चितवन । चितवनको रत्ननगर-६, बछौली घर भई हाल अस्ट्रेलिया बस्दै आएका आरजु गिरीको गजल भिडियो नेपाली गजलबहार युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
गजल भिडियोमा गायिका तथा सङ्गीतकार बबिना भट्टराईले स्वर र सङ्गीत दिएकी छन् । गजलमा लालकाजी श्रेष्ठको एरेन्ज रहेको छ । स्टुडियो साउण्ड मिलमा रेकर्ड भएको गजल ‘को हौ तिमी’ वरिष्ठ ध्वनि इन्जिनियर महेश्वरमान राजभण्डारीले रेकर्ड तथा मिक्सिङ मास्टरिङ गरेका छन् ।
एजे अजुले निर्देशन गरेका गजल ‘को हौ तिमी’को भिडियो सम्पादन अनिल विष्ट प्युठानीले गरेका हुन् । भिडियोमा बबिना आफैँ फिचर्ड भएकी छिन् । ‘को हौ तिमी’ गजलको भिडियोमा प्रिया नगरकोटीले शृङ्गारसहित भुवन गन्धर्व तबला, सञ्जीव बराइली गितारमा रहेर बबिनाको गायनलाई गजलमय बनाएका छन् ।
गायिका तथा सङ्गीतकार बबिना भट्टराईले गजल ‘को हौ तिमी’ सार्वजनिक भएकोमा खुसी साट्दै भन्छिन्, ‘आरजु गिरीका गहिरो दार्शनिक भाव बोकेको यो गजललाई यहाँहरु सबैले मन पराइदिने अपेक्षा राखेकी छु, गजल सुनेर तथा हेरेर गजलको बारेमा आफ्नो अमूल्य सल्लाह, सुझाव दिन पनि मेरा दर्शक तथा स्रोताहरुलाई अनुरोध गर्दछु ।’
गजलकार आरजु गिरीले गायिका तथा सङ्गीतकार बबिना भट्टराईप्रति कृतज्ञ हुँदै प्रतिक्रिया जनाएका छन् । उनले भनेका छन्, ‘म कसरी खुसी व्यक्त गरौँ अलमलमा परेको छु । यो मीठो साथको लागि हाम्रो युगको सशक्त गायिका एवम् सङ्गीतकार आदरणीय बबिनाजी एवं सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’








