गैँडाकोट । आगामी पुस २५ गतेदेखि पूर्वी नवलपरासीको गैँडाकोटमा चौथो संस्करणको गैँडाकोट महोत्सव आयोजना हुने भएको छ । उद्योग वाणिज्य संघ गैँडाकोटको आयोजनामा नारायणी नदीकिनारमा हुने महोत्सव पुस २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीलाई तीव्र बनाइएको गैँडाकोट महोत्सवका संयोजक मेघराज कँडेलले जानकारी दिए । उनका अनुसार महोत्सवमा स्थानीय उत्पादनलाई प्रमुख स्थान दिइएको छ । यसले स्थानीय बजारमा सीधा आर्थिक गतिविध बढाउन महत्त्वपूर्ण भूमिका रहने उनले बताए । महोत्सवमा २५० व्यावसायिक स्टल रहनेछन् ।
महोत्सवबाट करिब दुई लाख दर्शकले अवलोकन गर्ने र करिब २५ करोड रूपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उनले बताए । अटोमोबाइल, बैंक तथा वित्तीय संस्था, मोबाइल–इलेक्ट्रोनिक्स, निर्माण सामग्री, हस्तकला, कृषि तथा जडीबुटी, पर्यटन, तयारी पोसाक, जुत्ता–चप्पलदेखि दैनिक उपभोग्य वस्तुसम्मका सामग्री प्रदर्शनमा राखिने छन् ।
कार्यक्रममा प्रमुखअतिथि उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जेनजी आन्दोलनपछि निजी क्षेत्रमा परेको प्रभावलाई पुनःउत्थान गर्न महोत्सवले विशेष भूमिका खेल्ने अपेक्षा लिइएको बताए । जेनजी आन्दोलनमा निजी क्षेत्रमा भएको तोडफोड र आगजनीका कारण उद्योगी–व्यवसायीको मनोबल माथि उठ्न नसकेको र लगानीको वातावरण नभएको बताउँदै आन्दोलनमा घुसपैठ गरी निजी क्षेत्रमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्नुपर्ने बताए ।
गण्डकी प्रदेशको समग्र विकास सम्भावनाको प्रतीकका रुपमा गैँडाकोट महोत्सव रहेको बताउँदै विगतका तीन संस्करण आफ्नै नेतृत्वमा सम्पन्न भएको र चौथो संस्करणलाई पनि सफल र परिणाममुखी बनाउन सबैको उत्तिकै भूमिका रहने बताए । चुनौतीका बाबजुत पनि महोत्सव आयोजना गरिएको भन्दै सञ्चारमाध्यमले गाउँबस्ती र जनजनसम्म सूचना पुर्याएर सहयोग गर्न आग्रह गरे ।
महोत्सवमा सांस्कृतिक तथा साङ्गीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहनेछन् । महोत्सवमा प्रत्येक दिन राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थिति रहने बताइएको छ ।
महोत्सवको प्रवेशद्वारलाई कलात्मक शैलीमा निर्माण गर्ने तयारी गरिएको छ । सुरक्षाका लागि सुरक्षाकर्मीसँगै महोत्सव परिसरभित्र सिसिटिभीमार्फत निगरानी गरिने आयोजकले जनाएको छ ।






