भरतपुर । लायन्स क्लब अन्तर्राष्ट्रिय, डिस्ट्रिक ३२५ आर, क्लस्टर नं–३ को आयोजना एवम् होटल व्यवसायी संघ चितवनको सहकार्यमा शुक्रबार चौबीसकोठी चोक भरतपुरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मानवताको सेवा र सामाजिक उत्तरदायित्वप्रति समर्पित “रक्तदान–जीवनदान” अभियानअन्तर्गत आयोजित सो कार्यक्रममा ३०७ जनाले स्वेच्छिकरूपमा रक्तदान गरेका हुन् ।
मेडिकल सिटीका रूपमा परिचित चितवनमा रगतको अभाव निरन्तर देखिँदै आएको अवस्थालाई मध्यनजर गर्दै यस कार्यक्रम आयोजना गरिएको हो । रगतको अभावमा देशका विभिन्न स्थानबाट उपचारका लागि चितवन आउने बिरामीहरूले रगत नपाएर उपचारमा समस्या भोग्दै आएका छन् । यस्तो संवेदनशील अवस्थालाई सम्बोधन गर्ने उद्देश्यले यो रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक एकराज बुर्लाकोटीले बताए । यस्ता कार्यक्रमले भरतपुर आसपासका अस्पतालहरूमा रगतको आपूर्तिमा सहयोग पुग्ने उनको विश्वास छ ।
डिस्ट्रिक गर्भनर लायन नवराज सापकोटा प्रमुखअतिथि रहेको कार्यक्रमको सभापतित्व क्लस्टर नं–३ का चिफ लायन अजामिन ढकालले गरेका थिए । सो कार्यक्रमका प्रथम भाइस डिस्ट्रिक गर्भनर लायन प्रभाकर पण्डित, द्वितीय भाइस डिस्ट्रिक गर्भनर लायन दीपेन्द्रप्रसाद खतिवडा, पूर्व डिस्ट्रिक गर्भनरहरू, साथै लायन्स तथा लियो सदस्यहरू, सामाजिक व्यक्तित्वहरू र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुखअतिथि लायन नवराज सापकोटाले आफ्नो मन्तव्यमा मानवताको आवश्यकता पर्ने ठाउँमा यस्ता गर्विला र अर्थपूर्ण कार्यक्रमहरूले संस्थाको गौरव बढाउने बताउँदै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यहरू निरन्तर सञ्चालन गर्न सबै लायन र लियो सदस्यहरूलाई आह्वान् गरे । उनले लायन्स क्लबका हरेक क्रियाकलाप समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणाको स्रोत रहेको उल्लेख गरे ।
लायन्स क्लब अन्तर्राष्ट्रियले विगतदेखि नै शिक्षा, स्वास्थ्य, अन्धोपन निवारण, मधुमेह सचेतना, वातावरण संरक्षण, भोकमरी निवारण, स्वास्थ्य शिविर, विपद् व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर र सक्रिय योगदान गर्दै आइरहेको छ ।
यस्ता बृहत् रक्तदान कार्यक्रममा भएको उल्लेखनीय सहभागिताले चितवनमा स्वेच्छिक रक्तदानप्रति जनचेतना र सामाजिक उत्तरदायित्वबोध बढ्दै गएको लायनहरुले विश्वास लिएका छन् ।






