भरतपुर । भरतपुर–१, पशुपति मन्दिरपछाडि नारायणी नदीकिनारमा खुट्टा धुनेक्रममा चिप्लिएर आमाछोरा नदीमा बेपत्ता भएका छन् ।
खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर–१२, मुनालचोकमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रसिद्ध पौडेल बेपत्ता भएका हुन् । उनकी ११ वर्षीया छोरी प्रसिद्धि पौडेललाई प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रसिद्धिको अवस्था सामान्य छ ।
नदीमा छोरा चिप्लिएर लडेपछि आमा बचाउन जानेक्रममा दुवै बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको छ ।
वडा प्रहरी कार्यालय नारायणगढले विपद् उद्धार टोलीसँग समन्वय गरेर छोरी प्रसिद्धिलाई उद्धार गरेको हो । बेपत्ता सिर्जना र उनका छोरा प्रसिद्धको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।










