भरतपुर । नारायणगढ–मुग्लिन सडकअन्तर्गत मङ्गलबार तुइन खोलामा खसेको ठूलो पहिरो पन्छाउने क्रम जारी छ । आज बेलुकासम्म पहिरो सकेसम्म बिहीबार बेलुकीसम्म पहिरो पन्छाएर सक्ने लक्ष्य राखिए पनि त्यो सम्भावना अत्यन्तै न्यून छ । मङ्गलबार दिउँसो ४ः३० बजे खसेको पहिरो बुधबार बिहानबाट पन्छाउन थालिएको हो ।
ठूलो पहाड नै सडकमा खसेकाले पन्छाउन समय लागेको सडक डिभिजन भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए । उनका अनुसार सडकमा करिब १५ हजार घनमिटर पहिरो खसेको छ । बुधबार बेलुका पाँचवटा मेसिनले एकैपटक पहिरो पन्छाउने काम गरेको थियो । सडकको १६० मिटर भाग पहिरोले पुरिएको थियो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुईवटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ । दमौलीबाट अर्काे एउटा स्काभेटर मगाइएको छ ।
प्रमुख लामिछानेले पहिरोको तस्बिर हेर्दामाथिबाट अरु थप ठूलो पहिरो झर्ने सम्भावना कम भए तापनि माथिबाट झर्न बाँकी केही ढुङ्गाहरु पूर्णरुपमा झरिनसकेकाले अझै साना तथा मझौला पहिरो खस्न सक्ने सम्भावना रहेको बताए ।
सो ठाउँमा गत शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । समय समयमा पहिरो पन्छाएर केही सवारी आवागमन गराइएको भए पनि मङ्गलबार साँझबाट ठप्प भएको छ । सडक रोकिएसँगै ठूलो सङ्ख्यामा सवारीसाधन लाममा छन् । यात्रुवाहक सवारीसाधन भने फर्काएर वैकल्पिक मार्गतर्फ लागेका छन् । मालवाहक सवारीसाधन लाममा छन् ।
पछिल्लोपटक सडक ठप्प भएको ३८ घन्टाभन्दा बढी भएको छ । यसअघि लगातार ४५ घन्टा बन्द भएर सडक खुलेको थियो । यसपालि तुइन खोला पहिरोले धेरै दुःख दिएको छ । सडक विस्तारका क्रममा पहाड थर्किएर कमजोर भएकाले यो ठाउँमा जतिबेला पनि पहिरो खस्ने जोखिम छ ।
पोखरा–काठमाडौँ सडकमा पनि प्रभाव
मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा–काठमाडौँ सडकखण्डमा पनि पर्ने गरेको छ ।
उक्त पहिरोका कारण मुग्लिनखण्डमा सवारीसाधनको अत्याधिक चाप बढ्न थालेसँगै त्यसको प्रभाव पोखरा–काठमाडौँआवतजावत चल्ने सवारीसाधनमा परेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए ।
उक्त पहिरोका कारण सडकमा सवारीसाधनको जाम हुन थालेपछि यात्रुहरुलाई समयमा नै गन्तव्यमा पु¥याउन नसकिएको उनले बताए । “मुग्लिन–नारायणगढ खण्डमा सडक यातायात प्रभावित भएसँगै नेपालका पश्चिमी क्षेत्रमा जाने सवारीसाधन पोखरा हुँदै जान थालेका कारण पनि सवारीसाधनको चाप अत्याधिक छ”, उनले भने ।
पोखरा–काठमाडौँ खण्डमा पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत नियमित ४०० को सङ्ख्याका यात्रुवाहक सवारीसाधनले सेवा दिइरहेको उनले जानकारी दिए । दसैँको टीकाको दिन नजिकिँदै गर्दा ठूलो सङ्ख्यामा सर्वसाधारण आवतजावत गर्ने भए पनि सडक अवरूद्ध हुँदा आवतजावतमा कठिनाइ भएको उनले बताए ।









