रत्ननगर । रत्ननगर नगरपालिकाले सोमबार काठमाडौँलगायत देशभरका सहरमा जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको दुखद् घटनामा ज्यान गुमाएका नागरिकप्रति शोक व्यक्त गर्दै दुईदिने शोक बिदा घोषणा गरेको छ ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार, भदौ २४ र २५ गते नगरपालिकाअन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक), शैक्षिक संस्था तथा सम्पूर्ण संघसंस्थाहरुमा शोक बिदा रहने छ ।
नगरप्रमुख प्रलाद सापकोटाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “काठमाडौँलगायत विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा नागरिकको ज्यान गएको घटनाले हामीलाई अत्यन्त मर्माहत बनाएको छ । मृतकका परिवारप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसँग अपिल गर्दछौँ ।”
नगरपालिकाले लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको अधिकारप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै यो विषम परिस्थितिमा संयमता, धैर्यता र शान्ति कायम गर्न सबैमा अपिलसमेत गरेको छ ।









