रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाअन्तर्गत स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०८२–०८३ को क्षयरोग कार्यक्रमको कोहर्ट विश्लेषण तथा वार्षिक समीक्षा गरिएको छ । कार्यक्रममा पालिकामा भएका क्षयरोग नियन्त्रणका कार्य, उपलब्धि, चुनौती र आगामी योजनासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो ।
रत्ननगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख माधवप्रसाद पौडेलले स्वागत मन्तव्यसँगै आर्थिक वर्ष २०८२–०८३ मा क्षयरोगका १२९ केस पत्ता लागेकोमा नियमित औषधि सेवनबाट १२० जना निको भएको जानकारी दिए । उनले विभिन्न स्वास्थ्य संस्थामा गरिएको एआई एक्स–रे टिभी स्क्रिनिङ शिविरबाट १० जना क्षयरोगी पत्ता लागेको बताउँदै यस वर्ष पनि समुदायलक्षित एआई एक्स–रे टिभी स्क्रिनिङ शिविर सञ्चालन गर्ने बताए ।
उनले बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा पार्टेबल एआई एक्स–रे मेसिनको प्रयोग गरी विभिन्न उमेर समूहमा स्क्रनिङ क्याम्प सञ्चालन गरी लुकेर रहेका क्षयरोगका बिरामी पत्ता लगाएर उपचारको दायरामा ल्याउन सबै क्षयरोग फोकल पर्सनहरुलाई आग्रह गरे ।
सामाजिक विकास समितिका संयोजक एवम् रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले नेपाल सरकारले सन् २०३० भित्र क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको जनाउँदै उक्त लक्ष्य हासिल गर्न नियमित कोहर्ट विश्लेषण र वार्षिक समीक्षा कार्यक्रम प्रभावकारी हुने बताए ।
उनले राष्ट्रिय लक्ष्यअनुसार आफ्ना स्रोतसाधन प्रयोग गरेर समुदायमा लुकेर रहेका क्षयरोगका बिरामी पत्ता लगाउन १६ वटै वडाका स्वास्थ्यकर्मी तथा मातहतका कर्मचारीबीच एकअर्कामा समन्वय गरी काम गर्न निर्देशन दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत सहजीकरण गरेका ‘जन्त्र नेपाल’ संस्थाका प्रतिनिधि सन्दीप रावलले सबैको साथ र सहयोगबाट क्षयरोगमुक्त अभियानलाई सार्थक बनाउन सकिने बताउँदै समुदायलक्षित क्षयरोग कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । उनले हरेक स्वास्थ्य संस्थाको क्षयरोगको विवरण समयमै अद्यावधिक गराउन सचेत गराए । यस्तै, उनले क्षयरोगको यकिन विवरण समयमै अद्यावधिक गर्न, छुटेका बिरामीको बारेमा तत्काल फलोअप गर्न र सबै सरकारी तथा निजी स्वास्थ्य संस्थासँग समन्वय गरी काम गर्न सुझाव दिए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाभित्रका १६ वटै स्वास्थ्य संस्थाका क्षयरोग फोकल पर्सनहरुले आआफ्ना संस्थाबाट भएका क्षयरोग कार्यक्रम तथा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
स्वास्थ्य शाखाका नवराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका मेसु अङ्कुर पौडेल, १६ वटै स्वास्थ्य संस्थाका क्षयरोग फोकल पर्सन तथा इन्चार्जहरुको सहभागिता रहेको थियो ।








