भरतपुर । पोषणयुक्त खाद्यवस्तुका रूपमा रहेको अण्डा मानव स्वास्थ्यका लागि अत्यावश्यक रहेकाले यसको उत्पादनसँगै उपभोग पनि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अण्डा मानव शरीरका लागि आवश्यक पर्ने महत्त्वपूर्ण तत्त्व भएकाले यसको महत्त्वबारे सचेतना अभिवृद्धि गरी उत्पादन र उपभोग दुवै बढाउन आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक संघद्वारा भरतपुरमा आयोजित बहस कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, स्वास्थ्यकर्मी, पोषणविद् र कृषि क्षेत्रका सरोकारवालाले अण्डाको उत्पादन र खपत बढाउन संयुक्त प्रयास आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सरकारले आवश्यक सहयोग र सहजीकरण गरेमा अण्डाको उत्पादन वृद्धि गर्न सकिने बताए । उनका अनुसार अण्डा उपभोग बढाउन किसान र व्यवसायीले लामो समयदेखि आग्रह गर्दै आए पनि त्यससम्बन्धी वैज्ञानिक जानकारी आम नागरिकसम्म पुर्याउने कार्य सरकारी निकायबाट प्रभावकारीरूपमा हुन सकेको छैन । उनले अण्डाको बजार मूल्य लागतअनुसार हुन थालेपछि किसानको आकर्षण बढ्दै गएको उल्लेख गर्दै यसले थप कृषकलाई व्यवसायमा प्रवेश गर्न प्रेरित गर्ने बताए ।
अध्यक्ष पोखरेलले भारतबाट भन्सार छलेर आउने अण्डा गत वैशाखदेखि रोकिएपछि स्वदेशी किसानले राहत महसुस गरेको बताए । विद्यालयका विद्यार्थीलाई दिवा खाजामा नियमितरूपमा अण्डा उपलब्ध गराउने सरकारी कार्यक्रम ल्याइए किसानको तर्फबाट प्रतिअण्डा पाँच रुपैयाँ छूट दिन तयार रहेको उनको भनाइ थियो ।
उनका अनुसार हाल नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन भइरहेको छ । कोभिड–१९ महामारीअघि दैनिक ६५ देखि ७० लाख अण्डा उत्पादन हुने अवस्था पुनः कायम गर्ने लक्ष्यसहित किसानलाई संगठित गर्ने काम भइरहेको उनले बताए । चार वर्षअघि करिब १२० जना ठूला लेयर्स किसान रहेकोमा अहिले संख्या बढेर १८० पुगेको छ । अण्डाको बजार मूल्य हाल प्रतिक्यारेट (३० वटा) करिब ६ सय रुपैयाँ पुगेको छ । व्यवसायीका अनुसार एउटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा पर्छ ।
वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले अण्डा केवल प्रोटिनको स्रोत मात्र नभई शरीरको वृद्धि, विकास तथा समग्र स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक त¤वको महत्त्वपूर्ण स्रोत भएको बताए । उनले एउटा अण्डामा करिब ६ ग्राम उच्च गुणस्तरको प्रोटिनका साथै भिटामिन ए, बी समूह, डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिंकजस्ता तत्त्व पाइने जानकारी दिए । अण्डाको पहेँलो भागसमेत स्वास्थ्यका लागि लाभदायक हुने उल्लेख गर्दै बालबालिकालाई दुई वर्षको उमेरपछि नियमित रूपमा अण्डा खुवाउन सकिने उनले बताए ।
युसेक अमेरिकन सोयका कन्ट्री मार्केट लिड डा. अशेष भट्टराईले निजी र सरकारी क्षेत्रबीचको सहकार्यबाट मात्र अण्डाको उत्पादन र बजार विस्तार सम्भव हुने बताए । उनले अण्डाका पोषणसम्बन्धी गुणबारे सही जानकारी जनसमुदायसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा पोषण विज्ञ डा. दिनेश गौतमले नेपालमा अण्डा खपत अझै न्यून रहेको तथ्यांक प्रस्तुत गरे । उनका अनुसार विश्वमा प्रतिव्यक्ति वार्षिक औसत १८५ अण्डा खपत हुने गरेको छ भने एसियामा यो संख्या १८७ छ । दक्षिण एसियामा प्रतिव्यक्ति वार्षिक ८७ अण्डा खपत हुने गरेको छ । नेपालमा भने प्रतिव्यक्ति वार्षिक ६९ अण्डा मात्रै खपत हुन्छ। सन् २०१५ मा यो संख्या ६० रहेकोमा हाल बढेर ६९ पुगेको छ। यद्यपि विश्व औसतको तुलनामा नेपाल अझै धेरै पछाडि रहेको उनले बताए ।
कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. रामानन्द तिवारीले उत्पादन वृद्धिमात्र पर्याप्त नभई अण्डाको उपभोग विस्तार पनि उत्तिकै आवश्यक रहेको बताए । सरकारले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि ऐन ल्याउने तयारी गरिरहेको जानकारी दिँदै उनले छात्रवृत्ति, यातायात छुट तथा कृषि ढुवानीका लागि विशेष सुविधाजस्ता व्यवस्था समेटिने बताए । उनका अनुसार यस्ता नीतिले कृषि पेशालाई थप सम्मानित र आकर्षक बनाउने अपेक्षा गरिएको छ ।












