२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

पालिकास्तरीय क्षयरोग कार्यक्रमको कोहर्ट विश्लेषण तथा वार्षिक समीक्षा

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाअन्तर्गत स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०८१/०८२ को क्षयरोग कार्यक्रमको कोहर्ट विश्लेषण तथा वार्षिक समीक्षा गरिएको छ । कार्यक्रममा पालिकामा भएका क्षयरोग नियन्त्रणका कार्य, उपलब्धि, चुनौती र आगामी योजनासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले क्षयरोग नियन्त्रणका कार्यक्रमहरूको औचित्यमाथि प्रकाश पार्दै सुमदायमा जनचेतना र उपचार पहुँच दुवै बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘क्षयरोग नियन्त्रण अब केवल स्वास्थ्यकर्मीको जिम्मेवारी होइन, समुदायको सहभागिता पनि आवश्यक छ ।’

उनले राष्ट्रिय रणनीतिक योजनाको मुख्य लक्ष्य क्षयरोगमुक्त नेपालको परिकल्पना गर्नु रहेको जानकारी दिँदै यसअन्तर्गत सन् २०३५ सम्ममा क्षयरोग महामारीको अन्त्य गर्ने र सन् २०५० सम्ममा यसलाई पूर्णरूपमा उन्मूलन गर्ने लक्ष्य राखिएको बताए ।

यस्तै, जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ट अधिकृत जयराम दुवाडीले सबैको साथ र सहयोगबाट क्षयरोगमुक्त अभियानलाई सार्थक बनाउन सकिने भएकाले क्षयरोगमुक्त अभियानमा गरिएका प्रतिबद्धताहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गर्दै चितवनमा क्षयरोग नियन्त्रणको प्रगति र चुनौतीहरूबारे जानकारी गराएका थिए ।

उनका अनुसार, गत आर्थिक वर्षमा नयाँ बिरामीको पहिचान दरमा सुधार आएको छ भने उपचार सफलता दर पनि सन्तोषजनक रहेको छ । तर, पुनःसङ्क्रमणका केसहरू र औषधि उपचारका क्रममा अधुरो छोड्ने समस्या अझै चुनौतीका रुपमा रहेको बताए ।

रत्ननगर–३ का वडाध्यक्ष एवम् सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले नेपाल सरकारले सन् २०३० भित्र क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको जनाउँदै उक्त लक्ष्य हासिल गर्न नियमित कोहर्ट विश्लेषण र वार्षिक समीक्षा कार्यक्रम प्रभावकारी हुने बताए । उनले रत्ननगरका १६वटै स्वास्थ्य संस्थाको क्षयरोगको विवरण समयमै अद्यावधिक गराउनसमेत सचेत गराएका थिए ।

कार्यक्रममा क्षयरोग अभियानमा प्राविधिक सहयोग गर्दै आएको संस्था ‘जन्त्र’का संयोजक सन्दीप रावलले क्षयरोगको औषधि बिरामीको संख्याका आधारमा आउने भएकाले यकिन विवरण समयमै अद्यावधिक गर्न, छुटेका बिरामीको बारेमा तत्काल फलोअप गर्न र सबै सरकारी तथा निजी स्वास्थ्य संस्थासँग समन्वय गरी काम गर्न सुझाव दिए ।

कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका मेसु डा. मदन ज्ञवाली, सो अस्पतालका क्षयरोग फोकल पर्सन नारायण ढुङ्गाना, स्वास्थ्य शाखाका नर्सिङ अधिकृत अम्बिका पौडेल, जनस्वास्थ्य निरीक्षक दीपेन्द्र विक, १६ वटै वडाका स्वास्थ्य संस्थाका इन्चार्जलगायतको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।