२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

भरतपुर । पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

बिहीबार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग २० प ८५५९ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००१ प १६८४ नम्बरको पर्यटक बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोरखा साविक छोप्राक गाउँ विकास समिति वडा नम्बर २ बस्ने ४० वर्षीय दामोदर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।

घिमिरेको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रत्ननगर । रत्ननगर–१ मा रहेको सेभ सुपरमार्केटले आफ्ना ग्राहकहरूलाई लोयल्टी कार्डमार्फत जम्मा भएको अङ्कअनुसार सपिङ भौचर वितरण पुनः सुरू गरेको छ । विगत दुई वर्षदेखि रोकिएको यो योजना बिहीबारबाट पुनः सञ्चालनमा आएको सुपरमार्केटका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

अध्यक्ष घिमिरेका अनुसार ५०० रुपैयाँको खरिदमा १ अङ्क प्राप्त हुन्छ भने प्रत्येक अङ्कको मूल्य ५ रुपैयाँबराबर हुन्छ । यदि ग्राहकले १०० अङ्क जम्मा गरेमा ५०० रुपैयाँको सपिङ भौचर प्राप्त गर्नेछन् । सपिङ भौचर सेभ सुपरमार्केटको बकुलहर र सौराहा शाखामा प्रयोग गरी खाद्यान्नदेखि लत्ताकपडा, किचन र घरायसी सामान खरिद गर्न सकिने उनले बताए ।

‘लोयल्टी कार्ड योजनाले ग्राहकहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँछ’, उनले भने, ‘हामीले सुपरमार्केट स्थापनाकालदेखि नै यो योजना सञ्चालन गर्दै आएका छौँ ।’ सेभ सुपरमार्केटले स्थापनाको पहिलो वर्ष ३८५ ग्राहकलाई लोयल्टी कार्ड वितरण गरेको थियो र नियमितरूपमा भौचर वितरण गर्दै आएको थियो । तर, विविध कारणले दुई वर्षदेखि यो योजना रोकिएको थियो ।

अध्यक्ष घिमिरेले बुधबारदेखि नै १०० भन्दा बढी अङ्क जम्मा गरेका ग्राहकलाई भौचर वितरण सुरू गरिएको बताए । यसका लागि ग्राहकहरूलाई एसएमएस र फोनमार्फत सूचना दिएको छ । आर्थिक वर्ष २०८०/८१ मा २१६ जनाले भौचर प्राप्त गरेका थिए भने २०८१/८२ मा ५२१ जनाले १०० भन्दा बढी अङ्क जम्मा गरेका छन् । उनीहरूलाई क्रमशः जेठसम्म भौचर वितरण गरिने घिमिरेले जानकारी दिए ।

सौराहा भेन्चर्स प्रालिद्वारा सञ्चालित सेभ सुपरमार्केट २०७९ वैशाखदेखि सञ्चालनमा आएको हो । सेभमा सस्तो र सुपथ मूल्यमा खाद्यान्न, लत्ताकपडा, किचन र घरायसी सबै प्रकारका सामान उपलब्ध छन् । ग्राहकको सुविधा र सन्तुष्टिलाई प्राथमिकता दिँदै सेभ सुपरमार्केटले आफ्नो सेवालाई थप प्रभावकारी बनाउने प्रयास जारी राखेको छ । सेभ सुपरमार्केटले आगामी दिनमा पनि यस्ता ग्राहकमैत्री योजनाहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।

काठमाडौँ । एसियन कप छनोटका क्रममा मलेसियासँग हार व्यहोरेको नेपालले सो नतिजा उल्ट्याउन औपचारिक निवेदन दिएको छ ।

साउदी अरेबियामा सन् २०२७ मा हुने एसिएन कप छनोट प्रक्रियाअन्तर्गत ‘२–०’ले नेपाल पराजित भएको थियो । सो छनोट प्रतियोगितमा भाग लिने मलेसियन खेलाडी प्रतिबन्धित भएसँगै विश्व फुटवल नियामक संस्था ‘फिफा’समक्ष नेपालले निवेदन दिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।

गत महिना ‘फिफा’ले मलेसियाको राष्ट्रिय फुटवल टोलीमा सङ्लग्न सात जना विदेशी खेलाडीलाई एक वर्षका लागि प्रतिबन्ध लगाउँदै फुटबल सङ्घ (एफएएम)लाई चार लाख ४० हजार अमेरिकी डलर जरिवाना गरेको अन्तरराष्ट्रिय समाचार एजेन्सी ‘एएफपी’ले जनाएको छ ।

यसरी प्रतिबन्धित खेलाडीमध्येका एक ‘हेक्टर हेभल’ले मलेसियाको ‘जोहोर’मा सम्पन्न छनोट खेलमा नेपालका विरुद्ध पहिलो गोल गरेका थिए ।

हामीले उक्त खेलमा अयोग्य खेलाडी खेलेको विषयमा ‘फिफा’सँग सम्पर्क गरिसकेका छौँ । त्यसैले नतिजा उल्ट्याउनुपर्छ भन्ने हाम्रो माग हो, सोहीबमोजिम निवदेन दिएका हौँ । एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने ।

मलेसियाका तर्फबाट खेलेका ती सात खेलाडीले आफ्ना मलेसियाली पुर्खाको दाबी गर्न नक्कली कागजात प्रयोग गरेको फिफाको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । फिफाका अनुसार तिनीहरूमध्ये कसैको पनि आमाबाबु वा हजुरबुबा मलेसियामा नजन्मेको ‘एएफपी’ले जनाएको छ ।

यसैबीच मलेसियाको फुटवल सङ्घले सो सम्बन्धमा जानाजानी कुनै पनि गलत काम नगरेको स्पष्ट गर्दै खेलाडीहरूको योग्यतासम्बन्धी निर्णय ‘कानुनी प्रक्रियाअनुसार’ नै भएको भन्ने दावी गरेको छ ।

प्रतिबन्धित ती सात खेलाडी गत जुनमा भियतनामविरुद्ध भएको खेलमा पनि सहभागी भएको र उक्त एसिएन कप छनोट खेलमा मलेसियाले ४–० को विजय हासिलसमेत गरेको एएफपीले जनाएको छ ।

हालसम्म चार खेल खेलिसकेको नेपाल कुनै पनि अङ्क प्राप्त गर्न नसकेर समूह ‘एफ’को अन्तिम स्थानमा रहेको छ । मलेसिया १२ अङ्कका साथ शीर्ष स्थानमा छ भने भियतनाम नौ अङ्कसहित दोस्रो र लाओस तीन अङ्क प्राप्त गरी तेस्रो स्थानमा रहन सफल भएको छ ।

काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो ।

ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान दुई÷दुई विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए ।

त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । आसिफ शेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे । गुल्शन झाले दुई छक्कासहित १८ रन जोडे भने आदिल आलमले १६ रन बनाए ।

ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान दुई/दुई विकेट लिए ।

यसअघि नै टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपाल आठ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको ओमानको छ अङ्क छ ।

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२७, धर्मपुरमा कारको ठक्करबाट घाइते भएका पैदलयात्रीको मृत्यु भएको छ ।

बुद्धनगरबाट अमृतचोक जाँदै गरेको बा १६ च १४२ नम्बरको कारको ठक्करबाट घाइते भरतपुर–२७ बस्ने ५७ वर्षीय नवराज पौडेल क्षेत्रीको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार गरी घरमा लगिएकोमा निजको मृत्यु भएको हो ।

कार र कार चालक भरतपुर–६, इन्द्रपुरी बस्ने ३४ वर्षीय विनोद पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शवको पोस्ट मार्टमपश्चात् आफन्तले बुझिलगेको प्रहरीले जनाएको छ ।

 

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२, देवकोटा चोकनजिकै कारको ठक्करबाट गम्भीर घाइते पैदलयात्रीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

प्रदेश ३–०१–०२२ च ८१७५ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर–२ बस्ने ५८ वर्षीय रणबहादुर विकको नयाँ मेडिकल कलेज, मनकामना हस्पिटल हुँदै न्युरो हस्पिटल बाँसबारी काठमाडौँमा उपचार गरिएकामा बुधबार राति २३ः११ बजे मृत्यु भएको हो ।

कार र कार चालक भरतपुर–५ बस्ने ४० वर्षीय भुवन अधिकारी जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

रत्ननगर । रत्ननगर वडा नं–१ मा बकुलहरमा रात्रिकालीन बजार सञ्चालन हुने भएको छ । वडा कार्यालय र रात्रिकालीन बजार व्यवस्थापन समितिको संयुक्त पहलमा कार्तिक १० गतेदेखि बजार सञ्चालनमा ल्याइने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा वडाध्यक्ष कुलप्रसाद सापकोटाले कार्तिक १० गतेदेखि प्रत्येक सोमबार बजार सञ्चालन हुने बताए । उनले बजार मुख्य राजमार्ग र वडा कार्यालयको सडकबाट सेभ सुपरमार्केट प्रवेश गर्ने सडकमा रहने जानकारी दिए । ‘यो बजारले स्थानीय व्यवसायीहरुलाई थप अवसर प्रदान गर्ने छ’, उनले भने, ‘बजारले स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग गर्ने छ ।’

बजार व्यवस्थापन समितिका संयोजक पुष्पराज श्रेष्ठले बजारमा ५० भन्दा बढी स्टलहरु रहने बताए । बजार दिउँसो ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । स्थानीय उत्पादन, दैनिक उपभोग्य खाद्यान्न, रेस्टुरेन्ट, लत्ताकपडालगायतका स्टलहरु राख्ने योजना बनाएको उनले जानकारी दिए । रात्रिकालीन बजारले आर्थिक गतिविधि बढाउन सहयोग गर्ने उनको भनाइ छ ।

कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले रत्ननगरमा पहिलोपटक रात्रिकालीन बजार सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गरे । उनले अन्य वडाहरुमा पनि यस्ता बजार सञ्चालन गर्न सकिने विचार राख्दै संघबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘यो पहलले नगरपालिकाको समग्र आर्थिक विकासमा योगदान पु¥याउने छ’, उनले भने, ‘हामी यसलाई सफल बनाउन सहयोग गर्न तयार छौँ ।’

पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य राम रिमाल, वडाका टोलका अध्यक्षहरु, स्थानीय व्यवसायीलगायतको उपस्थिति थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।