रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–११, जिरौनास्थित नगर स्वास्थ्यकेन्द्र जिरौनाको भवन निर्माणका लागि एक कट्ठा ५ धुर जग्गादान गरेका र सोही स्वास्थ्यकेन्द्रमा कार्यालय सहयोगीका रुपमा कार्यरत रही सेवानिवृत्त भएका रामप्रसाद रिजाललाई सम्मानसहित बिदाइ गरिएको छ ।
स्थानीय समाजसेवी रिजालले स्वास्थ्यकेन्द्र स्थापनाका लागि २०५९ मङ्सिर २९ गते जग्गादान गरेका थिए । उनको योगदानको कदर गर्दै बुधबार रत्ननगर नगरपालिका वडा–नं ११ का वडाध्यक्ष एवम् नगर स्वास्थ्यकेन्द्र जिरौनाका सञ्चालन समितिका अध्यक्ष श्यामकुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले शिलालेखको अनवरण गरेका थिए ।
यसैगरी, सोही संस्थामा कुशल कार्यालय सहयोगीका रुपमा कार्यरत रिजाल २०८२ माघ ३० गते अवकाश भएकोमा सम्मानपत्रसहित खादा ओढाएर बिदाइ गरिएको छ । सो अवसरमा उनले स्वास्थ्य संस्थाका लागि जग्गादान गर्न सकेकोमा गर्वको अनुभूति भएको बताए । आफू अवकाश भए पनि संस्थाको वृत्तिविकासमा आफ्नो सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका प्रमुखअतिथि प्रमुख प्रशासकीय अधिकृत खनालले भौतिकरूपमा संस्थाका लागि योगदान दिई भौतिक पूर्वाधार निर्माणका लागि जग्गादान दिने रिजालकोे योगदानलाई कहिल्यै भुल्न नहुने बताए । वडावासीलाई गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न समाजसेवी रिजालकै योगदान र सहयोगबाट सहज भएको बताउँदै उनले अवकाशपछिको जीवन सुखद र स्वस्थ्य रहोस् भन्ने कामना गरे ।
यस्तै, वडाध्यक्ष श्रेष्ठले स्वास्थ्यकेन्द्र निर्माणका क्रममा अनवरण लागिपरेका र वडावासीको स्वास्थ्य उपचार सहज बनाउन जग्गादानसमेत गरेका रिजालको दीर्घजीवनको कामना गरे । उनले भने, ‘लिएर कहिल्यै पनि सन्तुष्टि पाउन सकिँदैन, जति दिएर मिल्छ । उहाँले जग्गादान र संस्थामा योगदान गरेर सन्तुष्टि पाउनुभएको छ । वडाले सधैँ सम्झिरहनेछ ।’
स्वास्थ्यकेन्द्र प्रमुख दुर्गा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा कार्यपालिका सदस्य यशोदा अधिकारी पौडेलले मन्तव्य राखेकी थिइन् । कार्यक्रममा लेखा शाखा प्रमुख प्रदीप पौडेल, स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल, वडा सचिव सूर्यप्रसाद ढुङ्गानालगायतको उपस्थिति रहेको थियो ।












