रत्ननगर । पूर्वी चितवनको अग्रणी शैक्षिक संस्था न्यु क्यापिटल कलेजले आफ्नो स्थापनाको २५ औँ वर्ष अर्थात् ‘रजत जयन्ती’को अवसर पारेर वर्षभरि नै विभिन्न सिर्जनात्मक तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यसै क्रममा सोमबार कलेज परिसरमा महानायक राजेश हमालसँग एक विशेष अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।
कलेजका प्राचार्य भूपेन्द्र धितालले सहजीकरण गरेको कार्यक्रममा महानायक हमालले आफ्नो बहुचर्चित कृति ‘युगदेखि युगसम्म’को चर्चा गर्नुका साथै विद्यार्थीहरूलाई जीवनोपयोगी शिक्षा र उत्प्रेरणा प्रदान गरे ।
कार्यक्रममा महानायक हमालले आफ्नो अभिनय यात्राको कठिन सङ्घर्ष, परिवारको चाहनाविरुद्ध आफ्नो सपना पछ्याउँदा भोगेका चुनौती र सफलताका कथा सुनाउँदै विद्यार्थीहरूलाई अध्ययनमा दत्तचित्त भएर लाग्न प्रेरित गरे । उनले शिक्षाको महत्त्वमाथि प्रकाश पार्दै मेहनत र परिश्रमले नै मानिसलाई शिखरमा पु¥याउने कुरामा जोड दिए ।
कलेजका प्राध्यापक विष्णु सापकोटाले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रम निकै प्रभावकारी र प्रेरणादायी रहेको भन्दै सहभागी विद्यार्थी तथा अभिभावकहरूले खुसी व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा महानायक हमालसँग तस्बिर खिचाउन र सेल्फी लिन विद्यार्थीहरूको निकै उत्साहजनक सहभागिता देखिन्थ्यो । यसका साथै, हमालले कार्यक्रममा उपलब्ध आफ्ना पाठकहरूका लागि पुस्तकमा हस्ताक्षर गर्दै उनीहरूसँग भलाकुसारी गरे ।
महानायक हमालले विद्यार्थीहरूलाई आफ्नो करिअर निर्माणमा केन्द्रित हुन र शिक्षालाई जीवनको आधार बनाउन विशेष आग्रहसमेत गरे । रजत जयन्ती वर्षभरि यस्तै बहस, साहित्यिक र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने कलेजले जनाएको छ ।











