रत्ननगर । रत्ननगर–१६ वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीको आयोजनामा सुत्केरी आमा तथा नवजात शिशुलाई पौष्टिक आहार वितरण गरिएको छ ।
स्वास्थ्य संस्थामा नियमित गर्भवती जाँच तथा सुत्केरी जाँच गराउने आमाहरूलाई लक्षित गरी नौनी, अण्डा, मह, दाल, गेडागुडी तथा सरसफाइका सामग्री वितरण गरिएको पिठुवा स्वास्थ्यचौकीका प्रमुख नरहरि श्याम शर्माले जानकारी दिए ।
कार्यक्रममा वडाध्यक्ष हेमराज थापाले गर्भवती तथा सुत्केरी आमाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनुका साथै आमा र शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए ।
उनले नियमित स्वास्थ्य जाँच गराउने बानीको विकास गर्दै आमा तथा नवजात शिशुको स्वास्थ्यप्रति सचेतना बढाउन वडाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सुत्केरी अवस्थाको समयमा पोषणयुक्त आहारको महत्त्वबारे सिनियर अनमी निरीक्षक गीता रायमाझीले जानकारी गराएकी थिइन् । कार्यक्रममा वडा सदस्यहरु ज्ञानेन्द्र रेग्मी, चिजकुमार श्रेष्ठ, सरिता गुरूङ, वडा सचिव प्रमिला आचार्य, पिठुवा स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक रोशन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।












