माडी । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित यसवर्षको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न योगदान पुर्याउने भरतपुरस्थित अङ्कुरम् एकेडेमीका विषयगत शिक्षकहरु सम्मानित भएका छन् । शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन तथा ‘ए प्लस’ ग्रेड हासिल गर्ने विद्यार्थीको सङ्ख्या उल्लेख्य बनाउन भूमिका निर्वाह गरेका शिक्षकहरूलाई एक कार्यक्रमबीच सम्मान गरिएको हो ।
माडी–६, स्याउलीबासस्थित हिमचुली नेचर फार्मस्टेमा आयोजित कार्यक्रममा माडी–६ का वडाध्यक्ष तथा नगरपालिकाको सामाजिक विकास समिति संयोजक दीपेन्द्र पौडेलले उत्कृष्ट नतिजाका लागि योगदान पुर्याउने शिक्षकहरूलाई सम्मान गरेका हुन् । वडाध्यक्ष पौडेल र विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलले संयुक्तरूपमा शिक्षकहरूलाई खादा तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष पौडेलले विद्यार्थीको शैक्षिक सफलता कुनै एक पक्षको प्रयासबाट मात्र सम्भव नहुने बताए । विद्यार्थीको मेहनत, अभिभावकको सहयोग, शिक्षकको समर्पण र विद्यालयको प्रभावकारी व्यवस्थापनबीचको समन्वयले नै उत्कृष्ट नतिजा हासिल गर्न सकिने उनको भनाइ थियो । उत्कृष्ट नतिजाका लागि निरन्तर मेहनत र जिम्मेवारीपूर्वक शिक्षण कार्यमा संलग्न शिक्षकहरूलाई उनले बधाई तथा शुभकामना व्यक्त गरे ।
वडाध्यक्ष पौडेलले सम्मानित शिक्षकहरूलाई आगामी दिनमा अझ प्रभावकारी शिक्षण अभ्यास अपनाउँदै शैक्षिक उपलब्धिको स्तर थप उकास्न उनले आग्रह गरे । युवा शिक्षकहरूको ऊर्जा, लगनशीलता र प्रतिबद्धताले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वाससमेते व्यक्त गरे ।
सम्मानित हुने शिक्षकहरूमा सोनु अर्याल, सुम एन. खनाल, ई. तेज अर्याल, विज्ञान शर्मा, रवि पौडेल, दिनेश घिमिरे, सरोज दवाडी, सङ्कल्पजङ्ग राणा, सोनियासिंह ठकुरी र रोशन चौधरीलगायत रहेका छन् । उत्कृष्ट नतिजामा योगदान पुर्याउने शिक्षकहरूको सम्मानले उनीहरूलाई थप प्रेरित गर्नुका साथै आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि अझ जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
यसवर्षको कक्षा १२ को परीक्षामा अङ्कुरम् एकेडेमीबाट ११५ जना विद्यार्थी सहभागी भएका थिए । नियमित परीक्षामा ९७.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने मौका परीक्षासमेतको नतिजा समेट्दा विद्यालयका शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका हुन् । नियमित परीक्षामा उच्च उत्तीर्ण प्रतिशत हासिल हुनुका साथै ‘ए प्लस’ ग्रेड प्राप्त गर्ने विद्यार्थीको सङख्या उल्लेख्य हुनुले विद्यालयको शैक्षिक उपलब्धिलाई थप मजबुत बनाएको र जिल्लामै यसवर्षको नतिजामा विद्यालय उत्कृष्ट भएको प्राचार्य सुमन पौडेलले जानकारी दिए ।










