रत्ननगर । रत्ननगर–१० मा रहेको जुनियर रेडक्रस सर्कल एकता शिशु निकेतनले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा छ महिलासहित ४४ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमका प्रमुखअतिथि नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरिप्रसाद पौडेलले चितवन स्वास्थ्य नगरीको रूपमा स्थापित भएको सन्दर्भमा एकता शिशु निकेतनले हरेक वर्ष आयोजना गर्ने रक्तदान कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले भने, “यो विद्यालयले विद्यार्थीहरूमा मानवताको भावना जगाउनुका साथै रेडक्रसका हरेक गतिविधिमा देखाएको सक्रियता र सहयोगप्रति हामी आभारी छौँ ।”
कार्यक्रममा विद्यालयका प्राचार्य तथा जुनियर रेडक्रस सर्कल एकता शिशु निकेतनका संरक्षक बालहरि देवकोटाले रेडक्रसका हरेक कार्यमा सहभागी हुन पाउनु गौरवको विषय भएको बताए । उनले आगामी दिनमा पनि रक्तदान र मानवसेवाका कार्यमा निरन्तर जोडिने प्रतिबद्धता व्यक्त गरे ।
जुनियर रेडक्रस सर्कल एकता शिशु निकेतनकी अध्यक्ष अर्जिना आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विजयराज खनाल, रेडक्रस उपशाखा रत्ननगरकी अध्यक्ष अनु गौतम, आशाबहादुर गुरूङ, कृष्ण आचार्यलगायतले मन्तव्य राखेका थिए ।








