२०८३ मंसिर १२ शुक्रबार
२०८३ मंसिर १२ शुक्रबार

भरतपुर । चितवनको नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा शुक्रबार खुमन अधिकारी, रेजिना बि.सी र गोर्खे राजाको प्रस्तुति रहने भएको छ ।
महोत्सवमा दिनदिनै नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुति तथा आदिवासी जनजातिको सांस्कृतिक प्रस्तुतिसमेत भइरहेका छन् ।

दिनहुँ राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिइरहेका छन् । महोत्सवमा विभिन्न किसिमका स्टलहरुका साथै बालउद्यान, जिरो ग्रयाभिटी राइड, ३६० डिग्री राइड र पिरामिड गेटले आगन्तुकको ध्यान तानेको छ । रेड रक इभेन्ट एन्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् चितवनको सहआयोजनामा मङ्सिर ३ गतेदेखि दोस्रो नारायणी महोत्सव २०८३ सञ्चालन भइरहेको छ । महोत्सव मङ्सिर १८ गतेसम्म चल्ने छ ।

आयोजकले महोत्सवको सफलतालाई आयोजक संस्थाको सफलतामा मात्र सीमित नराखी भरतपुरको पर्यटन, व्यापार, मनोरञ्जन र आर्थिक गतिविधिको विकाससँग जोडिएको साझा उपलब्धिका रुपमा लिएको जनाएको छ । महोत्सवमा साधारण टिकट १०० रुपैयाँ र विद्यार्थी टिकट ८० रुपैयाँ रहेको छ । कुनै दिन साँझ ५ः०० बजेपछि ९ः०० बजेसम्म महोत्सव परिसरमा विशेष कन्सर्ट हुने छ ।

विशेष कन्सर्ट जोनभित्र प्रवेश गर्नका लागि भने साधारण टिकट ३०० रुपैयाँ र भिआइपी टिकट ५०० रुपैयाँ रहेको छ । कहिलेकाहीँ साँझ हुने कन्सर्ट जोनमा जान नचाहनेले भने १०० रुपैयाँ र ८० रुपैयाँकै टिकट काटेर महोत्सव घुम्न पाउनेछन् ।

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाअन्तर्गत स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०८२–०८३ को क्षयरोग कार्यक्रमको कोहर्ट विश्लेषण तथा वार्षिक समीक्षा गरिएको छ । कार्यक्रममा पालिकामा भएका क्षयरोग नियन्त्रणका कार्य, उपलब्धि, चुनौती र आगामी योजनासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो ।

रत्ननगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख माधवप्रसाद पौडेलले स्वागत मन्तव्यसँगै आर्थिक वर्ष २०८२–०८३ मा क्षयरोगका १२९ केस पत्ता लागेकोमा नियमित औषधि सेवनबाट १२० जना निको भएको जानकारी दिए । उनले विभिन्न स्वास्थ्य संस्थामा गरिएको एआई एक्स–रे टिभी स्क्रिनिङ शिविरबाट १० जना क्षयरोगी पत्ता लागेको बताउँदै यस वर्ष पनि समुदायलक्षित एआई एक्स–रे टिभी स्क्रिनिङ शिविर सञ्चालन गर्ने बताए ।

उनले बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा पार्टेबल एआई एक्स–रे मेसिनको प्रयोग गरी विभिन्न उमेर समूहमा स्क्रनिङ क्याम्प सञ्चालन गरी लुकेर रहेका क्षयरोगका बिरामी पत्ता लगाएर उपचारको दायरामा ल्याउन सबै क्षयरोग फोकल पर्सनहरुलाई आग्रह गरे ।

सामाजिक विकास समितिका संयोजक एवम् रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले नेपाल सरकारले सन् २०३० भित्र क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको जनाउँदै उक्त लक्ष्य हासिल गर्न नियमित कोहर्ट विश्लेषण र वार्षिक समीक्षा कार्यक्रम प्रभावकारी हुने बताए ।

उनले राष्ट्रिय लक्ष्यअनुसार आफ्ना स्रोतसाधन प्रयोग गरेर समुदायमा लुकेर रहेका क्षयरोगका बिरामी पत्ता लगाउन १६ वटै वडाका स्वास्थ्यकर्मी तथा मातहतका कर्मचारीबीच एकअर्कामा समन्वय गरी काम गर्न निर्देशन दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत सहजीकरण गरेका ‘जन्त्र नेपाल’ संस्थाका प्रतिनिधि सन्दीप रावलले सबैको साथ र सहयोगबाट क्षयरोगमुक्त अभियानलाई सार्थक बनाउन सकिने बताउँदै समुदायलक्षित क्षयरोग कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । उनले हरेक स्वास्थ्य संस्थाको क्षयरोगको विवरण समयमै अद्यावधिक गराउन सचेत गराए । यस्तै, उनले क्षयरोगको यकिन विवरण समयमै अद्यावधिक गर्न, छुटेका बिरामीको बारेमा तत्काल फलोअप गर्न र सबै सरकारी तथा निजी स्वास्थ्य संस्थासँग समन्वय गरी काम गर्न सुझाव दिए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाभित्रका १६ वटै स्वास्थ्य संस्थाका क्षयरोग फोकल पर्सनहरुले आआफ्ना संस्थाबाट भएका क्षयरोग कार्यक्रम तथा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

स्वास्थ्य शाखाका नवराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका मेसु अङ्कुर पौडेल, १६ वटै स्वास्थ्य संस्थाका क्षयरोग फोकल पर्सन तथा इन्चार्जहरुको सहभागिता रहेको थियो ।

भरतपुर । नारायणी नदीको बाढी र कटानबाट नारायणगढ बजार तथा गैँडाकोट क्षेत्रका तटीय बस्ती जोगाउने उद्देश्यले नारायणी नदी किनार तटबन्धसम्बन्धी छलफल गरिएको छ । छलफलमा सरोकारवाला निकाय, जनप्रतिनिधि, प्राविधिक विज्ञ तथा स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरका प्रमुख डा. नारायणप्रसाद सुवेदीले नारायणी नदीको तटबन्ध निर्माणलाई प्राविधिक रूपले मजबुत र दीर्घकालीन बनाउन आयोजना प्रतिबद्ध रहेको बताए । उनले नदीको बहाव र भौगोलिक संवेदनशीलताको अध्ययन गरी दुवै किनार सुरक्षित हुने गरी काम अघि बढाइने उल्लेख गर्दै स्थानीय तह र सरोकारवालाको सुझावलाई प्राविधिक डिजाइनमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका नगरप्रमुख चित्रसेन अधिकारीले नारायणगढ बजार तथा नदी तटीय क्षेत्रको सुरक्षा महानगरको उच्च प्राथमिकतामा रहेको बताए । वर्षायाममा हुने कटानको जोखिम न्यूनीकरण गर्न सङ्घीय आयोजना, छिमेकी गैँडाकोट नगरपालिका र निजी क्षेत्रसँग समन्वय गर्दै आवश्यक सहजीकरण गर्न महानगर सदैव तयार रहेको उनको भनाइ थियो ।

गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले नारायणी नदीले गैँडाकोट र भरतपुरलाई जोड्ने भएकाले तटबन्ध निर्माण गर्दा दुवै किनारको सन्तुलनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले एकातर्फ मात्र संरचना बन्दा अर्कोतर्फ पानीको चाप बढ्ने जोखिम रहने औँल्याउँदै गैँडाकोट र नारायणगढ दुवै क्षेत्रका बस्ती सुरक्षित हुने गरी एकीकृत योजनाका साथ अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले नारायणगढ बजार क्षेत्र चितवनको प्रमुख व्यापारिक केन्द्र भएकाले नदी कटानको जोखिमले समग्र आर्थिक गतिविधिमै असर पार्ने बताए । व्यवसायी र स्थानीय बासिन्दाले ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन तटबन्ध निर्माणको कामलाई तीव्रता दिनुपर्ने भन्दै उनले सरोकारवालाबीचको सहकार्यका लागि संघले निरन्तर पहल गरिरहने उल्लेख गर्दै बजेटको सुनिश्चितताको लागि संघले पहल गरिरहने बताए ।

सो कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समितिका सदस्य सुमनकुमार श्रेष्ठले नारायणी नदीको तटबन्ध निर्माण गर्दा यस क्षेत्रको सौन्दर्यीकरण र देवघाटधामको पर्यटकीय स्थलको समेत प्रवद्र्धन गर्नुपर्ने बताए ।

छलफलका क्रममा गैँडाकोट र नारायणगढ बजार क्षेत्रका स्थानीय बासिन्दा तथा व्यवसायीहरूले दुवै किनारको सुरक्षाका लागि दुवै किनारमा सन्तुलित र वैज्ञानिक तटबन्ध निर्माण, वर्षायामअगावै जोखिमपूर्ण क्षेत्रमा काम सुरू गर्नुपर्ने, सौन्दर्यीकरण र वातावरणीय सन्तुलन ध्यानमा राखेर संरचना तयार गरिनुपर्ने, योजना कार्यान्वयनका क्रममा स्थानीय तह, प्राविधिक टोली, उद्योग वाणिज्य संघ र प्रभावित क्षेत्रका बासिन्दाबीच नियमित संवाद र अनुगमन संयन्त्र कायम गरिनुपर्नेजस्ता सुझाव पेस गरेका थिए ।

छलफलमा भरतपुर महानगरपालिका वडा नं १ का वडाध्यक्ष केशव महर्जन, पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रा. डा. नरेन्द्रमान शाक्य, इन्फर्मेटिक इन्जिनियरिङ कलेजका ई. अनुप खनाल लगायत प्राविधिकहरु, भरतपुर तथा गैँडाकोटका जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो । कार्यक्रममा प्राविधिक टोलीले यसको विस्तृत सर्भे गरी तयार हुने प्रतिवेदन सवै सरोकारवालाबीच प्रस्तुत गर्ने र सबैले मान्य हुने तवरले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । चितवन उद्योग वाणिज्य संघको पहलमा उक्त सर्भे टोली चितवन आएको हो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरका प्रमुख डा. नारायणप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रम चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गरेका हुन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।