कालिका । कालिका–३ मा रहेको आधारभूत विद्यालय वनकट्टाका १८७ जना विद्यार्थीलाई जुत्ता र मोजा वितरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिननाथ अर्यालको अध्यक्षता एवम् कालिका नगरपालिका वडा नं–३ का वडाध्यक्ष वीरेन्द्र तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम हाम्रो सहयोग फाउन्डेसनको सहयोगमा आयोजना गरिएको थियो ।
कार्यक्रममा फाउन्डेसनका कार्यक्रम निर्देशक प्रभाष प्रधान, अध्यक्ष रामसिं मोक्तान, कोषाध्यक्ष बिर्सना फ्युवा र सचिव लक्षुमन फ्युवाको उपस्थिति रहेको थियो ।
प्रमुखअतिथि वडाध्यक्ष वीरेन्द्र तामाङले विद्यार्थीहरुको पाठनपाठनलाई सहज बनाउन सामाजिक संस्थाको सहयोग प्रशंसनीय रहेको बताउँदै आर्थिकरूपमा कमजोर विद्यार्थीहरुका लागि यस्ता सहयोगले सकारात्मक प्रभाव पार्ने बताए ।
विद्यालयका प्रधानाध्यापक भक्तबहादुर तामाङले फाउन्डेसन तथा सहयोगी हातहरूप्रति आभार व्यक्त गरे । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक शेषकान्त खरेलले स्वागत मन्तव्य राखेका थिए ।









