२०८३ भाद्र ४ बिहीबार
२०८३ भाद्र ४ बिहीबार

भरतपुर । डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो ।

कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिङ्गरको उद्धार गरिएको छ । बस्ती पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ अजिङ्गरको उद्धार गरेर व्यवस्थापन गरिएको हो ।

यस्तै चारवटा चित्तल, रतुवा तीन, धामन सर्प तीन, गोही दुई, मयुर दुई, लाटोकोसेरो दुईवटाको उद्धार गरिएको छ । बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गोहोर, कछुवा, हुच्चिल –एक–एकवटाको उद्धार गरी व्यवस्थापन गरिएको हो ।

समुदायमा पसेर समस्या बनाएका एवं समस्याग्रस्त ती जनावारको उद्धार गरी व्यवस्थापन गरिएको हो । यससँगै गत आर्थिक वर्षमा ४२ मृत वन्यजन्तुको व्यवस्थापन गरिएको उनले जानकारी दिए । उनका अनुसार ३० चित्तल, नौवटा रतुवा, दुईवटा बदेल, एउटा स्याल मृत भेटिएर तीनको व्यवस्थापन गरिएको हो ।

यससँगै कार्यालयले गत आर्थिक वर्षमा २६७ साइकलको लिलामी गरेको छ । अवैध रूपमा काठ तस्करीमा प्रयोग गरिएका ती साइकलको लिलामीबाट रू दुई लाख ५२ हजार राजस्व सङ्कलन गरिएको थियो । यस आर्थिक वर्षमा ८१ थान मोटरसाइकल लिलामी गर्ने तयारी गरेको छ । कसुरजन्य मुद्दामा नियन्त्रणमा लिइएका र बेवारिसे अवस्थामा भेटिएका गरी ती मोटरसाइकल लिलामी गर्न लागिएको हो ।

कार्यालय प्रमुख आचार्यका अनुसार विगत लामो समयदेखि कार्यालय परिसरमा रहेका ती मोटरसाइकल लिलामी गर्न लागिएको हो । मोटरसाइकलसँगै २५ बस, ट्रक, भ्यान, अटो, ट्याक्टर र ५९ साइकलको लिलामी प्रक्रिया सुरू गरिएको उनले जानकारी दिए ।

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर समिति र रास्वपा चितवन जिल्ला समितिको समन्वयमा माडी नगर ऱ्याट विभागको प्रतिनिधि टोलीले सिंहदरबार पुगेर तीन मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ ।

टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेर माडीका समस्याहरूको दीर्घकालीन समाधानबारे ध्यानाकर्षण गराएको हो ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माडी नगर ऱ्याट विभागले ‘सरसफाइबाट सुरुवात, संवादबाट समाधान’ भन्ने मूल नाराका साथ आयोजना गरेको बृहत् सरसफाइ, युवा संवाद तथा समस्या सङ्कलन कार्यक्रमबाट उठेका जल्दाबल्दा विषयहरू लिएर टोली मन्त्रालय पुगेको थियो । टोलीमा माडी नगर ऱ्याट विभागको प्रतिनिधित्व गर्दै सचिव आर्यन थापा (पुकार) र सदस्य मिलन न्यौपाने सहभागी थिए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै टोलीले हनुमान झुला क्षेत्र राष्ट्रिय वनअन्तर्गत पर्ने भए तापनि निकुञ्ज प्रशासनको क्षेत्राधिकार दाबीका कारण त्यहाँका नागरिक दसकौँदेखि लालपुर्जा, बिजुली र आधारभूत विकासबाट वञ्चित हुनुपरेको कानुनी जटिलताबारे अवगत गराएको थियो । कानुन मन्त्रालयले वन ऐन र निकुञ्ज ऐन नियमहरूको बाझिएको अवस्था सल्टाउन, अन्तर–मन्त्रालय समन्वय गरी आवश्यक नीतिगत तथा कानुनी सहजीकरण तुरुन्तै अघि बढाउने जानकारी दिएको छ ।

त्यस्तै, भूमि मन्त्रालयले समग्र माडीवासीहरूका लागि आगामी एकदेखि डेढ महिनाभित्रै जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्ने गरी प्रक्रिया तीव्र पारिएको प्रतिबद्धता व्यक्त गरेको छ । साथै, हनुमान झुला लगायतका बस्तीहरूमा लामो समयदेखि देखिएको कानुनी उल्झन सल्टाएर वास्तविक बासिन्दालाई लालपुर्जा उपलब्ध गराउन मन्त्रालय लागिपर्ने आश्वासन दिएको छ ।

उता ऊर्जा मन्त्रालयले लामो समयदेखि अन्धकारमा रहेको हनुमान झुला क्षेत्रमा तत्कालै बत्ती बाल्न सकिने/नसकिने प्राविधिक पक्षको अध्ययन गर्न मन्त्रालयबाट तत्कालै प्राविधिक टोली फिल्डमा परिचालन गर्ने बताएको छ । ऊर्जा मन्त्रीले तत्काल सम्भव भए दसैँअगाडि नै काम सुरू गर्ने र कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भए सोहीअनुसार छिटोभन्दा छिटो काम अघि बढाउने आश्वासन दिएका छन् ।

समग्र माडी क्षेत्रमा नयाँ विद्युत प्रसारण लाइन विस्तारका लागि आवश्यक तयारी समेत भइरहेको जानकारी गराइएको छ । यसैगरी, निकुञ्ज क्षेत्रको सडक निर्माण प्रक्रियालाई दसैँअगावै टेन्डरमा लैजाने र चाडपर्वलगत्तै फिल्डमै काम सुरू गर्ने योजना रहेको मन्त्रालय स्रोतले जानकारी गराएको छ ।

स्थानीय युवाहरूले सङ्कलन गरेका जनसमस्यालाई तीनवटै मन्त्रालयसम्म पुर्‍याउने यो पहल र मन्त्रालयहरूबाट प्राप्त ठोस जानकारी एवम् आश्वासनले माडीका जनतामा नयाँ आशा र भरोसा जागृत गराएको छ ।

चितवन । चितवनको भरतपुरमा रहेको रहेको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन ‘पोस्ट मार्टम’ गरेको छ । चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानका ती कुखुराको पोस्ट मार्टम गरी रोग पहिचान गरिएको हो ।

प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पोस्ट मार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो । प्रयोगशाालाले पोस्ट मार्टमबाहेक रोग पहिचानको काम गरेको छ । एक हजार ५०० कुखुराको नमुना परीक्षणका क्रममा कुखुरामा १० रोग देखिएको उनले जानकारी दिए । परीक्षणका क्रममा २२ प्रतिशत कुखुरामा ‘इकोलाई’, १३ प्रतिशतमा ‘गम्बारो’, नौ प्रतिशतमा कुखुरामा ‘सिआरडी’ देखिएको उनले बताए । ढुसीजन्य रोगका नौ प्रतिशत, सिसिआरडी चार प्रतिशत, साल्मोनेलोसिस तीन दशमलव पाँच प्रतिशतमा देखिएको छ ।

यस्तै, एभिएन ‘इन्फ्लुएन्जा’, कुखुराको हैजा, आइबी र रानीखेतको सङ्क्रमण देखिएको हो । द्रूत परीक्षणका क्रममा २७८ वटा नमुना परीक्षणका क्रममा ४७ वटामा एभिएन इन्फ्लुएन्जा सङ्क्रमण देखिएको छ । एक सय ७६ वटा गम्बारो परीक्षणका क्रममा १०९ मा सङ्क्रमण देखिएको छ । उनान्सय वटाको रानीखेत परीक्षण गर्दा सात वटामा रोग देखिएको छ भने ४६ वटा आइवी परीक्षणका क्रममा दुई वटामा सङ्क्रमण देखिएको उनले बताए ।

यसैगरी, ३६९ वटाको पिएटी विधिबाट नमुना परीक्षणका क्रममा १२ वटामा साल्मोनेला, ३६० वटा नमुना परीक्षणका क्रममा १६ वटामा माइकोप्लाजमा, १८४ वटाको इलाइजा परीक्षणका क्रममा ३८ वटामा माइकोप्लाजमा र १८४ वटाको परीक्षणका क्रममा ९२ वटामा चिकेन इन्फेक्सस एनेमिया भाइरस (सिआइएभी) सङ्क्रमण देखिएको उनले जानकारी दिए । नौ सय वटा कुखुराको नमुना कल्चर गर्दा ७८९ नमुनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकालाई कुन एन्टीबायोटिक प्रयोग गर्ने भन्ने विषयमा जानकारी सेवाग्राहीलाई दिइएको उनले बताए ।

कुखुराजन्य रोगको सङ्क्रमण रोक्नका लागि जैविक सुरक्षा अपनाउनुपर्ने उनको भनाइ छ । जैविक सुरक्षा अपनाउन नसक्दा रोगको जोखिम थपिने उनले बताए ।

चितवन । डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा व्यवस्थापनका दृष्टिले जोखिममा रहेका जिल्लाका विभिन्न स्थानका रुख व्यवस्थापन गरेको छ ।

जिल्लाका १३ प्रमुख स्थान, सडकखण्ड, सुरक्षा निकायका परिसर तथा विद्युत् प्रसारण लाइन आसपासका क्षेत्रबाट १५५ जोखिमयुक्त रुख व्यवस्थापन गरिएको हो । त्यस क्रममा एक हजार ५७५ थान काठका गोलिया तथा ठुटा, ११ हजार ८०९ दशमलव ६२ क्युफिट काठ र १६ दशमलव ४५ चट्टा दाउरा सङ्कलन भएको छ ।

वन अधिकृत दिनेश हुमागाईंका अनुसार भरतपुरको आपटारी–देवघाट सडकखण्डबाट सबैभन्दा धेरै २५ रुख हटाइएको थियो । त्यहाँबाट ३०६ थान, दुई हजार ४६० दशमलव २३ क्युफिट काठ र पाँच दशमलव ७५ चट्टा दाउरा सङ्कलन भएको छ ।

त्यसैगरी, भोजाड–लङ्कालाइन–पदमपुर क्षेत्रबाट ३४ वटा रुख हटाई ३२१ थान, दुई हजार १९७ दशमलव ५० क्युफिट काठ र तीन दशमलव १० चट्टा दाउरा व्यवस्थापन गरिएको छ ।

सशस्त्र प्रहरी बल आँपटारी परिसरबाट नौ वटा रुख हटाई १४१ थान, एक हजार १३६ दशमलव ४९ क्युफिट काठ र एक दशमलव २५ चट्टा दाउरा सङ्कलन भएको छ ।

जोखिमयुक्त डिभिजन वन कार्यालय परिसरबाट २१ वटा रुख हटाई १६७ थान, एक हजार १४१ दशमलव ०९ क्युफिट काठ र दुई चट्टा दाउरा प्राप्त भएको छ । रामपुर–चानौली सडकखण्डबाट २६ वटा रुख हटाउँदा १८० थान, ८१९ दशमलव ४९ क्युफिट काठ र एक दशमलव २५ चट्टा दाउरा व्यवस्थापन गरिएको छ ।

मर्स्याङ्दी–करिडोर २२० केभी प्रसारण लाइन क्षेत्रबाट १६ वटा रुख हटाई २३३ थान, एक हजार ४९१ दशमलव ४० क्युफिट काठ र एक दशमलव ७५ चट्टा दाउरा सङ्कलन गरिएको छ ।

अन्य क्षेत्रमा जोखिमयुक्त क्याम्पाबाट चार, ट्राफिक प्रहरी कार्यालयबाट दुई, सुगम टोलबाट तीन, लामाटोल–कमिनीघाट–पदमपुर क्षेत्रबाट आठ, नेपाल प्रहरी शिक्षालयबाट दुई, राजमार्ग ट्राफिक सुरक्षाका लागि एक र खगेरी नहर क्षेत्रबाट चार वटा रुख हटाइएको कार्यालयले जनाएको छ ।

जनधनको क्षति न्यूनीकरण तथा सडक र विद्युत् पूर्वाधारको सुरक्षालाई ध्यानमा राखेर जोखिमयुक्त रुख व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको वन अधिकृत हुमागाईंले बताए । हटाइएका रुखबाट प्राप्त काठ तथा दाउरा लिलामीका लागि सूचना प्रकाशित भइसकेको र बोलपत्र आह्वान प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए ।

जिल्लाका अन्य स्थानमा जोखिमयुक्त रुख रहेको र विभिन्न स्थानबाट त्यस्ता रुख व्यवस्थापनका लागि माग आउने गरेको उनको भनाइ छ । प्राप्त मागका आधारमा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन तथा अध्ययन भइरहेको उनको भनाइ छ ।

अध्ययन तथा आवश्यक प्रक्रिया पूरा गरी आगामी असोजदेखि जोखिमयुक्त रुख कटान तथा व्यवस्थापनको काम अघि बढाइने उनले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।