रत्ननगर । रत्ननगर–१६ वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीको आयोजनामा सुत्केरी आमा तथा नवजात शिशुलाई पौष्टिक आहार वितरण गरिएको छ । सुत्केरी आमालाई वडा कार्यालय साथमै रहेको अनुभूति दिलाउन प्रोत्साहनस्वरुप पौष्टिक आहार वितरण हो ।
पौष्टिक आहार वितरण गर्दै वडाध्यक्ष हेमराज थापाले विगतदेखि नै वडावासीलाई विभिन्न सहयोग गर्दै आइरहेको र अहिले सुत्केरी र नवजात शिशुलाई प्रोत्साहनस्वरुप पोषण आहार वितरण गरिएको बताए ।
पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्माले सरकारको दिगो विकास लक्ष्य हासिल गर्न पोषण कार्यक्रम प्रभावकारी हुने बताउँदै सुत्केरी अवस्थामा पोषणयुक्त खानेकुरा खुवाउन सचेतनाका लागि साङ्केतिकरूपमा पोषण आहार वितरण गरिएको बताए ।
कार्यक्रममा २५ सुत्केरीलाई नौनी घ्यू, अण्डा, मह, चना, दाललगायत १३ प्रकारका पौष्टिक खाद्य सामग्री वितरण गरिएको थियो । कार्यक्रममा सुत्केरी अवस्थाको समयमा पोषणयुक्त आहारको महत्त्वबारे सिनियर अनमी निरीक्षक गीता रायमाझीले जानकारी गराएकी थिइन् । कार्यक्रममा वडा सदस्यहरु ज्ञानेन्द्र रेग्मी, चिजकुमार श्रेष्ठ, सरिता गुरूङ, वडा सचिव मन्जु पौडेललगायतको सहभागिता रहेको थियो ।











