२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

रत्ननगरका जनप्रतिनिधि र कर्मचारी सेवा दिन आतुर : जलेका सामग्री हटाउँदै सरसफाइमा तल्लीन

रत्ननगर । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको रत्ननगर नगरपालिका कार्यालयमा सरसफाइ सुरू भएको छ । नगरका जनप्रतिनिधि र कर्मचारीहरुले आइतबारदेखि संयुक्तरुपमा सरसफाइ थालेका हुन् ।

नगरपालिकाका दुईवटै भवनमा आगजनीबाट क्षति पुगेको छ भने सेवाग्राहीलाई विश्रामका लागि निर्मित अपाङ्गमैत्री संरचना पूरै जलेर खरानी भएको छ । सो विश्रामस्थल सञ्चालनमा नआउँदै सखाप भएको हो । बाँस, खबटा, खर, खडाई र काठको प्रयोग गरी निर्मित सो संरचना वातानुकूलित र वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई विश्राम गर्न बनाइएको थियो ।

आगजनीबाट भवनभित्र रहेका कागजात, फर्निचर, विभिन्न विद्युतीय उपकरण, राजस्व तथा जिन्सी शाखाका सम्पूर्ण सामग्री नष्ट भएका छन् । यस्तै विभिन्न सवारीसाधन, जेनेरेटरलगायतका सामान कबाडीमा परिणत भएको छ ।

रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले शनिबार स्थानीय सरकारलाई पुरानै अवस्थामा फर्काउने गरी काममा जुट्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरेका थिए ।

उनले नगरको विकास र नगरवासीको हितमा काम गर्न कत्ति पनि विचलित नभईकन नयाँ ऊर्जा र हिम्मतका साथ नगरको चौतर्फी विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन् । उनले नगरप्रमुखको हैसियतमा आफूले पाउने तलब र भत्ताबापतको रकम पनि नगरपालिका र वडा कार्यालयको पुनर्निर्माणमा लगाउने घोषणा गरिसकेका छन् ।

सरसफाइमा नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक यादवप्रसाद पाठक हातमा पञ्जा लगाएर आफैँ सरसफाइमा जुटेका छन् । उनीसहित प्रशासन शाखा प्रमुख सबिता अर्याल, विभिन्न शाखाका प्रमुख, कर्मचारी, नगर प्रहरीलगायतले जलेका सामग्री हटाउँदै सरसफाइमा तल्लीन भएका छन् । सरसफाइमा उपप्रमुख आफैँ खटिएपछि कर्मचारीहरु सुरक्षा मापदण्ड अपनाउँदै आआफ्नो श्रमदान गरिरहेका छन् ।

नगरपालिकाको दुवै भवनसँगै मह¤वपूर्ण कागजात जलेर नष्ट भएपछि सेवा प्रवाहमा कठिनाइ भएको र नगरपालिकाको सरसफाइको काम सकिएपछि सेवा सुरू गरिने प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए । नगरपालिकाले क्षतिको विवरण सङ्कलन थालेको छ ।

नगरपालिका परिसरमा जलेका फर्निचर, विद्युतीय उपकरण र सवारीसाधन सबै कबाडीमा परिणत भएका छन् । भवनको सरसफाइ, मर्मत, रङ्गरोगन र आवश्यक सामग्रीहरुको प्रबन्ध गर्दा कार्यालय पूर्णरुपमा सञ्चालनमा आउन दसैँअगाडि सम्भव हुने देखिँदैन ।

नगरपालिकाको ज्येष्ठ नागरिक तथा पञ्जीकरण उपशाखा र स्वास्थ्य शाखा भने जोगिएको छ । यी दुई शाखामार्फत प्रदान हुने सेवाचाहिँ छिटै सञ्चालन हुनेछ । ज्येष्ठ नागरिक तथा पञ्जीकरणको काम सुरू गर्न समस्या नभए पनि सरसफाइलगायत भवन मर्मतलगायतका कामले गर्दा सेवा सञ्चालन गर्न केही समय लाग्ने उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटी बताउँछन् ।

यस्तै, नगरपालिकाका १६ वटै कार्यालयमा सरसफाइ थालिएको छ । जनप्रतिनिधि, कर्मचारीलगायतले सरसफाइको काम थालेका छन् । रत्ननगर–१ का सचिव महेश सुवेदीले वडा कार्यालय सरसफाइ भइरहेको र ज्येष्ठ नागरिक तथा पञ्जीकरणको काम भने बकुलहर माविअगाडिको कार्यालयबाट भइरहेको जानकारी दिए ।

रत्ननगर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटा दसैँअगाडि सेवा सञ्चालन हुन कठिन रहेको बताउँछन् । आगजनीबाट भवनको छतसमेतमा क्षति भएकाले मर्मतमै समय लाग्ने उनको भनाइ छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।