२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

तेल अभिव । इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहेका छन् । उनको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परे ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो लडाइँले हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ । त्यसमा झण्डै आधा महिला र बालबालिका रहेका छन् । हाल गाजाको जनसङ्ख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेको अनुमान गरिएको छ ।

गाजामा हाल ४८ जना बन्धकहरू रहेका छन् । तिनमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ । इजरायली अधिकारीहरूले कम्तीमा २५ जना बन्धक मरेको पुष्टि गरेका छन्, तर बाँकी २० जनामध्ये कति जीवित छन् भन्ने अझै स्पष्ट छैन । तिनै बन्धकमध्ये एक जना नेपाली विद्यार्थी विपिन जोशी पनि छन् । उनलाई जीवित रहेको विश्वास गरिएको छ ।

चौबिस वर्षीय नेपाली युवा विपीन जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुगेका थिए । उनी कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत थिए ।

कार्यक्रमका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाको क्रममा फ्याँकिएका जीवित ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपीन जोशी घाइते भएर अपहरणमा परेका थिए ।

विपीनका परिवारका अनुसार उनी गाजामा जीवित रहनुभएको हुनसक्छ भन्ने विश्वास अझै बलियो छ । उनकी १७ वर्षीया बहिनी पुष्पा जोशीले आफ्ना दाजुको रिहाइका लागि अहोरात्र प्रयास गरिरहेका छन् ।

अधिकारीहरू र कूटनीतिक निकायहरूसँग भेट गरी दाजुको रिहाइका लागि आवाज उठाउन सकियोस् भनेर उनी पश्चिम नेपालको आफ्नो गाउँबाट प्रत्येक हप्ता काठमाडौँ आउन आठ–आठ घण्टाको बस यात्रा गरे ।

गत अगस्टमा जोशी परिवारले राष्ट्रपति आइज्याक हर्जोगलाई भेट्न र तेल अभिवको ‘होस्टेज स्क्वायर’ मा बन्धक परिवारहरूले आयोजना गर्ने प्रदर्शनमा सहभागी हुन इजरायल यात्रा पनि गरेको थियो । उनीहरूले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग पनि जोशीको उद्धारका लागि सक्रिय भूमिका खेल्न आग्रह गर्दै आएका छन् ।

विपीन जोशी अहिले पनि गाजामा जीवित रहेको विश्वास इजरायली अधिकारीहरूले राखेका छन् । उनका साथीहरूले विपीन अध्ययनशील, मिलनसार र सहयोगी स्वभावका युवा रहेको बताएका छन् । विपीनले आफ्नो भविष्य कृषि विकासमा योगदान गर्ने सपनासँग इजरायल यात्रा गरेका थिए ।

इजरायलले युद्धविराम सुरु भएपछि बाँकी रहेका बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गरिने आशा व्यक्त गरेको छ । यसको बदलामा करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी भइरहेको छ ।

विपीनको परिवार भने आशाको झिल्को निभ्न नदिई, दाजु–छोरा फर्किने दिनको प्रतीक्षा गर्दै अझै पनि प्रतीक्षामा छ । परिवारका अनुसार ‘विपीन फर्किनुभयो भने त्यो केवल हाम्रो परिवारको जित होइन, यो नेपाल र मानवताकै जित हुनेछ ।’

इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकहरूको नामावली यस्तो छ :
 
मातान एङ्ग्रेस्ट (२२), गली बर्मन (२८), जिव बर्मन (२८), एल्काना बोबोट (३६), रोम ब्रास्लावस्की (२१), निम्रोद कोहेन (२१), अरिएल कुनियो (२८), डेविड कुनियो (३५), एव्यातार डेविड (२४), गाइ गिलबोआ–दलाल (२४), मक्सिम हार्किन (३७), इटन होर्न (३८), विपीन जोशी (२४), सेगेव काल्फोन (२७), बार कुपरस्टीन (२३), ओमरी मिरान (४८), एटान मोर (२५), तामिर निमरोदी (२०), योसेफ–चेइम ओहाना (२५), एलोन ओहेल (२४), अविनातन ओर (३२) र मातान जाङ्गाउकर (२५) । (रासस/एपी)

भरतपुर । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन चितवन र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई विद्युतीय तथा अन्य सामग्री हस्तान्तरण गरेको छ । हिसान चितवनका अध्यक्ष दीपेन्द्र ढकालले ती सामग्री हस्तान्तरण गरेका हुन् ।

आइतबार शिक्षा विकास तथा समन्वय इकाइ चितवनमा आयोजित एक कार्यक्रममा प्याब्सन चितवन र हिसान चितवनका प्रतिनिधिले डेल ब्राण्डको कम्प्युटर एक थान, ‘थ्री इन वान’ ब्रदर ब्राण्डको प्रिन्टर एक थान र स्टिल दराज एक थान हस्तान्तरण गरिएको हो ।

गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनमा चितवनका थुप्रै सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरिएपछि सेवाग्राहीलाई छरितो सेवा प्रदान गर्ने उद्देश्यले यसअघि नै प्याब्सन चितवनले जिल्ला प्रशासन कार्यालयमार्फत रु। ११ लाख मूल्यबराबरका १० थान कम्प्युटर र प्रिन्टर सहयोग गरेको थियो ।

शिक्षा विकास तथा समन्वय इकाइ चितवनका कार्यालय प्रमुख लक्ष्मण देवकोटाले प्याब्सन चितवनका अध्यक्ष मदन पुरीलाई गरेको आग्रहबमोजिम हिसान चितवनका सचिव दिनेश पुरी र प्याब्सन चितवनका कोषाध्यक्ष नवराज पौडेलको सक्रियतामा ती सामग्री हस्तान्तरण गरिएको प्याब्सन चितवनले जनाएको छ ।

शिक्षाजस्तो संवेदनशील क्षेत्रमा विविध आन्दोलनलगायतका क्रियाकलापबाट सिर्जित हुने अवस्थाले ठूलो हानि पु¥याउने हुनाले सहयोग जुटाएर ती सामग्री प्रदान गरिएको कोषाध्यक्ष पौडेलले जानकारी दिए । ‘विद्यालयहरूको तालुकदार अड्डा भएको र आफूहरूको बारम्बार काम परिरहने हुनाले ती सामग्री हस्तान्तरण गरेका हौँ’, कोषाध्यक्ष पौडेलले भने ।

प्याब्सन चितवनका उपाध्यक्ष कृष्ण भट्ट, सचिव दयानिधि अर्याल, हिसान चितवनका उपाध्यक्ष प्रदीप पौडेललगायतको उपस्थिति रहेका कार्यक्रममा हस्तान्तरित सामग्री ग्रहण गर्दै समन्वय इकाइका कार्यालय प्रमुख देवकोटाले सँगसँगै पुनर्निमाणमा जुट्न र सेवाग्राहीलाई छरितो सेवा प्रवाह गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । आग्रह गरेबमोजिमका सामग्री पाएकोमा खुसी व्यक्त गर्दै उनले प्याब्सन चितवन र हिसान चितवनलाई धन्यवाद ज्ञापन गरेका थिए ।

– अधिवक्ता रमेश काफ्ले

जनकवि धरणीधर कोइरालाको भनाइमा साहित्य समाजको ऐना हो । जसमा समाजका बहुआयामिक पक्षहरू अनुभव, विचार, भावना, कल्पना र जीवनका विविध पक्षहरूलाई सौन्दर्यपूर्ण र सृजनात्मक भाषामा अभिव्यक्त गरिएको हुन्छ । वरिष्ठ पत्रकार वसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’ले पनि नेपालको राजनीतिक विकासक्रम र खासगरी चितवनको राजनीतिका अतिरिक्त सामाजिक, आर्थिक, पर्यापर्यटन, वातावरणका अतिरिक्त बसाइँसराइ र यसका प्रभावहरूलाई अत्यन्त सरल, सहज किसिमबाट उजागर गर्न सफल भएको छ ।

व्यक्तिव्यक्ति मिलेर समाजको निर्माण भएको हुन्छ भने समाजले व्यक्तित्व निर्माण गर्दछ । समाजको सदस्यको रूपमा व्यक्तिले अनेकौँ भूमिका निर्वाह गरेको हुन्छ । जब कुनै व्यक्तिले समाजलाई कसरी अगाडि बढाउने र समाजको परिवर्तनमार्फत नयाँ संसारको परिकल्पना गर्दछ त्यसलाई नै वास्तवमा नेता मानिन्छ । नेता त्यो हो, जसले असामान्य परिस्थितिमा सामान्य तरिकाले असामान्य समस्याको सामान्य समाधान निकाल्न सक्छ । सामान्य परिस्थितिमा जो कसैले पनि काम गर्न सक्छ तर सामान्य नागरिकले गरेभन्दा भिन्न र सहज तरिकाले जुनसुकै समस्याको पनि हल गर्न सकेमात्रै व्यक्ति वास्तविक नेता ठहरिन्छ । यसलाई पुस्तौँपुस्तासम्म सफल नेतृत्वदायी व्यक्तिका रूपमा सम्झिन्छ ।

भनिन्छ, इतिहास जित्नेहरूको मात्र लेखिन्छ र हारेकाहरूको खोजी तथा लेखन साहित्यका विभिन्न विधाहरूबाट प्रस्फुटन भएको हुन्छ । बखानसिंह गुरुङ राजनीतिक नेताको अतिरिक्त एक सामाजिक अभियन्ताका रूपमा उक्त कालखण्डमा स्थापित व्यक्ति हुन् । बखानसिंह सफल भए वा भएनन् उहाँले जिते वा जितेनन् छुट्टै बहसको बिषय होला तर उहाँको जीवनभरको लडाइँ विचार आदर्शले जितेका कारण नै अहिलेको पुस्ताले प्रजातन्त्र ९लोकतन्त्र०को भरपूर उपयोग गर्न पाएको छ । जीवनको उतराद्र्धमा राजनीतिक रूपमा नेपाली कांग्रेसको मूलधार छाडेकाले कांग्रेसको इतिहासमा उहाँको नाम छाया परे पनि वा पारिए पनि उहाँको समग्र जीवन र त्याग तपस्यालाई नयाँ पुस्ताका माझ सशक्त रूपमा उजागर गरिदिन बखान उपन्यास सफल भएको छ ।

जीवनका घटनाहरूका बारेमा प्रत्यक्ष संलग्न भई सूचना सङ्कलन गरी जीवन इतिहास तयार पारिन्छ । बखानसिंह गुरुङको जीवनका विविध पक्षहरूलाई कल्पना र यथार्थको संयोजनद्वारा पराजुलीले सिङ्गो बखानको सृजना गरेको पाइन्छ । पराजुलीले आफैँ बखानसिंह गुरुङसँग साक्षात्कार गर्न पक्कै पाएनन् होला तर उनको जीवनीका बारेमा अध्ययन, अनुसन्धान गरी नाति पात्र खडा गरी हजुरबुबाकै डायरीबाट लेखिएका विषय प्रसङ्गको रूपमा जुन परिदृष्य खडा गरी लमजुङबाट राजनीतिक यात्राको सुरुआतसँगै चितवनको बसाइँसराइ, गुरुङ समुदायको प्रचलनहरू, चितवनको कांग्रेस राजनीति, भारतमा निर्वासित जीवन, पारिवारिक अवस्था, थारू समुदायका रीतिरिवाज, परम्परा, संस्कारहरूलाई सशक्त रूपमा देखाउन सफल भएका छन् ।

जीवन इतिहासले व्यक्तिको व्यक्तिगत ऐतिहासिक पक्षको अध्ययन गर्दछ । एउटा व्यक्तिको जीवनकहानीबाट नै समाजको समग्र इतिहासको प्रतिनिधित्व गर्न वा गराउन सक्नुपर्दछ जुन कुरामा स्रष्टा पराजुली सफल भएका छन् । समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, मनोविज्ञानको अनुसन्धान पद्धतिमा जीवन इतिहास सशक्त माध्यमका रूपमा रहे पनि पराजुलीले साहित्यको माध्यमबाट उक्त पद्धतिलाई अवलम्बन गरेका छन् । कुनै पनि घटनाको सुरुआत वा सृजना हुनुमा विगतमा भए÷गरेका घटना प्रक्रिया, सामाजिक, सांस्कृतिक अवस्था, राजनीतिक र भौगोलिक धरातलको अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । यसैले आजको विद्यमान समाज र संस्कृति जान्नका लागि वा विश्लेषण गर्नका लागि विगतको सामाजिक संरचना, प्रभाव र परिवर्तनलाई बुझ्नु जरुरी छ ।

आजको नयाँ पुस्ताले आफ्नै संस्कृति बिर्सँदै गएको अवस्था रहेको छ । गुरुङ, थारू, नेवारलगायतका जातजातिको रैथाने भाषा, शब्दावली, परम्परा, संस्कारहरूलाई उपन्यासकार पराजुलीले उपन्यासमा जीवन्त रूपमा प्रस्तुत गरेका छन् । थारू समुदायमा फागुपूर्णिमामा गाइने फगुवा गीत, नेवार समुदायको गाईजात्रा र रामायण निकाल्ने परम्परा तथा गुरुङ समुदायको मृत्यु संस्कार, देवघाटको महत्व र सोमेश्वरको आध्यात्मिक पक्षजस्ता विषयहरूको गहिराइमा पुगेर गरिएको प्रस्तुति सोही समुदायका नयाँ पुस्तालाई मात्र होइन समाज र संस्कृतिको ज्ञान लिन चाहने अध्येताहरूका लागि समेत महत्त्वपूर्ण स्रोतका रूपमा रहन सक्ने अवस्था रहेको छ ।

कुनै समयमा घटेका वास्तविक घटना नै पछि गएर इतिहास बन्दछन् । सरल, प्रभावकारी र जीवन्त भाषामा लेखिएको यस उपन्यासमा बखानसिंह र उहाँको परिवारलाई पात्रको रूपमा लिई जन्मदेखि मृत्युपर्यन्त सम्पूर्ण पक्षको अध्ययन र जानकारी प्रस्तुत गरिएको छ । चितवनको वर्तमान समाजको स्वरुप किन, कसरी, कहिलेबाट, केकस्तो आर्थिक, सामाजिक राजनीतिक, सांस्कृतिक, पृष्ठभूमिबाट विकसित भएको भन्ने विषयलाई बखान उपन्यासले प्रष्ट पारेको छ । कार्यकारण सम्बन्ध र प्रभावलाई सुक्ष्म रूपमा एक पात्रको माध्यमबाट विश्लेषण गरिएको छ । पहाडबाट बसाइँसराइका आयामहरू, निकुञ्ज स्थापनाकालका जटिलताहरू, चितवनको बस्ती विकासका विविध पक्षहरूलाई प्रष्टसँग देखाइएको छ । कसैको विचार, भावना, दृष्टिकोणलाई काल्पनिक पात्र खडा गरी प्रस्तुति गरिए पनि पराजुलीको बखान उपन्यासमा कुन कुरा वास्तविक तथ्य हो र कुन काल्पनिकता हो भनी छुट्याइ हेर्न मुस्किल रहेको छ ।

नेपालमा सहकारी अभियानलाई सुरुआत गराउने व्यक्तिको सीमित परिचय पाएका बखानसिंह गुरुङका राजनीतिक सामाजिक पाटाहरूलाई समेत केलाउने प्रयत्न गरिएको छ । बखान उपन्यासले नयाँ लेखकहरू तथा अध्येताहरूलाई समाजमा गुमनाम हुन पुगेका व्यक्तित्वहरूको खोज, अनुसन्धानमा प्रेरित गरेको छ । जुन घटनालाई अवलोकन गर्न वा प्रत्यक्ष साक्षात्कार गर्न सकिँदैन त्यस्ता घटनाहरूलाई वैयक्तिक अध्ययनबाट उजागर गर्न सकिन्छ । यस खालका पढ्नमा सरल कृतिहरूबाट समाज र राजनीतिको इतिहास खोजतर्फ नयाँ पुस्तालाई आकर्षित गराउने कुरामा कुनै सन्देह हुन सक्दैन ।

राजनीति भनेको राज्य सरकार वा राजनीतिक दलमात्र होइन । एउटा परिवार र समुदाय र त्यसभित्र रहेका परिवार र समुदायको सर्वाङ्गिण विकासका लागि गरिने व्यवहार, शक्तिसम्बन्ध, निर्देशन, आदर्श तथा कार्यप्रणालीहरू सबैलाई राजनीतिक संस्थाको रूपमा मान्नुपर्ने हुन्छ । तत्कालीन चितौने समाजको शक्ति संरचना, राजनीतिक, सामाजिक जीवन र द्वन्द्वलाई आदिवासी थारू समुदायका माध्यमबाट उजागर गर्न खोजिएको छ ।

एउटै कृतिका माध्यमबाट गुरुङ, नेवार, थारू, बाहुनलगायत समुदायको सामाजिक, सांस्कृतिक पक्षहरूको उजागर गर्नुका साथै राजनीति, वन्यजन्तु र पर्यापर्यटनको महत्व, बसाइँसराइ र त्यसको प्रभाव, तत्कालीन राजा महेन्द्रको राजनीतिक तथा वैयक्तिक पारिवारिक जीवन, चितवनको बस्ती विकास, देवघाट सोमेश्वर नारायणीजस्ता पवित्र तीर्थस्थलहरूको परिचय, चीन र भारतसँगको नेपालको भूराजनीतिक धरातलीय अवस्थाका सम्बन्धका बारेमा खोज विश्लेषण गरिएको छ र त्यसमा सशक्त तरिकाबाट साहित्यिक लेपन लगाइएको छ ।

उपन्यास भन्नासाथ मायाप्रेमका सुखान्त र दुःखान्तका पक्षहरूमा बढी पाठकको ध्यान जानु स्वाभाविक हो । स्रष्टा पराजुलीले यस उपन्यासमा हात्ती, गैडाजस्ता जनावरको सहवास वा यौनक्रिडालाई प्रस्तुत गरी त्यो मिठास दिने प्रयास गरिएको छ । कताकता हात्ती, गैडाको उदाहरण दिई प्राकृतिक रूपमा नै पोथीभन्दा भाले शक्तिशाली हुन्छ भन्ने सन्देश दिन खोजेको आभास पनि उपन्यासमा पाइन्छ । बहुविवाह गरी चितवन र काठमाडौँमा दुई घरबार बसालेका पात्र बखानसिंह गुरुङबाट सो कार्यको बचाउ गर्न खोजिएको छ ।

गुरुङ समुदायको मृत्यु संस्कारबाट विषयवस्तुको उठान गरी थारू समुदायको भताही संस्कारबाट उपन्यासको सांस्कृतिक पाटोलाई बिट मार्न खोजिएको छ । उपन्यासको पछिल्लो भाग पढ्दै जाँदा भने साहित्यिक उपन्यासभन्दा पनि वैयक्तिक जीवनी पढेको आभास बढी हुन्छ । उपन्यासले गुरुङ परिवारको महत्त्वपूर्ण पात्र मनकुमारीको देहान्तसम्म पुगे पनि स्वयं बखानसिंह गुरुङको अन्त कहिले र कसरी भयो तथा सर्वस्वहरणमा परेको सम्पत्तिको पुनः प्राप्ति भयोरभएन, रुग्ण अवस्थामा रहेको सहकारीलाई कसरी पुनर्संरचना गरियो भन्ने कुराको जानकारी अधुरै छाडेको छ । गुरुङले दुईपटकसम्म न्याय तथा कानुनमन्त्रीको जिम्मेवारी लिएको देखिन्छ । उहाँले मन्त्री जीवनमा गरेका कार्य वा चितवनको न्यायिक इतिहासमा तत्कालीन नेतृत्वको कुनै भूमिका रह्यो वा रहेन भन्ने विषयमा समेत मौनता रहेको पाइन्छ । चितवनले नसम्झेको पात्र बखानसिंह गुरुङलाई पुराना पुस्तामाझ स्मरण गराउन र नयाँ पुस्तामाझ परिचित गराउन सफल प्रस्तुत बखान उपन्यासको ‘कभर डिजाइन’ वा कहीँकतै बखानसिंह गुरुङको वास्तविक तस्बिर पनि राखिदिएको भए विषयगत रूपमा अझै जीवन्त हुन सक्थ्यो होला ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।