चितवन । आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न सङ्घसंस्थाले रोपाइँ गर्दै दही चिउरा खएर त कतै हिलो खेलेर धान दिवस मनाएका छन् । तर, चितवनको सौराहामा भने फरक तरिकाले धान दिवस मनाइएको छ । यहाँको ग्रिन सोसाइटी पब्लिक स्कुलले दिवस नितान्त विद्यार्थीको सिकाइलाई ध्यानमा राखेर मनाएको हो ।
विद्यालयले धान दिवसको सन्दर्भ पारेर विद्यार्थीलाई धान, खेत र हिलोको महत्त्वबारे बुझायो । त्यसपछि विद्यार्थीले नै धान दिवससम्बन्धी प्रतियोगितात्मक गीत प्रस्तुत गरेका थिए । त्यसपछि सुरु भयो आजको मुख्य आकर्षण धान रोप्ने काम । स्कुल नजिकैको खेतमा विद्यार्थीले धान रोप्न सिके ।
विद्यार्थीलाई कार्यालय सहायक दुर्गा खनालले सिकाइ सहजीकरण गरे । उनले धान रोप्दा बीउ समाउने तरिकादेखि कति दूरीको फरकमा रोप्ने र एउटा गुबोमा कतिवटा धान रोप्ने भनेर सिकाएपछि विद्यार्थीले रोप्न सुरू गरे ।
विद्यार्थीलाई सबै पूर्वतयारीका साथ नियमित व्यावहारिक सीप दिने गरिएको र आजको सिकाइ त्यसैको निरन्तरता भएको स्कुलका अतिरिक्त क्रियाकलाप प्रमुख रोविन अधिकारीले बताए ।
विद्यार्थीहरू उत्साहित हुँदै रोपाइँमा सहभागी भए । यसरी सिकाउँदा आफूलाई बुझ्न सजिलो भएको र काम नै गरेर सिक्दा ज्ञान दिगो हुने अनुभूति भएको विद्यार्थीहरुले बताए ।
‘नेपालमा व्यावहारिक शिक्षाको कमी भएको गुनासो आइरहेका बेला विद्यार्थीलाई कृषि कर्मलगायत काम व्यावहारिक रूपमा सिकाउनुपर्छ भनेर कार्यक्रम गरिएको हो’, स्कुलका प्रधानाध्यापक गोपिलाल श्रेष्ठले भने, ‘यसले विद्यार्थीलाई हिलोसँग खेल्न र धान रोप्ने कार्य आफैँले अनुभव गरेर सिक्न सक्छन् ।’
स्कुलका प्रबन्ध निर्देशक शीलाल परियार यसअघि विद्यार्थीलाई आलु, केराउ रोप्न सिकाएको बताउँछन् । विद्यार्थीलाई किताबी ज्ञानले पुग्दैन, प्रत्यक्ष हेरेर र गरेर सिकेको कुरा दिगो हुन्छ । सोहीअनुसार उनीहरुलाई सिकाउन थालिएको बिद्यालयले जनाएको छ ।









