२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

बेचबिखनको स्वरुप बदलिँदै, सामाजिक सञ्जाल प्रयोग गर्दा चनाखो हुनुपर्नेमा जोड

रत्ननगर । रत्ननगर नगरपालिका, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा मानव बेचबिखनविरूद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा कानुनी सचेतनासम्बन्धी अन्तर्क्रिया गरिएको छ ।

कार्यक्रमका प्रमुखअतिथि कार्यवाहक नगरप्रमुख बालकृष्ण चापागाईंले सूचना प्रविधिको विकाससँगै मानव बेचबिखनको स्वरुप बदलिँदै गएको अवस्थामा समाजका हरेक तप्कामा मानिस सचेत हुनुपर्नेमा जोड दिए ।

मानव बेचबिखन तथा ओसारपसार एक जघन्य अपराध भएको बताउँदै यो सामाजिकरुपमा निन्दनीय र कानुनीरुपमा दण्डनीय भएकोले समाजको कलङ्कका रुपमा रहेको यस जघन्य अपराधको रोकथाम र नियन्त्रणका लागि तीनै तहका सरकार र राज्यका निकायहरुले सक्रियतापूर्वक काम गर्न जरूरी रहेको बताए ।

मानव बेचबिखन तथा ओसारपसारजस्तो जघन्य अपराधलाई जरैदेखि उन्मूलन गर्न, पीडितलाई उचित न्याय दिलाउन र पीडकलाई कानुनी दायरामा ल्याउन नसकिए यस दुष्चक्रमा परेर कैयौँ मानव बेचबिखनको सिकारमा पर्ने जोखिम रहेको उनले बताए । आफ्नो वडामा विद्यार्थीमार्फत जनसमुदायमा सचेतना फैलाउन विद्यालयहरुमा मानव बेचबिखन, लागू पदार्थ दुर्व्यसन न्यूनीकरणसम्बन्धी कार्यक्रम गर्दै आएको उनको भनाइ थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी रञ्जन अवाले आफ्नो कार्यालयमा दैनिक दुई–तीनवटा सामाजिक सञ्जालमार्फत हुने साइबर अपराध, यौन हिंसा, हनी ट्रयाप र ह्याकरमार्फत भइरहेका ठगीसम्बन्धी उजुरी पर्ने गरेको बताउँदै सामाजिक सञ्जालको प्रयोग गर्दा निकै चनाखो हुनुपर्नेमा जोड दिए ।

अहिले विदेशबाट सञ्चालित सामाजिक सञ्जालमार्फत हुने अपराध र ठगीका घटनामा अनुसन्धान गर्न कानुनी जटिलता रहेकोले सरकारले नियमनका लागि सामाजिक सञ्जाल नेपालमै दर्ता गरी सम्पर्क व्यक्ति तोक्नका लागि पछिल्लो कदम चालेको बताए ।

‘प्रहरीमा उजुरी परेपछि ३५ दिनभित्र घटनाको अनुसन्धान गरी अदालत पठाउनुपर्ने हुन्छ’, उनले भने, ‘नेपालमा कार्यालय नभएका सामाजिक सञ्जालमार्फत भएका घटनाको बारेमा पत्राचार गर्दा भारत, सिंगापुर हुँदै अमेरिकाबाट जवाफ आउँदा ३५ दिन कटिसकेको हुन्छ ।’ त्यसैले, सामाजिक सञ्जालहरु नियमन हुँदा कुनै घटनाको अनुसन्धान गर्दा सम्पर्क कार्यालय वा व्यक्तिबाट चाँडै रेस्पोन्स हुने उनले बताए ।

फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप, भाइबरजस्ता प्लेटफर्मको प्रयोग गरी अपराधीहरुले प्रेम सम्बन्ध गाँस्ने, व्यक्तिगत विवरण सङ्कलन गर्ने, चिठ्ठा परेको भन्दै प्रलोभन देखाउने, गोप्य अङ्गको भिडियो खिचेर बार्गेनिङ गर्ने, उपहार पठाइदिने भन्दै पैसा जम्मा गर्न लगाउने, बैंक एकाउन्टमार्फत रकम चोरी गर्नेजस्ता घटना भइरहेको भन्दै हरेक परिवारका सदस्य चनाखो हुनुपर्ने समय आएको उनले बताए । उनले चाडबाडको समयमा घरबाहिर जाँदा आफन्त वा छिमेकीको जिम्मा लगाउन सुझाव दिए ।

आफ्ना छोराछोरीले कस्ता सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन्, कहाँ जान्छन्, कस्तो व्यक्तिको संगतमा छन् र आमाबाबुलाई ढाँटेर कस्तो गतिविधिमा लागेका छन् भन्ने कुरा अब सबैले जान्न आवश्यक रहेको उनले बताए । मोबाइलमा ‘लोकेसन ट्रयाक’ गरेर पनि यसबारे जानकारी राख्न आवश्यक भइसकेको उनले बताए ।

कार्यक्रममा उनले आफ्नो कार्यालयमा उजुरी परेका र प्रकाशमा आएका केही घटनाक्रमबारे उदाहरण प्रस्तुत गरेका थिए । उनले विभिन्न गिरोहले वैदेशिक रोजगारका नाममा गाउँका सीधासाधा युवा र युवतीलाई प्रलोभन देखाएर मानव तस्करी हुने गरेका दृष्टान्तसमेत प्रस्तुत गरे ।

यसैगरी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा रहेका कानुनी प्रावधानबारे आफ्नो प्रस्तुति दिएका थिए । मानव बेचबिखनले डरलाग्दो रुप लिइरहेको भन्दै उनले चिन्ता प्रकट गरे । सुरूवातमा भारतका कोठीहरुमा चेलीबेटी बेचबिखन हुने गरेकोमा अहिले बालबालिका, युवा, महिला सबै जोखिममा रहेकोले मानव बेचबिखन भन्ने गरिएको उनले बताए ।

पहिले अशिक्षित र ग्रामीण क्षेत्रका युवतीहरु बेचबिखनमा पर्ने गरेकोमा अहिले शिक्षित र जानेबुझेकै मानिसहरु पनि दलालको फन्दामा पर्ने गरेको उनले बताए । नेपालबाट भिजिट भिसामार्फत दलालहरुले युएई, कुबेतलगायतका देशमा पु¥याउने गरेको र यसरी श्रम सम्झौताबिना अवैधरुपमा बिदेसिएकामध्ये २० प्रतिशत महिला यौन हिंसा र बेचविखनमा पर्ने गरेको उनले सुनाए ।

मानव बेचबिखनका घटनामा अपराधबाट हुने सजायभन्दा दलालहरुले लिने लाभ बढी रहेको अवस्था चित्रण गर्दै उनले समाजका हरेक वर्ग समूहमा यसबारे जनचेतना फैलाउन अपरिहार्य रहेको बताए । कोही पनि हिंसा र बेचबिखनमा नपरुन् भन्ने उद्देश्यले स्थानीय सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र प्रहरी कार्यालयमा महिला सेल रहेकाले शङ्कास्पद व्यक्ति, गिरोह र अवैधरुपमा विदेश पठाउने दलालविरूद्ध जानकारी दिन सकिने उनको भनाइ थियो ।

कार्यपालिका सदस्य एवम् लक्षित वर्ग महिला व्यवस्थापन समितिका संयोजक बबिताकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण तथा सञ्चालन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख दीपा घिमिरेले गरेकी थिइन् । कार्यक्रममा रत्ननगर नगरपालिकाका जनप्रतिनिधि, महिला समूह, आमा अमूह, बचत तथा सहकारी संस्था एवम् विभिन्न सामाजिक संघसंस्थामा आबद्ध २०० बढी महिलाको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।