियाले यहाँ जमिनको प्रचलित मूल्यभन्दा धेरै सस्तोमा किनबेच गर्ने गरेको पाइएको बताए । उनले भने, “एक वर्षमा फिर्ता हुन्छ भन्दै पास गर्नेहरु पनि भेटिएका छन् । तर ती जमिन तीन–चार तहमा बिक्री भएर गइसकेको फेला परेका छौँ ।”

सङ्घका चेपाङका अनुसार चितवनमा ३५ हजार ६३७ जनसङ्ख्या यो समुदायको छ भने देशभर ८४ हजार ३६४ छ । चितवनको कालिका नगरपालिका–८, ९, १० र ११, राप्ती नगरपालिका–१०, ११, १२ र १३, इच्छाकामना गाउँपालिकाका–१, २ र ६ वडामा चेपाङ जातिको बाहुल्यता छ ।

गोरखाको गण्डकी र शहीद लखन गाउँपालिका, मकवानपुरको राक्सिराङ, मनहरी र कैलाश गाउँपालिकामा चेपाङको बाहुल्यता छ । यस्तै धादिङको बेनिघाट रोराङ, थाक्रे र गजुरीमा चेपाङ बसोवास रहेको उनले जानकारी दिए ।

सङ्घ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले खानी क्षेत्रमा चेपाङको जमिन भएको भन्दै विचौलिया र ठेकेदार बसेर जमिनको मूल्य तोक्ने, चेपाङ समुदायसँग सस्तो मूल्यमा किनबेच गर्ने गरेका बताए । उनले भने, “यो यो ठाउँमा खानी छ भनेर पत्ता लगाउँछन्, बाहिरै बसेर जग्गाको कारोबार गर्दछन् ।”

यो समस्या बढ्दै गएमा चेपाङ भूमिहीन बन्नेक्रम अझै थपिने उनको भनाइ छ । राज्यले भूमिहीन हुनेगरी जग्गा बेच्दै गर्दा यस कार्यलाई विपन्न समुदायलाई ठगिनबाट बचाउनुपर्ने उनको माग छ । रासस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।