२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

रत्ननगरका तीन उत्कृष्टसहित ६० जना स्वयंसेविका सम्मानित, बिनाकुमारी थारुको बिदाइ

रत्ननगर । २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ को अवसरमा रत्ननगर नगरपालिकाका तीन उत्कृष्ट स्वयंसेविका सम्मानित भएका छन् ।

‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ भन्ने नाराका साथ रत्ननगर नगरपालिकाको आयोजना एवम् जनस्वास्थ्य कार्यालय चितवनको समन्वयमा भएको कार्यक्रममा रत्ननगर–३ का दिलमाया विष्ट, रत्ननगर–५ का अर्चना दुवाडी र रत्ननगर–१६ का अनुराधा सुवेदी सम्मानित भएका हुन् ।

उनीहरुलाई आन्तरिक प्रतिस्पर्धा तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा पुरस्कृत गरिएको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए । उनीहरुलाई जनही तीन हजार रुपैयाँ र प्रमाणपत्रद्वारा उपप्रमुख यादवप्रसाद पाठक र जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले सम्मान गरेका हुन् ।

यस्तै, लामो समयदेखि स्वयंसेविका रहेर योगदान गर्ने रत्ननगर–७ का बिनाकुमारी थारुलाई जनही एक लाख रुपैयाँसहित बिदाइ गरिएको छ । थारु ६० वर्ष उमेर पुगेका कारण स्वतः अवकाश भएकी हुन् । उनलाई बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमार्फत प्रदान गरिएको २० हजार रुपैयाँ जनस्वास्थ्य कार्यालय चितवनले हस्तान्तरण छ ।

यसैगरी, रत्ननगरका १६ वटै वडामा योगदान गर्दै आएका ६० जना महिला सामुदायिक स्वयंसेविकालाई पनि सम्मान गरिएको छ । उनीहरुलाई बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयमार्फत जनही छ हजारका दरले सम्मान गरिएको हो ।

स्वयंसेविकाहरुलाई सम्मान गर्दै नगर उपप्रमुख यादवप्रसाद पाठकले समुदायमा जनचेतना फैलाउँदै सामाजिक कार्यमा अग्रसर हुने स्वयंसेविकाहरु साच्चै सम्मानको हकदार रहेको बताए । उनले भने, ‘सबै मानिसलाई समाजले सम्झँदैन, जसले राम्रो काम गरेको हुन्छ त्यसैलाई सम्झिन्छ ।’ त्यसैले हरेक स्वयंसेविकाहरुले समाजले सम्झने गरी काम गर्न उनले आग्रह गरे । उनले समाजमा नकारात्मक विषयले बढी प्राथमिकता पाउने गरेकोले त्यसलाई चिर्न आवश्यक रहेको बताए ।

सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले समुदायमा रहेर निरन्तर योगदान गर्दै आएका सबै स्वयंसेविकाहरु उत्तिकै सम्मानको हकदार रहेको बताउँदै यसपटक ६० जनामध्ये तीन जनालाई छनोट गरिएको बताए । स्वयंसेविकाहरुले समुदायमा गरेको योगदान कहिल्यै नबिर्सने र अझै उत्कृष्ट कार्य गर्न पुरस्कारले हौसला मिल्ने उनको भनाइ थियो ।

स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै स्वयंसेविकाको योगदानकै कारण सरकारले निर्धारण गरेको लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए । नगरवासीको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन र मातृमृत्युदर, बालमृत्युदरमा कमी ल्याउन पनि स्वयंसेविकाको योगदान अतुलनीय रहेको बताउँदै उनले नगरको स्वास्थ क्षेत्रको मेरुदण्डका रुपमा रहेका स्वयम्सेविकाहरु साँच्चै सम्मानको हकदार रहेको चर्चा गरे ।

कार्यक्रमको सञ्चालन गर्दै स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटाले स्वास्थ्य उपचारबाट कोही पनि वन्चित हुनु नपरोस् भन्नाका लागि रत्ननगर नगरपालिकाले बकुलहर रत्ननगर अस्पताल र भरतपुर अस्पतालमा विपन्न उपचार सहायता कोष स्थापना गरेको बताए । अस्पतालमा स्थापित कोषमार्फत नगरवासी मात्र नभई पूर्वी चितवनका चार पालिकाका जुनसुकै विपन्न नगरवासीले एक हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म निःशुल्क उपचार सेवा लिनसक्ने जानकारी दिए ।

यसैगरी, रत्ननगर नगरपालिकाले विपी मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको उपचारका लागि २५ हजार रुपैयाँ प्रदान गर्दै आएको र रक्तसञ्चार युनिट रत्ननगरमा पनि निःशुल्क ल्याब टेस्टको प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।

कार्यक्रममा कार्यपालिका सदस्य बबिताकुमारी चौधरी, सानु भण्डारी बस्नेत, डा. विवेक मालाकार, नर्सिङ अधिकृत अम्बिका पौडेल, जनस्वास्थ्य निरीक्षक दीपेन्द्र विक, स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्यकेन्द्र प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।