
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरूआत गरेको छ । सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित गरेको छ ।
जितका लागि पाएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १६ दशमलव ५ ओभरमा ११८ रनमा अलआउट भयो । काठमाडौँका आकाश त्रिपाठीले सर्वाधिक ३४,जोन सिम्पसोनले २४ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । सुदूरपश्चिमका लागि बलिङमा हर्मित सिंह, हेमन्त धामी र स्कट कुइगलेनले २÷२ विकेट हात पारे ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनाएको हो ।
सुदूपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक ५३ रनको योगदान दिए । उनले २० बलमा बलमै २ चौका र ६ छक्काको सहयोगमामा अर्धसतक बनाए ।
त्यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए । आसिफ शेखले २५ रन जोडे भने इसान पाण्डेले ११ रन जोड्दै आउट भए ।
बलिङतर्फ काठमाडौँका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले समान दुई÷दुई विकेट लिए । जीतसँगै सुदूरपश्चिमले २ अङ्क जोडेको छ ।
चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ३८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । यही मङ्गलबारसम्म यहाँका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच हजार ४५३ जनाको नमुना परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये २९० जना चितवनका हुन भने ९६ जना चितवन बाहिरका रहेका छन् । चितवनका १९५ जना महिला र ९५ जना पुरुषमा यो रोगको सङ्क्रमण देखिएको हो । साउनयता अस्पतालमा उपचारका लागि आएकामध्ये यो रोगको सङ्क्रमण जिल्ला बाहिरका २४ जना पुरुष र ७२ जना महिलामा देखिएको छ ।
सङ्क्रमितमध्ये सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका रहेका छन् । यस पालिकामा १०८ जनामा स्क्रब टाइफस देखिएको हो ।
यस्तै, खैरहनी नगरपालिकामा ६८ जना, राप्ती नगरपालिकामा ३७ जना, कालिका नगरपालिकामा ३६ जना, भरतपुर महानगरपालिकामा २९ जना, माडी नगरपालिकामा पाँच जना र इच्छाकामना गाउँपालिकामा सात जनामा यो रोग देखिएको कार्यालयले जनाएको छ ।
स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, श्वास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गरेको उनले बताए ।
यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने केसीले बताए ।
रत्ननगर । नेपाल लाइफ इनस्योरेन्स कम्पनी लिमिटेडअन्तर्गत पेसागत बिमा अभिकर्ता संघ नेपालको सौराहा–टाँडी शाखाको तेस्रो अधिवेशनले गोविन्दकृष्ण श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा विमला न्यौपाने, सचिवमा सविता अधिकारी, सहसचिवमा लक्ष्मी केसी, कोषाध्यक्षमा रमेश दुवाडी चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा धनरजियाकुमारी चौधरी, मिनु श्रेष्ठ, राजकुमार श्रेष्ठ, ललिता घले, वेदप्रसाद पौडेल, कृष्णबहादुर नेपाली, हरिकुमार श्रेष्ठ, दिलकुमारी श्रेष्ठ, सृजनाकुमारी शर्मा र गीता पुरी चयन भएका छन् ।
पेसागत बिमा अभिकर्ता संघ नेपाल सौराहा–टाँडी शाखाका अध्यक्ष पार्वतीकुमारी भुसालको अध्यक्षता एवम् छाता संगठनका केन्द्रीय सहकोषाध्यक्ष दुर्गाकुमारी भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम राजेन्द्रप्रसाद वाग्लेले सञ्चालन गरेका थिए ।
कार्यक्रममा विशिष्टअतिथि पेसागत बिमा अभिकर्ता संघका केन्द्रीय सदस्यद्वय कमलप्रसाद सुवेदी, शान्ता पाण्डे, अतिथि बागमती प्रदेश समितिका उपाध्यक्ष रामकृष्ण कार्की, सहसचिव प्रल्हाद अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सौराहा–टाँडी शाखा प्रमुख सन्तकृपाल अग्रहरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कालिका । कालिका–३ मा रहेको आधारभूत विद्यालय वनकट्टाका १८७ जना विद्यार्थीलाई जुत्ता र मोजा वितरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिननाथ अर्यालको अध्यक्षता एवम् कालिका नगरपालिका वडा नं–३ का वडाध्यक्ष वीरेन्द्र तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम हाम्रो सहयोग फाउन्डेसनको सहयोगमा आयोजना गरिएको थियो ।
कार्यक्रममा फाउन्डेसनका कार्यक्रम निर्देशक प्रभाष प्रधान, अध्यक्ष रामसिं मोक्तान, कोषाध्यक्ष बिर्सना फ्युवा र सचिव लक्षुमन फ्युवाको उपस्थिति रहेको थियो ।
प्रमुखअतिथि वडाध्यक्ष वीरेन्द्र तामाङले विद्यार्थीहरुको पाठनपाठनलाई सहज बनाउन सामाजिक संस्थाको सहयोग प्रशंसनीय रहेको बताउँदै आर्थिकरूपमा कमजोर विद्यार्थीहरुका लागि यस्ता सहयोगले सकारात्मक प्रभाव पार्ने बताए ।
विद्यालयका प्रधानाध्यापक भक्तबहादुर तामाङले फाउन्डेसन तथा सहयोगी हातहरूप्रति आभार व्यक्त गरे । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक शेषकान्त खरेलले स्वागत मन्तव्य राखेका थिए ।
नवलपुर । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो ।
मौलाकाली केबलकार लिमिटेडका स्टेसन म्यानेजर सुरज पौडेलले प्राविधिक परीक्षण सफल भएपछि चाँडै नै केबलकार नियमित सञ्चालन गर्ने तयारी गरिएको बताए । केबलकारको अझै केही दिन प्राविधिक परीक्षण गर्ने र कुनै समस्या नआएमा केही दिनभित्रै सर्वसाधारणका लागि खुला गरिने उनको भनाइ छ ।
गैँडाकोट–१ मा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरलाई लक्षित गरी गत वर्षको वैशाखबाट सञ्चालनमा आएको केबलकार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि बन्द भएको थियो ।
“आगजनी र तोडफोडका क्रममा केबलकारको तल्लो स्टेसनमा क्षति पुगेको थियो”, उनले भने, “क्षतिग्रस्त उपकरणको विस्तृत परीक्षण तथा मर्मतका लागि केबलकार जडान गरिएको अस्ट्रियाको संस्थाबाट विशेष प्राविधिक टोली आएर एक सातासम्म परीक्षण गरेको थियो ।”
प्राविधिक परीक्षणपछि क्षतिग्रस्त उपकरणको कमजोरी पहिचान गरी आवश्यक मर्मतसम्भार गरेपछि केबलकार सञ्चालन गरिएको पौडेलले बताए । केबलकारको आन्तरिक परीक्षणपश्चात् सबै ‘सिस्टम’ले स्थिररुपमा काम गरिरहेको पुष्टि भएसँगै अब केही दिनभित्रै सर्वसाधारणका लागि औपचारिक सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ ।
“मर्मतपछि केबलकारको सम्पूर्ण प्रणाली प्राविधिकरुपमा सुरक्षित रहेको पुष्टि भएको छ”, उनले भने, “अब अन्तिम चरणका केही परीक्षण र निरीक्षणपछि पूर्ण क्षमतामा सञ्चालनमा आउन छ ।” मौलाकालिका मन्दिरका दर्शनार्थी तथा अपर स्टेसनमा रहेको होटलमा जाने यात्रुहरु ढुक्क भएर यात्रा गर्न सक्ने अवस्था भएपछि केबलकार नियमित सञ्चालनमा ल्याइने पौडेलले बताए ।
मौलाकाली केबलकार लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा केबलकारमा भएको आगजनी र तोडफोडका कारण ठूलो क्षति पुगेको बताए । उनले आगजनी र तोडफोडबाट केबलकार संरचना तथा उपकरणमा करोडौँ रूपैयाँबराबरको क्षति पुगेको बताए । जेनजी आन्दोलनपछि केबलकार बन्द हुँदा मौलाकालिका मन्दिर आउने भक्तजनको संख्यामा कमी आएको जनाइएको छ ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार पछिल्लो समय मन्दिरमा भक्तजनको उपस्थिति न्यून रहेको छ । “केबलकार सञ्चालनमा रहेको समयसम्म मन्दिर आउने दर्शनार्थीहरु उल्लेख्यरुपमा देखिनुहुन्थ्यो”, उनले भने, “केबलकार बन्द भएकाले यसवर्ष दसैँको समयमा अपेक्षाकृतरुपमा भक्तजनको उपस्थिति देखिएन ।” अब केबलकार नियमितरुपमा सञ्चालनमा आएपछि मन्दिरमा दर्शन गर्न आउने भक्तजन बढ्ने अपेक्षा गरिएको सापकोटाले बताए ।
पछिल्लो समय यस मन्दिरमा धार्मिकसँगै प्रकृतिमा रमाउने पर्यटक आउने गरेका सापकोटाले बताए । “हिउँदका समयमा मन्दिरबाट बिहान मन्दिरमुनि बजार क्षेत्रमा हुस्सु (कुहिरो) र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ”, उनले भने, “योसँगै उत्तरतर्फ तनहुँ र गोरखाका रमणीय पहाडसँगै हिमालसमेत अवलोकन गर्न सकिन्छ ।”
समुद्री सतहबाट ५६१ मिटर उचाइमा रहेको मौलाकालिका मन्दिर नारायणगढ बजारबाट पाँच किलोमिटर पश्चिम–उत्तरमा पर्छ ।
रत्ननगर । रत्ननगर–३, शान्तिचोकमा डेरा गरी बस्ने ढोकर महतोको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । श्रीमती भारती चौधरीले श्रीमान्को उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोग गरिदिन आग्रह गरेकी हुन् । चौधरीले घरेलु कामदारका रुपमा आर्जन गरेको पैसाले परिवार पाल्दै आएकी छन् ।
श्रीमान् महतोको मुटुको शल्यक्रिया गरी भल्ब फेर्नुपर्ने डाक्टरहरुले बताएका छन् । छोराछोरीसमेत बौद्धिक अपाङ्गता रहेकाले परिवारको अन्य आम्दानीको स्रोत छैन । कमाएर परिवार पाल्ने श्रीमान्लाई रोग लागेपछि भारती बाध्य भएर घरेलु कामदारको रुपमा काम गरिरहेकी छन् ।
‘मैले गरेको कामबाट प्राप्त पैसा बिहान–बेलुका छाक टार्न ठिक्क हुन्छ’, उनले भनिन्, ‘श्रीमान्को उपचार गर्ने पैसा भएन, श्रीमान्को जीवनरक्षाका लागि तपाईं सम्पूर्णसँग सहयोगको आग्रह गर्दछु ।’ ६४ वर्षीय महतोले ज्यालादारी गरेर परिवार पाल्दै आएका थिए ।
ढोकरको मुटुको शल्यक्रिया गर्न ६ लाख रूपैयाँ लाग्ने र दुई लाख बिमाबाट तथा बाँकी रहेको चार लाख रूपैयाँ अभाव भएको उनकी श्रीमती चौधरीले बताइन् ।
शान्तिज्योति युवा समाजका अध्यक्ष अशोक भूषालले ढोकरको उपचारका लागि संस्थागतरुपमा सहयोग अभियान सुरू गरेको भन्दै उनको जीवनरक्षाका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । दाताहरुबाट अहिलेसम्म ३० हजार रूपैयाँ सहयोग प्राप्त भएको भन्दै उनले थप सहयोग गरिदिन आग्रह गरे ।
ढोकरलाई सहयोग गर्न चाहने महानुभावले ग्लोबल आइएमई बैंक टाँडी शाखामा ढोकर महतोको नाममा रहेको खाता नं ०४२०७०१०००६७६० मा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।
रत्ननगर । रत्ननगरस्थित टिकौली चौरमा हुने रत्ननगर महोत्सव–२०८२ को तयारी सुरू गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गतेदेखि माघ ६ गतेसम्म रत्ननगर महोत्सवको १३औँ संस्करण हुँदैछ ।
रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवलाई सफल बनाउन संघले मूल व्यवस्थापन समिति र विभिन्न उपसमिति निर्माण गरी तयारी सुरू गरेको हो । संघले स्टल बुकिङसमेत खुल्ला गरिसकेको छ ।
जिल्लाकै गौरव र गरिमामय प्रस्तुतिको रुपमा हरेक दुई/दुई वर्षमा आयोजना हुँदै आएको उक्त महोत्सवले आर्थिक विकास र स्थानीय उत्पादनलाई जोड दिँदै आएको छ ।
महोत्सवले स्थानीय कला–संस्कृति तथा परम्परागत खानाको प्रवर्द्धन तथा कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष शंकर गिरी संयोजक रहेको मूल व्यवस्थापन समिति र ३७ वटा उपसमिति बनाइएको छ । महोत्सवमा ४५० वटा स्टलहरु रहने छन् ।
जेनजी आन्दोलनका कारण सुस्ताएको आर्थिक क्षेत्रलाई महोत्सवले चलायमान गराउने संघका अध्यक्ष गिरीले बताए । ‘आर्थिक मन्दी र त्यसलगत्तै भएको जेनजी आन्दोलनका कारण जिल्लाको आर्थिक क्षेत्र तहसनहस रहेको छ’, उनले भने, ‘रत्ननगरमा हुने महोत्सवले जिल्लाको आर्थिक गतिविधिलाई पुनर्जीवित गर्ने छ ।’ अध्यक्ष गिरीले महोत्सवले समग्र जिल्लाको आर्थिक विकाससँगै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
महोत्सवलाई भव्य बनाउन सुझबुझका साथ तयारी सुरू गरिएको संघका वरिष्ठ उपाध्यक्ष तथा मेला व्यवस्थापन समितिका संयोजक निराजन खनालले बताए ।
स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि तथा मल, बीउबिजन महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने छ । महोत्सवअन्तर्गत परम्परागत खानाको प्रवद्र्धनका लागि खाना महोत्सवसमेत आयोजना गरिने छ ।




