रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले आगजनीबाट भएको क्षतिको विवरण संकलन र सेवा सञ्चालनको लागि आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ ।
शनिबार बसेको १७२औँ कार्यपालिका बैठकले तोडफोड र आगजनीको घटनप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना तथा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली प्रकट गरेको छ ।
नगरपालिका पूर्णरुपमा ध्वस्त रहेको बेला तत्काल कार्यालय सञ्चालन गर्न सक्ने अबस्था नरहेको निष्कर्ष निकाल्दै आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ । नगरपालिका र वडा कार्यालयमा आगजनीबाट भएको क्षतिको विवरण संकलन गर्ने र सकेसम्म छिट्टै कार्यालय सञ्चालन गर्ने गरी उपकरण र सामग्रीहरुको व्यवस्थापन गर्ने, जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालय सरसफाइ गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए ।
कार्यपालिका बैठकमा जेनजी आन्दोलनमा सहभागी भएर नगरपालिका र वडा कार्यालयमा आजगनी र तोडफोडमा केही कर्मचारीहरु समेत संलग्न रहेको भन्दै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले त्यस्ता कर्मचारीको पहिचान गरी तत्काल बरखास्त गर्न माग गरेका छन् । बैठकले आन्दोलनमा सहभागी भएका कर्मचारीको पहिचान गरी सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।
कार्यपालिका बैठकले नगरपालिका नै ध्वस्त हुने गरी गरिएको आगजनी र तोडफोडको घटना केलाउदै स्थानीय कार्यालय सञ्चालन कहिलेबाट गर्ने भन्ने निर्णय अर्को कार्यपालिका बैठकले गर्ने निर्णय गरेको छ ।
कार्यपालिका बैठकमा नगरप्रमुख प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक तथा वडाध्यक्षहरुले जेन्जी आन्दोलनले निम्त्याएको परिस्थिति र अबको निकासको बारेमा धारणा राखेका थिए ।
जेन्जी आन्दोलनका कारण रत्ननगर नगरपालिकाका दुईवटै प्रशासनिक भवन तथा १६ वटै वडा कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । आगजनीबाट नगरपालिकाका सबै सवारीसाधन र महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन् ।






