२०८३ मंसिर १२ शुक्रबार
२०८३ मंसिर १२ शुक्रबार

नारायणी नदी तटबन्धसम्बन्धी सरोकारवालाबीच छलफल

भरतपुर । नारायणी नदीको बाढी र कटानबाट नारायणगढ बजार तथा गैँडाकोट क्षेत्रका तटीय बस्ती जोगाउने उद्देश्यले नारायणी नदी किनार तटबन्धसम्बन्धी छलफल गरिएको छ । छलफलमा सरोकारवाला निकाय, जनप्रतिनिधि, प्राविधिक विज्ञ तथा स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरका प्रमुख डा. नारायणप्रसाद सुवेदीले नारायणी नदीको तटबन्ध निर्माणलाई प्राविधिक रूपले मजबुत र दीर्घकालीन बनाउन आयोजना प्रतिबद्ध रहेको बताए । उनले नदीको बहाव र भौगोलिक संवेदनशीलताको अध्ययन गरी दुवै किनार सुरक्षित हुने गरी काम अघि बढाइने उल्लेख गर्दै स्थानीय तह र सरोकारवालाको सुझावलाई प्राविधिक डिजाइनमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका नगरप्रमुख चित्रसेन अधिकारीले नारायणगढ बजार तथा नदी तटीय क्षेत्रको सुरक्षा महानगरको उच्च प्राथमिकतामा रहेको बताए । वर्षायाममा हुने कटानको जोखिम न्यूनीकरण गर्न सङ्घीय आयोजना, छिमेकी गैँडाकोट नगरपालिका र निजी क्षेत्रसँग समन्वय गर्दै आवश्यक सहजीकरण गर्न महानगर सदैव तयार रहेको उनको भनाइ थियो ।

गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले नारायणी नदीले गैँडाकोट र भरतपुरलाई जोड्ने भएकाले तटबन्ध निर्माण गर्दा दुवै किनारको सन्तुलनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले एकातर्फ मात्र संरचना बन्दा अर्कोतर्फ पानीको चाप बढ्ने जोखिम रहने औँल्याउँदै गैँडाकोट र नारायणगढ दुवै क्षेत्रका बस्ती सुरक्षित हुने गरी एकीकृत योजनाका साथ अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले नारायणगढ बजार क्षेत्र चितवनको प्रमुख व्यापारिक केन्द्र भएकाले नदी कटानको जोखिमले समग्र आर्थिक गतिविधिमै असर पार्ने बताए । व्यवसायी र स्थानीय बासिन्दाले ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन तटबन्ध निर्माणको कामलाई तीव्रता दिनुपर्ने भन्दै उनले सरोकारवालाबीचको सहकार्यका लागि संघले निरन्तर पहल गरिरहने उल्लेख गर्दै बजेटको सुनिश्चितताको लागि संघले पहल गरिरहने बताए ।

सो कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समितिका सदस्य सुमनकुमार श्रेष्ठले नारायणी नदीको तटबन्ध निर्माण गर्दा यस क्षेत्रको सौन्दर्यीकरण र देवघाटधामको पर्यटकीय स्थलको समेत प्रवद्र्धन गर्नुपर्ने बताए ।

छलफलका क्रममा गैँडाकोट र नारायणगढ बजार क्षेत्रका स्थानीय बासिन्दा तथा व्यवसायीहरूले दुवै किनारको सुरक्षाका लागि दुवै किनारमा सन्तुलित र वैज्ञानिक तटबन्ध निर्माण, वर्षायामअगावै जोखिमपूर्ण क्षेत्रमा काम सुरू गर्नुपर्ने, सौन्दर्यीकरण र वातावरणीय सन्तुलन ध्यानमा राखेर संरचना तयार गरिनुपर्ने, योजना कार्यान्वयनका क्रममा स्थानीय तह, प्राविधिक टोली, उद्योग वाणिज्य संघ र प्रभावित क्षेत्रका बासिन्दाबीच नियमित संवाद र अनुगमन संयन्त्र कायम गरिनुपर्नेजस्ता सुझाव पेस गरेका थिए ।

छलफलमा भरतपुर महानगरपालिका वडा नं १ का वडाध्यक्ष केशव महर्जन, पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रा. डा. नरेन्द्रमान शाक्य, इन्फर्मेटिक इन्जिनियरिङ कलेजका ई. अनुप खनाल लगायत प्राविधिकहरु, भरतपुर तथा गैँडाकोटका जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो । कार्यक्रममा प्राविधिक टोलीले यसको विस्तृत सर्भे गरी तयार हुने प्रतिवेदन सवै सरोकारवालाबीच प्रस्तुत गर्ने र सबैले मान्य हुने तवरले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । चितवन उद्योग वाणिज्य संघको पहलमा उक्त सर्भे टोली चितवन आएको हो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरका प्रमुख डा. नारायणप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रम चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गरेका हुन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।