२०८३ श्रावण ५ मंगलवार
२०८३ श्रावण ५ मंगलवार

‘ओभरटेक’ले दुर्घटना बढेपछि नियन्त्रणको प्रयास

चितवन । मनसुनी वर्षाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण सडकमा दुर्घटना र सवारीजाम बढ्न थालेपछि चितवन प्रशासनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा ३६ जना घाइते भएका थिए । दुर्घटनापछि केही समय सवारी आवागमनसमेत अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले मुग्लिनतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको बताए । उनका अनुसार ओभरटेक नै सडक दुर्घटना र सवारीजामको प्रमुख कारण बन्दै गएको छ ।

उनले ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै लामो सवारीजाम हुने, एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई बाटो बनाउन कठिन हुने र दुर्घटनामा घाइते भएकाको उद्धारमा समेत ढिलाइ हुने गरेको बताए । आइतबार बिहानको दुर्घटनामा पनि सवारीजामका कारण उद्धार कार्य प्रभावित भएको उनको भनाइ छ ।

बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै चितवन प्रशासनले शनिबार राति १०ः०० बजेदेखि नारायणगढ–मुग्लिन सडक र चितवन क्षेत्रमा पर्ने पृथ्वी राजमार्गमा सवारी सञ्चालन अस्थायी रूपमा रोकेको थियो । बिहान ५ः३० बजे सडक खुलेपछि चालकले हतारमा ओभरटेक गर्दा दुर्घटना र सवारीजाम भएको प्रशासनको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक नियमको पालना गरे दुर्घटना र सवारीजाम दुवै उल्लेख्यरूपमा घटाउन सकिने बताए । उनले ट्राफिक नियमको पालनाबाट चालक र यात्रु दुवैले प्रत्यक्ष लाभ पाउने उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्षायाममा बाढी र पहिरोको उच्च जोखिमका कारण रातको समयमा सवारी सञ्चालनमा रोक लगाउनु बाध्यता रहेको बताउँदै सडक खुलेपछि आआफ्नो लेनमै सवारी चलाउन र ओभरटेक नगर्न चालकलाई आग्रह गरे ।

उनले सुरक्षित र सहज यातायात सञ्चालनका लागि प्रशासनसँगै चालक र यात्रुको पनि समानरूपमा सहयोग आवश्यक रहेको बताए । उनले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिँदै सबैलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।