२०८३ आश्विन ३० शुक्रबार
२०८३ आश्विन ३० शुक्रबार

चितवन । निर्माण क्षेत्रको प्रवर्द्धन, घरजग्गा कारोबारलाई चलायमान बनाउने तथा स्वदेशमै लगानी र व्यवसायका अवसर सिर्जना गर्ने उद्देश्यले चितवनमा दोस्रो ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ । भिग्रुप इभेन्ट्स र एसवन होम्सको आयोजनामा आगामी मङ्सिर २५ देखि २७ गतेसम्म (डिसेम्बर ११ देखि १३, २०२६) भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा एक्स्पो सञ्चालन हुनेछ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पो संयोजक विपिन कँडेलले पछिल्लो समय आर्थिक मन्दी, युवाको विदेश पलायन तथा लगानीमैत्री वातावरणको अभावलगायतका कारण घरजग्गा कारोबार सुस्ताएको बताए । निर्माण क्षेत्रको सम्भावनालाई उपयोग गर्दै आर्थिक गतिविधि बढाउने र घरजग्गा व्यवसायलाई पुनः गति दिने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा देशभरका घरजग्गा व्यवसायी, निर्माण कम्पनी तथा निर्माण सामग्रीसम्बन्धी प्रदर्शकका करिब ६० वटा स्टल रहनेछन् । आयोजकले एक्स्पोमा करिब २५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको छ। प्रदर्शकका लागि स्टल बुकिङसमेत सुरू भइसकेको आयोजकले जनाएको छ। एक्स्पोमा सहभागी हुन सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

एक्स्पोमा घरजग्गा खरिदकर्ता र बिक्रेताबीच प्रत्यक्ष भेटघाट तथा अन्तर्क्रियाको अवसर प्रदान गरिनेछ । साथै, निर्माण कम्पनी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, घरजग्गा व्यवसायी, इन्जिनियर, सरकारी निकायका प्रतिनिधि, विज्ञ र उपभोक्तालाई एउटै मञ्चमा ल्याएर परामर्श, अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन गरिनेछ ।

घर निर्माण अधिकांश मानिसका लागि जीवनकै महत्त्वपूर्ण निर्णयमध्ये एक भए पनि पर्याप्त जानकारीको अभावमा लागत र समय बढ्ने तथा निर्माणको गुणस्तरमा समस्या आउन सक्ने आयोजकको भनाइ छ ।

यसलाई ध्यानमा राख्दै एक्स्पोमा आधुनिक निर्माण सामग्री, घरको डिजाइन, निर्माण प्रविधि, सरकारी मापदण्ड तथा सुरक्षित आवाससम्बन्धी जानकारी उपलब्ध गराइनेछ । घर निर्माण गर्न चाहने सर्वसाधारणले विभिन्न सामग्री, प्रविधि र सेवाबारे जानकारी लिएर आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त विकल्प छनोट गर्न सक्ने अपेक्षा गरिएको छ ।

पछिल्ला वर्षमा विभिन्न स्थानमा भएका बाढीपहिरोलगायत प्राकृतिक विपद्ले सुरक्षित आवासको आवश्यकतालाई थप उजागर गरेको छ। यस्तो अवस्थामा सुरक्षित, गुणस्तरीय र किफायती आवास निर्माणबारे जानकारी दिन एक्स्पो उपयोगी हुने आयोजकको विश्वास छ।

एक्स्पोले निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायीलाई आफ्ना उत्पादन तथा सेवा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्नेछ । त्यस्तै, निर्माण सामग्रीका उत्पादक, निर्माण कम्पनी तथा घरजग्गा व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

देशभित्रै उपलब्ध सम्भावना र अवसरलाई उजागर गर्दै युवालाई स्वदेशमै उद्यम तथा व्यवसाय गर्न प्रोत्साहित गर्नु एक्स्पोको अर्को उद्देश्य रहेको आयोजकले जनाएको छ ।

चितवनको भौगोलिक अवस्थिति र निर्माण क्षेत्रमा रहेको सम्भावनालाई उपयोग गर्दै घरजग्गा कारोबार विस्तार गर्न तथा आर्थिक गतिविधि बढाउन एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।

निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, विद्यार्थी, उपभोक्ता तथा सर्वसाधारणले एक्स्पोबाट लाभ लिन सक्नेछन् । सरकारी निकाय, निजी क्षेत्र, निर्माण व्यवसायी र सर्वसाधारणबीच सहकार्य बढाउँदै सुरक्षित, गुणस्तरीय र किफायती आवास निर्माणलाई प्रोत्साहन गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार एक्स्पोले निर्माण क्षेत्रको विकास, घरजग्गा व्यवसायको प्रवर्द्धन तथा देशभित्रै आर्थिक अवसर सिर्जना गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले चितवनमा पर्वका रुपमा आयोजना हुने ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघले हातेमालो गर्दै सहजीकरण गर्न तयार रहेको बताए ।

माडी । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित यसवर्षको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न योगदान पुर्‍याउने भरतपुरस्थित अङ्कुरम् एकेडेमीका विषयगत शिक्षकहरु सम्मानित भएका छन् । शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन तथा ‘ए प्लस’ ग्रेड हासिल गर्ने विद्यार्थीको सङ्ख्या उल्लेख्य बनाउन भूमिका निर्वाह गरेका शिक्षकहरूलाई एक कार्यक्रमबीच सम्मान गरिएको हो ।

माडी–६, स्याउलीबासस्थित हिमचुली नेचर फार्मस्टेमा आयोजित कार्यक्रममा माडी–६ का वडाध्यक्ष तथा नगरपालिकाको सामाजिक विकास समिति संयोजक दीपेन्द्र पौडेलले उत्कृष्ट नतिजाका लागि योगदान पुर्‍याउने शिक्षकहरूलाई सम्मान गरेका हुन् । वडाध्यक्ष पौडेल र विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलले संयुक्तरूपमा शिक्षकहरूलाई खादा तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष पौडेलले विद्यार्थीको शैक्षिक सफलता कुनै एक पक्षको प्रयासबाट मात्र सम्भव नहुने बताए । विद्यार्थीको मेहनत, अभिभावकको सहयोग, शिक्षकको समर्पण र विद्यालयको प्रभावकारी व्यवस्थापनबीचको समन्वयले नै उत्कृष्ट नतिजा हासिल गर्न सकिने उनको भनाइ थियो । उत्कृष्ट नतिजाका लागि निरन्तर मेहनत र जिम्मेवारीपूर्वक शिक्षण कार्यमा संलग्न शिक्षकहरूलाई उनले बधाई तथा शुभकामना व्यक्त गरे ।

वडाध्यक्ष पौडेलले सम्मानित शिक्षकहरूलाई आगामी दिनमा अझ प्रभावकारी शिक्षण अभ्यास अपनाउँदै शैक्षिक उपलब्धिको स्तर थप उकास्न उनले आग्रह गरे । युवा शिक्षकहरूको ऊर्जा, लगनशीलता र प्रतिबद्धताले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वाससमेते व्यक्त गरे ।

सम्मानित हुने शिक्षकहरूमा सोनु अर्याल, सुम एन. खनाल, ई. तेज अर्याल, विज्ञान शर्मा, रवि पौडेल, दिनेश घिमिरे, सरोज दवाडी, सङ्कल्पजङ्ग राणा, सोनियासिंह ठकुरी र रोशन चौधरीलगायत रहेका छन् । उत्कृष्ट नतिजामा योगदान पुर्‍याउने शिक्षकहरूको सम्मानले उनीहरूलाई थप प्रेरित गर्नुका साथै आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि अझ जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

यसवर्षको कक्षा १२ को परीक्षामा अङ्कुरम् एकेडेमीबाट ११५ जना विद्यार्थी सहभागी भएका थिए । नियमित परीक्षामा ९७.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने मौका परीक्षासमेतको नतिजा समेट्दा विद्यालयका शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका हुन् । नियमित परीक्षामा उच्च उत्तीर्ण प्रतिशत हासिल हुनुका साथै ‘ए प्लस’ ग्रेड प्राप्त गर्ने विद्यार्थीको सङख्या उल्लेख्य हुनुले विद्यालयको शैक्षिक उपलब्धिलाई थप मजबुत बनाएको र जिल्लामै यसवर्षको नतिजामा विद्यालय उत्कृष्ट भएको प्राचार्य सुमन पौडेलले जानकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।