भरतपुर । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम एकेडेमीमा चितवन स्मार्ट स्काउट क्र्युको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी चितवनको सहयोगमा प्राथमिक उपचार तथा सिपिआर तालिम सुरू भएको छ ।
आपत्कालीन अवस्थामा ज्यान बचाउने, चोटपटकलाई गम्भीर हुन नदिई उपचार सहज बनाउने तथा हृदयघात वा श्वास रोकिने अवस्थामा प्रभावकारीरुपमा ‘र्कार्डियोपल्मोनरी रिससिटेसन’(सिपिआर) विधि अपनाउन सक्षम बनाउने उद्देश्यले तालिम सुरू भएको हो । तालिममा अङ्कुरम एकेडेमी र चितवन स्मार्ट स्काउट क्र्युका २४ जना प्रशिक्षार्थीहरु सहभागी छन् ।
तालिममा चितवन स्काउटका पूर्वप्रमुख आयुक्त तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक शिवप्रसाद बराल, नेपाल रेडक्रस सोसाइटी चितवनका तालिम संयोजक चीजकुमार आले, प्रशिक्षकद्वय शारदा पौडेल र नरबहादुर केसीले प्रशिक्षण सञ्चालन गरेका छन् ।
तीन दिनसम्म सञ्चालन हुने कार्यक्रम विद्यालयका आवासीय निर्देशक नइम चौधरीको प्रमुख आतिथ्यता, नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक शिवप्रसाद बरालको सभापतित्वमा उद्घाटन भएको हो । स्काउटर रोभर लिडर आकाश न्यौपानेले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य रेन्जर निर्जला श्रेष्ठले गरेकी थिइन् भने प्रमुखअतिथि चौधरीले कार्यक्रमको सफलताको कामना गरेका थिए ।
तालिमले प्रशिक्षार्थीहरुलाई आकस्मिकरुपमा चोटपटक लाग्दा वा बिरामी पर्दा तात्कालिक र सही प्राथमिक उपचार दिन सक्षम बनाउने, दुर्घटना वा स्वास्थ्यसम्बन्धी आपत्कालीन अवस्थामा ज्यान बचाउने, दुर्घटनामा लागेको चोटलाई थप गम्भीर हुन नदिन र उपचार सहज बनाउन सहयोग पुर्याउने सीपको विकास गर्ने, जोखिम पहिचान, सुरक्षित ढङ्गले सहायता, र मद्दत माग्ने सही प्रक्रिया सिकाउने, हृदयघात वा श्वास रोकिने अवस्था आउँदा शीघ्र र प्रभावकारी सिपिआर विधि सिकाउने, एम्बुलेन्स वा चिकित्सक आइपुग्ने समयसम्मका लागि बिरामीको जीवन बाँच्ने सम्भावना बढाउनेलगायतका सीप सिकाउने विश्वास गरिएको छ ।









