–राजु चौधरी
चितवन । बिरामीलाई आवश्यक समयमा सहजरुपमा रगत व्यवस्थापन गर्ने उद्देश्यले स्थापना भएको ब्लड डोनर्स सोसाइटी नेपालमा राजनीतिकरण भएपछि भाँडभैलो मच्चिएको छ ।
शनिबार गैँडाकोटमा आयोजित पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमै संस्थामा राजनीतिकरण भएपछि ब्लड डोनर्स सोसाइटीको भविष्यमाथि नै प्रश्न उब्जिएको छ ।
सोसाइटीको वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपाने अध्यक्षका प्रत्यासी थिए । तर, महासचिव अञ्जन दवाडीले अध्यक्षमै दाबी गरेपछि संस्था जोगाउन भन्दै वरिष्ठ उपाध्यक्ष न्यौपाने पछि हट्न बाध्य भए ।
‘वरिष्ठ उपाध्यक्ष भएकाले मेरो अध्यक्ष बन्नेबाहेक अर्को ठाउँ थिएन, महासचिव अब कार्यकारिणी उपाध्यक्ष हुने ठाउँ थियो, तर राजनीतिकरण गरेर संस्थालाई नै बदनाम गर्ने कोसिस भएपछि पछि हटेँ, शुभेच्छा दिएर फर्किएँ’–न्यौपानेले भने ।
संस्थामा जम्मा ५० जना मात्रै मतदाता रहेका थिए । थोरै मतदातामा चुनाव गर्न नहुने पक्षमा न्यौपाने थिए । तर, अर्को पक्ष जसरी पनि अध्यक्ष बन्ने ढिपी कसेपछि संस्था जोगाउन भन्दै न्यौपाने पछि हटे । बहुसंख्यक मतदाताले वरिष्ठ उपाध्यक्षलाई अघि नबढाएको भन्दै रुष्ट हुन पुगे । फलस्वरुप सानो संस्थालाई विधिसम्मत र सर्वसम्मत नबनाई राजनीतिकण भएपछि ब्लड डोनर्स सोसाइटी भरतपुर र माडी नगर कमिटीसहितका प्रतिनिधिहरुले निर्वाचन प्रक्रिया नै बहिष्कार गरेका छन् ।
‘भर्खर पाइला सार्दै गरेको सामाजिक संस्थामा राजनीतिकण गर्न थालियो, सर्वसम्मत रुपमा सबैलाई मिलाएर लैजानुपर्नेमा एकलौटी गर्न थालिएपछि माडी कमिटीले बहिष्कार गरेको हो’, माडी नगरकमिटी अध्यक्ष डोलराज आचार्यले भने ।
भरतपुर महानगर कमिटी अध्यक्ष दीपक घिमिरेले पनि सामाजिक संस्थामा गुटउपगुट बन्न थालेपछि महाधिवेशन छाडेर निस्किएको बताए । ‘रगत नपाएर छटपटिएका रगत व्यवस्थापन गर्छौं भनेर संस्थामा लागेको हो, तर गुटउपगुट राजनीति अहिले नै देखिन थालेपछि बस्न उचित नलागेर हामी निस्कियौँ’–महानगर कमिटी अध्यक्ष घिमिरेले भने ।
अध्यक्ष बन्न कस्सिएका अञ्जन दवाडी र यसअघिका केन्द्रीय सदस्य रामचन्द्र लम्साल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सक्रिय कार्यकर्ता हुन् । सोसाइटीका जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी रास्वपाका कोषाध्यक्ष हुन् । ब्लड डोनर्स सोसाइटीलाई राजनीतिकरण गर्दै रास्वपाको एकलौटी गर्न थालेपछि लामो समयदेखि सामाजिक सेवामा सक्रिय प्रतिनिधिहरु निराश हुँदै बहिष्कार गर्न पुगेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार जिल्ला समितिका केही पदाधिकारी, केन्द्रीय सदस्यहरुले पनि निर्वाचन बहिष्कार गरेका छन् । एक प्रतिनिधिले नाम नबताउने शर्तमा भने, ‘हामी सबै रास्वपा हौँ, एक हुनुपर्छ, हामीमात्रै आउनुपर्छ भन्दै अघिल्लो दिन भोट माग्दै फोन गरेका थिए ।’
स्रोतका अनुसार रास्वपा भनिएकाहरुले अधिवेशनको अघिल्लो दिन राति विभिन्न ठाउँमा पुगेर प्रतिनिधिहरुलाई पार्टी खुवाएका थिए ।






