२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

रत्ननगर–१ मा खानेपानीको न्यूनतम महसुल निःशुल्क

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१ ले वडावासीका लागि खानेपानीको न्यूनतम महसुल निःशुल्क गरेको छ । वडावासीले प्रयोग गरेको १० हजार लिटरसम्मको खानेपानीको शुल्क वडा कार्यालयले तिरिदिने भएको हो । त्यसका लागि वडा कार्यालयले रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँग सम्झौतासमेत गरेको छ ।

मङ्सिर १ गतेबाट वडावासीले खानेपानीको न्यूनतम शुल्क तिर्न नपर्ने र पानी प्रयोग गरेबापत लाग्ने शुल्क वडा कार्यालयले भुक्तानी गर्ने वडाध्यक्ष कुलप्रसाद सापकोटाले बताए । आर्थिक अभावका कारण पानीको शुल्क तिर्न नसक्ने अवस्था भएका परिवारलाई लक्षित गरी गरिएको निर्णयले समग्र वडावासीले समेत सुविधा पाएका छन् ।

उक्त सुविधा वडाभित्रका एक हजार ११० घरधुरीले प्राप्त गर्ने छन् । अहिलेसम्म वडाभित्रका करिब एक हजार घरधुरीले मात्र धारा जडान गरेको भन्दै वडाध्यक्ष सापकोटाले स्थानीय सरकारले प्रदान गरेको सेवासुविधा उपयोग र स्वच्छ पानीको प्रयोगका लागि बाँकी रहेका घरधुरीलाई धारा जडान गर्न आग्रह गरे ।

वडा कार्यालयले प्रदान गरेको छूट सुविधा ४ हजार ४४४ जनाले उपभोग गर्ने छन् । खानेपानीको न्यूनतम शुल्क भुक्तानीका लागि वडा कार्यालयले १० लाख रूपैया विनियोजन गरेको छ । समानीकरण अनुदान शीर्षकमा प्राप्त बजेट खानेपानीको न्यूनतम शुल्क भुक्तानीका लागि विनियोजन गरिएको वडाध्यक्ष सापकोटाले बताए । करिब चार महिनाअघि आफूले उक्त घोषणा गरेको र कार्यविधि बनाउँदा ढिलो भएको भन्दै उनले भने, ‘वडाध्यक्षले बोलेको कुरा गरेन भनेर विरोध पनि भयो, तर मैले गर्छु भनेको कुरा पूरा गरेको छु ।’

रत्ननगरमा १६ वटा वडाहरु रहेका छन् । वडा नं–१ ले पहिलोपटक खानेपानीको न्यूनतम शुल्क निःशुल्क गर्न सफल भएको छ । ‘विकास भनेको भौतिक पूर्वाधार निर्माण मात्र होइन’, वडाध्यक्ष सापकोटाले भने, ‘सुशासन र वडावासीको चाहना पूरा गर्नु पनि विकास हो ।’

चालू आर्थिक वर्षमा सो वडा कार्यालयले स्थानीय उत्पादनको बजारीकरणका लागि रात्रिकालीन बजार, अतिविपन्न १० घरधुरीलाई निःशुल्क धारा जडान, शौचालय निर्माणको सामग्री तथा सडकसहित पूर्वाधारमा दुई करोड विनियोजन गरेर काम सुरू गरेको छ ।

वडाभित्रका सबै सडकहरुलाई कालोपत्रे गर्ने योजनाका साथ बजेट विनियोजन गरिएको वडाध्यक्ष सापकोटाले बताए । ‘वडावासीहरु ग्राभेल हालेको सडकमा हिँड्न नपरोस् भनेर चालू आर्थिक वर्षभित्र सबै सडक कालोपत्रे गर्ने योजना छ’, उनले भने, ‘लक्ष्य प्राप्तिका लागि प्रयास गरिरहेको छु ।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।