चितवन । उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । आगामी पुस २१ गते हुन लागेको संघको ५९औँ साधारण सभा तथा अधिवेशनका सन्दर्भमा नयाँ नेतृत्वको लागि चिरञ्जीवी सुवेदी र शिरिष पन्तले अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । संघको वर्तमान वरिष्ठ उपाध्यक्ष सुवेदी र युवा व्यवसायी पन्त आमने–सामने भएका हुन् ।
उवासंघ चितवनमा कसले बाजी मार्ला भन्ने चासो उद्योगी–व्यवसायीमा बढेको छ । दुवै प्रत्याशीले आआफ्नो घोषणापत्रसमेत सार्वजनिक गरिसकेका छन् । पन्त यसअघि संघको वर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठसँग पराजित भएका थिए ।
अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका सुवेदीले चितवनको व्यावसायिक उत्थानका लागि एउटा नयाँ ऊर्जा, परिणाममुखी नेतृत्व र सुदृढ संस्थागत संरचना निर्माण गर्ने संकल्प लिएको बताएका छन् ।
संस्थाको गरिमालाई उच्च राख्दै चितवनको व्यावसायिक भविष्य सुनिश्चित गर्न संघको अध्यक्षमा आफ्नो उमेदवारी रहने उनको भनाइ छ । उनले भने, ‘मेरो नेतृत्वमा संघ अझ गतिशील, हरेक व्यवसायीको पीडामा मलहम लगाउने र नीतिगत तहमा सशक्त पैरवी गर्ने संस्था बन्ने विश्वास लिएको छु ।’
विसं २०६० सालदेखि संघमा आबद्ध रहेका सुवेदी कार्यसमिति सदस्य, तृतीय उपाध्यक्ष, द्वितय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै हाल वरिष्ठ उपाध्यक्ष छन् । संस्थाको वित्तीय अनुशासन र पारदर्शिताका लागि आफू संघको प्रथम उपाध्यक्ष हुँदा संघको मासिक आम्दानी–खर्चलाई कार्यसमितिबाट अनिवार्य रूपमा अनुमोदन गर्नुपर्ने व्यवस्था मिलाएको उनले दाबी गरेका छन् ।
यस्तै, अध्यक्षका अर्का प्रत्यासी पन्तले आफ्नो उमेदवारी व्यक्तिगत महत्त्वाकाङ्क्षा नभई सबै व्यवसायीको साझा आवाज भएको बताउँदै थकित बजारको पीडा सुन्न र समाधान खोज्न आफूमा साहस रहेको बताएका छन् । उनले भने, ‘म केवल पदको लागि होइन, नयाँ सोच, सशक्त युवा नेतृत्व र पारदर्शी नेतृत्वको लागि व्यवसायीको विश्वास माग्न चाहन्छु ।’
आफू नेतृत्वमा आएपछि संघको पदाधिकारीमा कम्तीमा एक जना महिला व्यवसायीको प्रतिनिधित्व अनिवार्य गर्ने उनको भनाइ छ । बजार व्यवस्थापन सुधार, डिजिटल सदस्य सेवा, व्यवसायी सुरक्षा सुनिश्चितता र स्थानीय उत्पादन प्रवर्द्धन आफ्नो मुख्य प्राथमिकतामा रहेको उनले बताए ।
यस्तै, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र आइटीजस्ता क्षेत्रलाई जोड्दै व्यवसाय र समाज दुवैलाई सशक्त बनाउने लक्ष्य लिएको उनको भनाइ छ । जिल्लाका व्यवसायीको पसिना र लगानीले चितवनको अर्थतन्त्र धानेको जिकिर गर्दै उनले विगत केही वर्षयता बजारहरु अव्यवस्थित र असन्तुलित हुँदै गएकोले यसलाई व्यवस्थित र सन्तुलित बनाउन आफूले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको बताए ।






