
भरतपुर । पाँच दशकभन्दा बढी समयपछि परिमार्जन हुन लागेको शिक्षा ऐनसँगै पाठ्यक्रमसमेत समयसापेक्ष बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
सोमबार शिक्षा मन्त्रालयको साझेदारीमा भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा आयोजित शिक्षा संवाद–२ अन्तर्गत ‘शिक्षाका सरोकारवालाहरूसँग बागमती प्रदेशस्तरीय छलफल कार्यक्रम’का सहभागीहरूले शिक्षा ऐन विद्यार्थीकेन्द्रित, व्यावहारिक र गुणस्तरीय हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालय सञ्चालक र प्याब्सन, एन–प्याब्सन, हिसान, अपेन, मन्टेश्वरी एसोसिएसनलगायतका संस्थाका प्रतिनिधिहरूले शिक्षा ऐन संशोधनका विषयमा धारणा राखेका थिए ।
विधेयक मस्यौदा समितिका संयोजक शैलेन्द्र झाले तीनै तहका सरकारबीच नीतिगत तादम्यता कायम गर्नुपर्ने बताए । उनका अनुसार प्रत्यक्ष तथा अनलाइन माध्यमबाट करिब ३५ हजार र डेढ लाख सुझाव प्राप्त भएका छन् । ती सुझावको सूक्ष्म अध्ययन गरी मस्यौदामा समावेश गरिने उनले बताए । संशोधित ऐनले विगतका अनुभव, वर्तमानका आवश्यकता र भविष्यका चुनौतीलाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै उनले समुदायबाट प्राप्त सुझावसमेत समेटिने बताए ।
विज्ञहरुबीचको प्यानल छलफलमा शिक्षामन्त्रीका राजनीतिक सल्लाहकार सरोज गौतमले कार्यक्रममा उठेका महत्त्वपूर्ण विषयलाई मस्यौदामा समावेश गरी संसद्मा पेस गरिने बताए । शिक्षा विकास तथा समन्वय इकाइ, चितवनका प्रमुख कृष्णचन्द्र पोखरेलले सङ्घीय र स्थानीय शिक्षा नीतिबीच समन्वय आवश्यक रहेको बताए ।
वरिष्ठ शिक्षाविद् प्रा.डा. कपिलदेव सुवेदीले ८० प्रतिशत विद्यार्थी ‘होल्ड’ गर्ने सामुदायिक विद्यालयले अहिले ६८ प्रतिशतमात्र ‘होल्ड’ गरिरहेको परिप्रेक्ष्यमा विद्यार्थीको आकर्षण घट्दै जानु सार्वजनिक नीतिको असफलतासँग सम्बन्धित रहेको उल्लेख गर्दै शिक्षाको गुणस्तर सुधारका लागि शिक्षामा लगानी बढाउनुपर्ने बताए ।
प्याब्सनका केन्द्रीय महासचिव आर.बी. कटुवालले कक्षा ८ देखि १२ सम्मको शिक्षालाई सीप, संस्कृति र प्रविधिमैत्री बनाउनुपर्ने तथा नेपाललाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न ऐनमै आवश्यक व्यवस्था गर्नुपर्ने बताए । हिसानका केन्द्रीय महासचिव रामहरि सिलवालले विद्यालयलाई स्वायत्तता दिँदै नैतिकवान् र आत्मनिर्भर विद्यार्थी उत्पादनमा ध्यान दिनुपर्ने बताए । एन–प्याब्सनका केन्द्रीय महासचिव प्रकाश खड्काले आधारभूत तहमा नैतिक शिक्षा, भूगोल र पूर्वीय सभ्यतासँगै पश्चिमी संस्कृतिको समुचित अध्ययन समेट्नुपर्ने बताए ।
विद्यार्थी प्रतिनिधि एन्जल न्यौपानेले आफूले भविष्यमा आवश्यक पर्ने शैक्षिक अवसर र पाठ्यक्रमबारे कक्षा ११ मा भर्ना भएको चार महिनापछि थाहा पाएको बताउँदै शैक्षिक परामर्शको आवश्यकता औँल्याइन् । ‘मेरो बुबाले ४० वर्षअघि पढेको कुरा अहिले मैले पढिरहेको छु’, उनले भनिन्, ‘शिक्षा ऐन संशोधन हुँदै गर्दा पाठ्यक्रम पनि भविष्यका लागि उपयोगी बनाउनुपर्छ ।’
अर्का विद्यार्थी दिग्विजय कुँवरले मूल्याङ्कनन प्रणालीमा व्यावहारिक पक्ष कमजोर रहेको बताए भने आयुष्मा तिवारीले कम्प्युटर र एकाउन्टजस्ता विषयलाई पूर्णतः व्यावहारिक बनाउनुपर्ने धारणा राखिन् । संस्कार रिमालले दुईदिने बिदाले सिकाइमा असर पार्ने भन्दै पाठ्यक्रम परिमार्जन वा अन्य बिदा कटौती गर्नुपर्ने बताए । छात्रा सजिना खड्काले विद्यालय तहमा नैतिक शिक्षाको आवश्यकता औँल्याइन् भने कुशल पौडेलले सिकाइभन्दा ग्रेडमा बढी ध्यान दिइने प्रवृत्तिले शिक्षाको प्रभावकारिता घटाएको बताए ।
अभिभावक संघ चितवनका अध्यक्ष सूर्यकान्त न्यौपानेले नीतिगत कमजोरी, स्थानीय सरकार र नगर शिक्षाबीचको असमझदारी, विद्यालय तथा अभिभावकबीच समन्वयको अभाव र कमजोर अनुगमनलाई शिक्षाका प्रमुख समस्याका रूपमा औँल्याए । अभिभावक सम्पदा रिमालले पाठ्यक्रममा अन्तर्राष्ट्रिय अनुभव समेटिनुपर्ने र विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने व्यावहारिक सीप सिकाउनुपर्ने बताइन् । उनले बौद्धिक क्षमतासँगै भावनात्मक बुद्धिमत्ताको विकासमा जोड दिइन् ।
यस्तै, अभिभावक देवीप्रसाद पौडेलले श्रम र सीपको सम्मान गर्ने शिक्षा आवश्यक रहेको बताए । पाठ्यक्रममा स्थानीय सफलताका कथालाई समेट्नुपर्ने उनको सुझाव थियो । अर्की अभिभावक डा. रमा पौडेलले मन्टेश्वरीदेखि विश्वविद्यालयसम्मका शैक्षिक तह र प्रणालीबीच तादम्यता हुनुपर्ने बताइन् ।
सामुदायिक विद्यालयका शिक्षक पूर्ण पुरीले तीनै तहका सरकारका फरकफरक नीतिले शिक्षक व्यवस्थापनमा समस्या सिर्जना भएको बताए । संस्थागत विद्यालयका शिक्षक कपिल लामिछानेले विद्यालयले प्रदान गर्ने सुविधाअनुसार शुल्क लिन पाउनुपर्ने धारणा राखे । शिक्षक शिक्षाराज अधिकारीले ऐन निर्माणसँगै कार्यान्वयन प्रभावकारी बनाउनुपर्ने र शैक्षिक क्यालेन्डरमा एकरूपता हुनुपर्ने बताए । यसैगरी, सन्दर्भ खनालले सरोकारवालाबाट प्राप्त सुझाव ऐनको मस्यौदामा समेटिनुपर्नेमा जोड दिए ।
सामुदायिक विद्यालय महासंघ नेपाल, भरतपुरका अध्यक्ष सुदीप सुवेदीले परिमार्जित ऐनले कर्णाली तथा चेपाङ समुदायका बालबालिकाका शैक्षिक समस्या सम्बोधन गर्नुपर्ने बताए । सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन प्रत्येक प्रदेशमा आवासीय विद्यालय सञ्चालन गर्नुपर्ने र प्रधानाध्यापकलाई आवश्यक प्रशासनिक अधिकार दिनुपर्ने उनको सुझाव थियो ।
विद्यालय सञ्चालक प्रेम रिमालले निजी विद्यालयका विद्यार्थीलाई उच्च शिक्षाका प्रवेश परीक्षामा समान अवसर सुनिश्चित गर्नुपर्ने बताए । राज्यले निजी विद्यालयबाट उत्तीर्ण गरिब विद्यार्थीहरूलाई गर्ने विभेद बन्द हुनुपर्ने उनको भनाइ थियो । अर्का विद्यालय सञ्चालक टंक त्रिपाठीले ऐन दीर्घकालीन सोचका साथ निर्माण गर्नुपर्ने र विद्यार्थीलाई कक्षा १२ पछि पनि नेपालमै अध्ययन तथा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने धारणा राखे ।
प्याब्सन बागमती प्रदेश उपसभापति इन्दिरा कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दयानिधि अर्यालले गरेका थिए । पवित्रबहादुर गौतमले सहजीकरण गरेको कार्यक्रममा प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले स्वागत मन्तव्य राखेका थिए भने अङ्कुरम् एकेडेमीका कार्यकारी निर्देशक युवराज पौडेलले प्यानलिस्टहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।

भरतपुर । पोषणयुक्त खाद्यवस्तुका रूपमा रहेको अण्डा मानव स्वास्थ्यका लागि अत्यावश्यक रहेकाले यसको उत्पादनसँगै उपभोग पनि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अण्डा मानव शरीरका लागि आवश्यक पर्ने महत्त्वपूर्ण तत्त्व भएकाले यसको महत्त्वबारे सचेतना अभिवृद्धि गरी उत्पादन र उपभोग दुवै बढाउन आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक संघद्वारा भरतपुरमा आयोजित बहस कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, स्वास्थ्यकर्मी, पोषणविद् र कृषि क्षेत्रका सरोकारवालाले अण्डाको उत्पादन र खपत बढाउन संयुक्त प्रयास आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सरकारले आवश्यक सहयोग र सहजीकरण गरेमा अण्डाको उत्पादन वृद्धि गर्न सकिने बताए । उनका अनुसार अण्डा उपभोग बढाउन किसान र व्यवसायीले लामो समयदेखि आग्रह गर्दै आए पनि त्यससम्बन्धी वैज्ञानिक जानकारी आम नागरिकसम्म पुर्याउने कार्य सरकारी निकायबाट प्रभावकारीरूपमा हुन सकेको छैन । उनले अण्डाको बजार मूल्य लागतअनुसार हुन थालेपछि किसानको आकर्षण बढ्दै गएको उल्लेख गर्दै यसले थप कृषकलाई व्यवसायमा प्रवेश गर्न प्रेरित गर्ने बताए ।
अध्यक्ष पोखरेलले भारतबाट भन्सार छलेर आउने अण्डा गत वैशाखदेखि रोकिएपछि स्वदेशी किसानले राहत महसुस गरेको बताए । विद्यालयका विद्यार्थीलाई दिवा खाजामा नियमितरूपमा अण्डा उपलब्ध गराउने सरकारी कार्यक्रम ल्याइए किसानको तर्फबाट प्रतिअण्डा पाँच रुपैयाँ छूट दिन तयार रहेको उनको भनाइ थियो ।
उनका अनुसार हाल नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन भइरहेको छ । कोभिड–१९ महामारीअघि दैनिक ६५ देखि ७० लाख अण्डा उत्पादन हुने अवस्था पुनः कायम गर्ने लक्ष्यसहित किसानलाई संगठित गर्ने काम भइरहेको उनले बताए । चार वर्षअघि करिब १२० जना ठूला लेयर्स किसान रहेकोमा अहिले संख्या बढेर १८० पुगेको छ । अण्डाको बजार मूल्य हाल प्रतिक्यारेट (३० वटा) करिब ६ सय रुपैयाँ पुगेको छ । व्यवसायीका अनुसार एउटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा पर्छ ।
वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले अण्डा केवल प्रोटिनको स्रोत मात्र नभई शरीरको वृद्धि, विकास तथा समग्र स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक त¤वको महत्त्वपूर्ण स्रोत भएको बताए । उनले एउटा अण्डामा करिब ६ ग्राम उच्च गुणस्तरको प्रोटिनका साथै भिटामिन ए, बी समूह, डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिंकजस्ता तत्त्व पाइने जानकारी दिए । अण्डाको पहेँलो भागसमेत स्वास्थ्यका लागि लाभदायक हुने उल्लेख गर्दै बालबालिकालाई दुई वर्षको उमेरपछि नियमित रूपमा अण्डा खुवाउन सकिने उनले बताए ।
युसेक अमेरिकन सोयका कन्ट्री मार्केट लिड डा. अशेष भट्टराईले निजी र सरकारी क्षेत्रबीचको सहकार्यबाट मात्र अण्डाको उत्पादन र बजार विस्तार सम्भव हुने बताए । उनले अण्डाका पोषणसम्बन्धी गुणबारे सही जानकारी जनसमुदायसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा पोषण विज्ञ डा. दिनेश गौतमले नेपालमा अण्डा खपत अझै न्यून रहेको तथ्यांक प्रस्तुत गरे । उनका अनुसार विश्वमा प्रतिव्यक्ति वार्षिक औसत १८५ अण्डा खपत हुने गरेको छ भने एसियामा यो संख्या १८७ छ । दक्षिण एसियामा प्रतिव्यक्ति वार्षिक ८७ अण्डा खपत हुने गरेको छ । नेपालमा भने प्रतिव्यक्ति वार्षिक ६९ अण्डा मात्रै खपत हुन्छ। सन् २०१५ मा यो संख्या ६० रहेकोमा हाल बढेर ६९ पुगेको छ। यद्यपि विश्व औसतको तुलनामा नेपाल अझै धेरै पछाडि रहेको उनले बताए ।
कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. रामानन्द तिवारीले उत्पादन वृद्धिमात्र पर्याप्त नभई अण्डाको उपभोग विस्तार पनि उत्तिकै आवश्यक रहेको बताए । सरकारले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि ऐन ल्याउने तयारी गरिरहेको जानकारी दिँदै उनले छात्रवृत्ति, यातायात छुट तथा कृषि ढुवानीका लागि विशेष सुविधाजस्ता व्यवस्था समेटिने बताए । उनका अनुसार यस्ता नीतिले कृषि पेशालाई थप सम्मानित र आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
भरतपुर । चितवनको शहीदचोकबाट करिब ५० मिटर पश्चिम, एभरेष्ट बैंकनजिकै आतिफ आई केयर सेन्टरले दोस्रो शाखा सञ्चालनमा ल्याएको छ । दसै, तिहारर छड पर्वलाई लक्षित गर्दै सोमबारदेखि दोस्रो शाखा सञ्चालनमा ल्याइएको सेन्टरका सञ्चालक इन्ताफ आलमले जानकारी दिए ।
व्यावसायिक उद्देश्यसँगै सेवामूलक भावनालाई प्राथमिकता दिँदै सेन्टर विस्तार गरिएको सञ्चालक आलमले बताए । नयाँ शाखाको शुभारम्भको अवसरमा दसैँ, तिहार तथा छठ पर्वसम्म आमनागरिकलाई २० प्रतिशत र विद्यार्थीलाई ३० प्रतिशत छूट प्रदान गरिने उनले भने ।
केयर सेन्टरले व्यावसायिक सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको छ । यसअन्तर्गत प्रत्येक वर्ष दुई जना अतिविपन्न नागरिकलाई निःशुल्क आँखा जाँच सेवा उपलब्ध गराउने योजना बनाएको छ । उनका अनुसार सम्बन्धित व्यक्तिको सिफारिस र आवश्यक प्रमाणका आधारमा निःशुल्क आँखा जाँच गरिनेछ भने आवश्यक परेमा चश्मासमेत उपलब्ध गराइनेछ ।
स्थानीय नागरिक तथा विद्यार्थीलाई सहज, सुलभ र सहुलियतपूर्ण आँखा जाँच सेवा उपलब्ध गराउने उद्देश्यसहित नयाँ शाखा सञ्चालनमा ल्याइएको सेन्टरले जनाएको छ । चाडपर्वको अवसरमा प्रदान गरिने छूटले सर्वसाधारणलाई आँखा जाँच तथा आवश्यक सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ ।
पाँच वर्षअघि हङकङ बजारबाट सेवा सुरू गरेको आतिफ आई केयर सेन्टरले सेवा विस्तार गर्ने क्रममा दोस्रो शाखा सञ्चालनमा ल्याएको हो ।
रत्ननगर । रत्ननगर–१६ वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीको आयोजनामा सुत्केरी आमा तथा नवजात शिशुलाई पौष्टिक आहार वितरण गरिएको छ ।
स्वास्थ्य संस्थामा नियमित गर्भवती जाँच तथा सुत्केरी जाँच गराउने आमाहरूलाई लक्षित गरी नौनी, अण्डा, मह, दाल, गेडागुडी तथा सरसफाइका सामग्री वितरण गरिएको पिठुवा स्वास्थ्यचौकीका प्रमुख नरहरि श्याम शर्माले जानकारी दिए ।
कार्यक्रममा वडाध्यक्ष हेमराज थापाले गर्भवती तथा सुत्केरी आमाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनुका साथै आमा र शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए ।
उनले नियमित स्वास्थ्य जाँच गराउने बानीको विकास गर्दै आमा तथा नवजात शिशुको स्वास्थ्यप्रति सचेतना बढाउन वडाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सुत्केरी अवस्थाको समयमा पोषणयुक्त आहारको महत्त्वबारे सिनियर अनमी निरीक्षक गीता रायमाझीले जानकारी गराएकी थिइन् । कार्यक्रममा वडा सदस्यहरु ज्ञानेन्द्र रेग्मी, चिजकुमार श्रेष्ठ, सरिता गुरूङ, वडा सचिव प्रमिला आचार्य, पिठुवा स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक रोशन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।





