चितवन । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले राजनीतिक दलहरू जनमतको कदर गर्दै सत्ताको उन्माद र आन्तरिक अहंकारबाट मुक्त रहनुपर्ने बताएका छन् ।
‘इतिहासमा राजनीतिक दलहरूले पाएको जनमत नेताहरूको अहंकार, आपसी टकराव र सत्ताको उन्मादका कारण पटकपटक दुर्घटनामा परेको छ । रास्वपाले यी दुवै अवस्थाको सामना गर्न नपरोस् र प्राप्त जनसमर्थनलाई सही ढङ्गले स्थिरताका निम्ति अगाडि बढाओस् ।’
नेपाली कांग्रेस र रास्वपाबीचको सम्बन्धलाई प्रष्ट पार्दै सभापति थापाले संसद्मा आफ्नो दल सशक्त प्रतिपक्षको भूमिकामा रहने उल्लेख गरे । उनले भने, “नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी संसदमा प्रतिपक्षमा छौँ । जहाँ औँला ठड्याउनुपर्ने हो, त्यहाँ औंला ठड्याउँछौँ, जहाँ ताली बजाउनुपर्ने हो त्यहाँ ताली बजाउँछौँ ।”
पछिल्लो समय राजनीतिमा विगतलाई पूर्णरूपमा नकार्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै उनले प्रजातन्त्रका लागि भएको ऐतिहासिक सङ्घर्षलाई भुल्न नहुनेमा जोड दिए ।
उनले भने, “चितवनमा निलो झण्डा फहराउँदै गर्दा विगत ३५ वर्षमा केही पनि भएन भनेर इतिहासलाई इन्कार नगर्नुहोला, तपाईंहरू जुन ठाउँमा उभिनुभएको छ, त्यहाँमुनि प्रजातन्त्रका लागि लड्ने सहिदहरूको रगत र बलिदान जोडिएको छ । त्यो इतिहासलाई कसैले पनि बिर्सन मिल्दैन ।”
सभापति थापाले गरिबी, अज्ञानता, विभेद र अक्षमता नै देशको मुख्य दुश्मन भएको औँल्याउँदै यी साझा चुनौतीविरुद्ध र संविधान एवं व्यवस्थाको रक्षाका लागि रास्वपासँग सहकार्य हुने स्पष्ट पारे । उनले रास्वपाको स्थापनाको छोटो समयमै प्राप्त जनसमर्थनको प्रशंसा गर्दै महाधिवेशनको पूर्ण सफलताको कामनासमेत गरे ।









