कालिका । ग्रीन सोसाइटी नेपाल सौराहाको आयोजना एवम् कालिका नगरपालिका वडा नं–११ को सहआयोजनामा राष्ट्रिय माध्यमिक विद्यालय कालिका–११, मझवाङमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।
ग्रीन सोसाइटी नेपाल सौराहाका अध्यक्ष सिरिलाल परियारको अध्यक्षता एवम् कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा नाक–कान–घाँटी, हाडजोर्नी तथा नसा, स्त्री तथा बालरोग, आँखा र जनरल फिजिसियन गरी २११ जना लाभान्वित भएका थिए । शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
शिविरमा कलेज अफ मेडिकल साइन्सेस (सिएमएस) भरतपुरले विशेषज्ञ डाक्टरसहित प्राविधिक सहयोग गरेको थियो । यस्तै, लायन्स क्लब अफ चितवन सौराहा, ग्रीन सोसाइटी पब्लिक स्कुल र नेपाल हाइलाइफ डिरेक्ट जर्मनीले आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रममा कालिका नगरपालिका वडा नं–११ क वडाध्यक्ष कृष्णबहादुर प्रजा, गैसस महासंघ चितवन शाखाका पूर्वअध्यक्ष केशव आचार्यलगायतको आतिथ्यता रहेको थियो । सोही अवसरमा विद्यालयलाई खेलकुद सामग्री प्रदान गरिएको थियो ।









